Comments Add Comment

६ अर्बमा बनेको चक्रपथ : बनाउँदै, भत्काउँदै !

विस्तारित चक्रपथमा पनि पुग्यो बन्नसाथै भत्काउने रोग

१४ असार, काठमाडौं । बल्खुबाट कलंकीतर्फ जाँदा आजभोलि सवारीले सर्भिस लेनमा गुड्न पाउँदैनन् । चक्रपथको सर्भिस लेन खनेर अहिले मेलम्चीको पाइप बिछ्याइँदैछ । सडकको कालोपत्रे अहिले धमाधम मेसिन लगाएर काटिँदैछ । गाडी त के, पैदलयात्रीलाई नै हिँड्न मुस्किल छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले चक्रपथको सीता पेट्रोलपम्पदेखि कलंकीसम्म गत वर्षमात्रै गरिएको कालोपत्रे भत्काएर पाइप बिछ्याउने काम भइरहेको छ । कामका लागि सहमति दिइएको सडक विभागअन्तरगतको चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमाल बताउँछन् ।

अहिले धमाधम खनिएको सडक त्यही हो, जुन गत वर्षमात्रै निर्माण सकेर कालोपत्रे गरिएको थियो । चीनले बीचमा ८ लेनको मात्रै विस्तार गरेपछि सरकारले सर्भिस लेनमा निर्माणको काम आफैं गरेको थियो । जसका कारण चीनले बनाइसक्दा पनि यो लेनको काम सकिएको थिएन । करिब ६ अर्ब रुपैयाँ खर्चिएर चक्रपथको विस्तार भएको थियो ।

त्यतिबेला केयूकेएलले यो खण्डमा खानेपानीको नयाँ पाइप बिछ्याएको थिएन । केयूकेएलले त्यतिबेला त्यसतर्फ पाइप बिछ्याउने योजना नभएको बताएको थियो । सडक विभागले पनि सम्पूर्ण रुपमा साइट क्लियर गरेरै काम गरेको थियो ।

तर, कालोपत्रे सकेको एक वर्ष पनि नबित्दै विभागमा पत्र आयो, ‘विस्तारित चक्रपथको अढाई किलोमिटर खण्ड भत्काउन अनुमति पाउँ ।’ विभागले फेरि सडकमा पिच गर्दिनुपर्ने शर्त राख्यो । र, भर्खरै बनेको सडक भत्काउन अनुमति दियो ।

अहिलेसम्म यो खण्डमा पाइप बिछ्याउने काम सकिएको छैन । भत्काइएको खण्ड कहिले पिच हुन्छ भन्ने पत्तो पनि छैन । काम सुस्त गतिमा भएकाले यो लेनमा सवारी गुड्न पाएका पनि छैनन् ।

काम यसै पनि सुस्त छँदैछ, त्यसमाथि वर्षामा सर्भिस लेनको कालोपत्रे उप्काएर त्यसै छाडिँदा चक्रपथका वीचका लेनहरुसम्म हिलो र धुलोको राज छ ।

स्थानीयहरु चीनले विस्तार गरिदिएको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड अहिलेसम्म काठमाडौंको गहनाजस्तै मान्छन् । जताततै सडक खन्न सुरु भएपछि उनीहरु छिमेकी देशले ठूलो लगानी गरेर तोकिएभन्दा ३ वर्ष ढिला गरी बनाइदिएको सडक फेरि पुरानै अवस्थामा फर्किने चिन्ता व्यक्त गर्न थालेका छन् ।

निर्माणका क्रममा भएको त्रुटिलाई सच्याएर सडकको संरक्षण गर्न माग भइरहेका बेला फेरि पिच नै काटेर दोहन गर्न सरकारी निकाय नै लाग्नु दुःखद् भएको बताउँछन् स्थानीय सुमन अधिकारी ।

‘मान्छेहरु विभागले पिच गरि नसक्दै खानेपानीले सडक खन्नुलाई समन्वयको अभावको भन्छ्न्,’ उनी ब्यंग्य गर्दै भन्छन्,‘यस्तो काम समन्वय नभएर हैन, आपसी समन्वयमै यस्तो हुन्छ ।’

एउटाले कमिसन लिन ठेक्का लगाएर सडक पिच गर्ने र फेरि त्यही सडक भत्काउन अर्कोले ठेक्का लगाउने गरेको उनको आरोप छ । एकैपटक हुने कामलाई पटक–पटक ठेक्का लगाउने प्रचलन बढ्दै जानुलाई अधिकारी सरकारी निरिहता र मौलाउँदो कुशासनको उदाहरणको संज्ञा दिन्छन् ।

स्थानीय रामसुन्दर श्रेष्ठ पनि सरकारी निकाय अधिकारीको साँठगाँठमा यस्तो काम हुने गरेको आरोप लगाउँछन् । मिलिभगतमा हुने यस किसिमको सरकारी ढुकुटीको दोहोनलाई कुनै व्यवस्थाले पनि नबदल्ने देखिएको उनको भनाइ छ ।

वर्षा लाग्नासाथ अन्य सडकहरुमा खाल्डाखुल्डी देखिन थालेपनि विस्तारित चक्रपथ खण्डमा अहिलेसम्म ठूला खाल्डा देखिएका छैनन् । तर, अब यो सडकको अवस्था बिगार्न सरकार आफैं लागेको आरोप स्थानीयहरुको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा केयूकेएलको यसखालको प्रवृत्तिले आफुहरु आजित भएको तर्क गर्छन् । ‘उहाँहरुको काम हो, हामीले रोक्न मिल्दैन,’ उनी भन्छन्,‘तर, अब हद भइसक्यो, हामीले सुधारेका सडकहरु उहाँहरुको कै कारण फेरि पुरानै अवस्थामा फर्किने भयो ।’

केयूकेएलका अधिकारीहरू भने यसलाई विकासको प्रक्रियाका रुपमा बुझ्नुपर्ने तर्क गर्छन् ।

सडकको ठेक्का लागेका ठाउँमा काम गर्न आफूहरुले बजेट नपाएको भन्दै केयूकेएलका एक अधिकारी भन्छन्,‘जबसम्म सडक, ढल, विजुलीको पोल, टेलिकमका तार र खानेपनीको काम एउटै प्याकेजमा हुने व्यवस्था गरिन्न, हामीले सडक खनिरहनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment