Comments Add Comment

बिहे गर्दा गोरी केटी खोज्छौं, अनि कसरी बद्लिन्छ समाज ?

प्रतीकात्मक तस्वीर

असार, बिहेको सिजन हो । धमाधम जोडीहरू बन्दैछन् । बिहेअघि केटी हेर्न जाँदा होस् वा फेसबुकमा मन मिल्ने साथी खोज्दा होस् सबै केटालाई गोरी केटी चाहिन्छ। शिक्षादीक्षा, घरव्यवहार, रूप, चालचलन, बोलीवचन यी सबै कुराहरू बिस्तारै हेरिने कुराहरूमा पर्छन् । सर्वप्रथम त नजरमा राम्री हुनुको परिभाषा गोरी हुनु र नहुनुले निर्धारण गर्ने गरेको पाइन्छ नेपाली समाजमा ।

केही साताअघि जर्ज फ्लोइडको हत्यालाई लिएर काला र गोरा जातिबीचको विभेदपूर्ण न्याय प्रणालीलाई लिएर अमेरिकामा लाखौं मानिस सडकमा उत्रिए । त्यसको केही प्रभाव भनौं, सामाजिक सञ्जालमा पनि परिवर्तनको संवाहक बनेर नेपालीहरूले छालाको रङकै आधारमा हुने भेदभावविरुद्ध आवाज उठाए । अभियन्ताहरू जुर्मुराए । जिम्मेवार ठानिएकाहरू पनि उत्प्रेरित भएर सम्मान र सद्भावना बढाउन तर्फ लागे ।

केही समय अगाडि आयुष्मान खुराना, भूमि पेडणेकर र यामी गौतम अभिनित चलचित्र ‘बाला’ ले नेपालमा पनि राम्रै चर्चा बटुल्यो । अमर कौशिकद्वारा निर्देशित यस चलचित्रमा जवानीमा नै कपाल झरेर आउने सामाजिक उल्झन र काली हुँदैमा समाजले हेर्ने नजरमा कसरी फरक हुन्छ ? भन्ने कुरा चित्रण छ ।

यसको मुख्य सन्देश अनुहारको वर्ण र टाउकोमा कपालको संख्याले भन्दा पनि सोचाइ र व्यवहारले मानिसको क्षमता निर्धारण गर्नुपर्छ भन्नेमा छ । यसरी हेर्दा जर्ज फ्लोइडको हत्या,’बाला’मा भूमि पेण्डेकरको भूमिका र हाम्रो समाजमा बिहे गर्दा हुने गोरी केटीको खोजीलाई चर्चाको विषय बनाउनु पर्ने खाँचो छ। जबजब हामी आफ्नो प्रतिभासँग गौरव र यिनबाटै सिर्जित उच्चतासँग भित्रभित्रै गाँसिदैनौं तबतब यस्तै सतही कुराहरूमा अल्झिरहन्छौं ।

सबैजना युवा पङ्क्तिहरू विद्यार्थी काल भोगेर नै आएका हुन्छन् । क्याम्पस जीवनमा हुने प्रेम र आकर्षणका खेलहरू पार गरेरै आएका हुन्छन् । केटाहरूको गोप्य सर्कलहरूमा सधैं गोरी केटी कै चर्चा चल्नु कुनै नौलो कुरा होइन । सेतो अनुहारको रंगमा मोहित भएर भन्ने पनि गर्छौं ‘ओहो कति राम्री, जुन जस्तै बलेकी’ । यो चर्चा धेरै केटाहरूको मन मुटुमा भित्रिने केटीका लागि रेड कार्पेट बिछ्याए जस्तै गरेर आउँछ ।

एक हातले जर्ज फ्लोइड न्यायका प्लेकार्ड बोक्ने र अर्को हातले गोरी केटीसँग मात्र बिहे रेखा कोर्ने ? तपाईंको आत्मघाती चालचलन रहुन्जेल अनुहारको वर्णका आधारमा समानता खोज्नु दिवास्वप्न मात्र हुनेछ ।

जताततै हुने औपचारिक एवं अनौपचारिक कार्यक्रममा गोरो छाला हुनुलाई नै आधारशिला मानेर उनीहरूलाई नै मौका दिइन्छ। उद्घोषण, नृत्य गायन जताततै सौन्दर्यको परिभाषा भनेकै गोरो छाला हुनु हो भनिन्छ।  त्यहाँ पत्र-पत्र केलाइँदैन बाहिरी आवरण हेरिन्छ । अनि सहर्ष स्वीकृत गरिन्छ । दर्शक दीर्घाबाट पनि तालीको स्वागत निस्कन्छ । यसरी नै समाजले घनिभूतरुपमा कालो वर्णका महिलाहरूलाई तिरस्कार र गोरो वर्णकी महिलालाई पुरस्कार दिने बानी बसाल्छ ।

मिस नेपाल प्रतियोगिता यस्तै एउटा भेदभाव युक्त नमुना हो । जति वैचारिक र ज्ञानको चर्चा गरिए पनि मिस नेपाल प्रतियोगितामा बिक्ने र बिकाउन खोजिने भनेको गोरो छाला नै हो । कर्पोरेट हाउसहरूको विज्ञापन गरेर नारीलाई वर्णका आधारमा विभाजित गर्न मिस नेपाल पनि सफल छ । बोक्रे नियमहरू छन् होला जस्ले मूल्यवान् जीवन र जगतका प्रश्नहरू सोध्छन् । तर अन्तत: सौन्दर्य भनेकै गोरो अनुहार र त्यसमै सम्पूर्णता देख्ने समाज भइदिएपछि विवेकका कुराहरू ओझेल परिदिन्छन् । कर्मद्वारा सिर्जित फल भुलभुलैयाभित्र पस्दछन् । अनि जन्मजात आएको गोरो अनुहार चाहिँ प्रतियोगिता जित्ने वरदान भइदिन्छ ।

विज्ञापनको कुरा निकाल्नेबित्तिकै मलाई ‘फेयर एण्ड लभ्ली’ को याद आयो ।

काली केटीहरूलाई गोरो बनाउन बजारमा आउने यस्ता क्रिमहरुले पनि विभेद जन्माउनमा भूमिका खेलिरहेछन् । ‘बाला’ चलचित्रमा समेत यस्तै दोसाँधहरु देखाउने कोसिस गरिएको छ ।जसबाट बच्न अभिनेत्री भूमिले सक्दो प्रयास गर्छिन् । टिभीका हरेक च्यानलमा कुनै बहुचर्चित अभिनेत्रीको गोरो अनुहारको प्रमाण लिएर फरफराइरहने यस्ता विज्ञापनले मगजमा कस्ता प्रश्न उब्जाउछन्? र समाजको मानसिकता कस्तो बनाउँछ? भन्ने तर्फ समेत ध्यान दिनुपर्छ । र, यस्तो विज्ञापनमा खेल्नु अघि चर्चित अभिनेत्रीले पनि सोच्नुपर्ने कुरा हो ।

अझ अच्चमको कुरा त ‘फेयर एण्ड लभ्ली’लाई टक्कर दिन त बजारमा ‘फेयर एण्ड ह्याण्डसम’ समेत आइसकेको छ । यहाँ बौद्धिकतामा भन्दा देखावटी सुन्दरतामा बढो प्रतिस्पर्धा छ त्यो पनि अझ पूँजीवादी साम्राज्यको सहारा लिएर । यस्तो सौन्दर्ययुक्त माहात्म्यको बहस कहाँ गएर गर्ने ? सायद ठाँउ नपाएर केटीको अनुहार कालो हुनु मात्र होइन केटाको समेत अनुहार कालो हुनुलाई निन्दा र अपमानको पगरी गुथाउन हतारो गर्दैछन् विज्ञापनहरु ।

भौगोलिक अवस्था,तापक्रम र वंशाणुगत अवस्थाले मेलानिन नामक तत्वमा पर्ने भिन्नताका कारण कोही गोरो त कोही कालो हुन्छन् । जीवनको शिक्षाले कहिल्यै पनि गोरो वा कालो हुनुमा विभेद गर्दैन । झिलिमिली युक्त विज्ञापनका पात्र बनेर दुनियाँको नजरमा भष्मलेपन गर्नु आवश्यक पनि छैन ।

क्रिम दलेरै मोहनी लगाउन तँछाडमछाड गरेर गोरो हुनुले हाम्रो विशिष्टताको झल्को दिँदैन । स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा दिएर मात्र क्रिमको छनोट गर्नुपर्छ । गोरो पार्ने क्रिमले प्राकृतिक सुन्दरतालाई नै नोक्सान पार्न सक्छ । कालन्तरमा धब्बा र दागहरु उब्जाउने कारक तत्व नै जथाभावी प्रयोग भएका क्रिमहरु हुन सक्छन् ।

फेसबुकमा कोसैको अनुहार गोरो हुँदैमा ‘कति राम्री’ भन्ने विशेषण थुपारेर कमेन्ट गर्न लम्किने हाम्रा हातहरु नै विभेदका उपज हुन् । बाटोमा हिंडेकी गोरी केटीलाई झ्यालमा बसेर ‘कति च्वाक छे यार ‘ भन्दै हल्का टिप्पणी गर्ने बानी नै विभेदका कारखानाहरु हुन् ।

फिल्महलको माथिल्लो सिटमा बसेर गोरी हिरोइन पर्दामा आउँदा सिठ्ठी फुक्ने र काली हिरोइन पर्दामा आउँदा ‘छि: यस्तो केटीलाई पनि के हिरोइन बनाको होला’ भन्ने हाम्रो मनोवृत्ति नै अन्धविश्वास हो ।

गर्लफ्रेन्ड बनाउँदा गोरी नै बनाउनु पर्छ भन्ने भूत सबै केटामा सवार छ । खैर ! उस्ले आफ्नो अनुहार चैं ऐनामा गएर हेरेको हुँदैन । अफिसमा रिसेपसनिस्ट राख्दा,टिभीमा कार्यक्रम सञ्चालिका राख्दा, बैंकमा एकाउन्ट खोल्ने कर्मचारी राख्दा, टेलिकममा फ्रन्टलाइनर सहजकर्ता राख्दा जताततै सुन्दर र आकर्षक केटी हुनु पर्यो र त्यो भनेको अनुहार गोरो हुनु पर्यो भन्ने मान्यतामा समाज जिवित छ ।

‘फस्ट लुक’ नै यति विघ्न शक्तिशाली हुने र गोरो छाला नै बिकाउको माध्यम हुने भएपछि विभेद त्याग्न जिज्ञासा मात्र प्रयोग गर्नुले खासै अर्थ राख्दैन । गोरो अनुहारमा घामको उज्यालो भन्दा चहकिलो पना देख्ने अनि कालो अनुहारमा अन्धकार बादलको छाया मात्र देख्नेले नेैतिक रुपमा विभेद हटाउने साहस नगर्दा पनि हुन्छ ।

सौन्दर्यको मृगतृष्णा के हो ? गोरो मूर्ति संग विवेक विहिन भएर नाता गास्नुको तात्पर्य के हो ? कालो र गोरो वर्णको आधारमा उपाधि मिच्ने नाटीकुटी के हो ? गोरो छाला हुँदैमा धक्कु लगाउने अंहकार के हो ?

गोरो अनुहार समाजमा बिक्री हुनुको कारण के हो ? यी सबै सबै दोषी चस्माका उपर अविकसित सामाजिक परिवेशले जन्माएका ऐंठनहरु हुन् । यसले जति थिच्दै जान्छ त्यति आत्मबल, धैर्यता र विश्वास गुम्दै जान्छ । राम्रो देखिने दवाबहरुमा आफ्नो औलकिक क्षमतामाथि नजरअन्दाज गर्नु आफैं विलीन हुनुको उदाहरण हो ।

भद्र राजनीतिक प्रणाली र सामाजिक मनोदशामा केन्द्रित भएर होइन आफ्नो उत्तरदायित्व बहन गर्न ‘बाला’ चलचित्रकी नायिका भुमि जस्तै अग्रसर हुनु पर्छ । छालाको रङ कुनै पनि आधारमा पहिचान, अधिकार र सौन्दर्यको मानक हुदै होइन । जब सम्म यो टुनाबाट उम्किएर हामी आफ्नो नैसर्गिक अधिकार र क्षमता मा विश्वास गर्दैनौं तबसम्म पुँजीवादी कर्पोरेट हाउसले हाम्रो छालाको रङ प्रयोग गरिरहन्छ । र, समाजमा बाँच्न पनि त्यही गोरो अनुहारलाई सडकमा विछ्याएर भिक माग्न विवश बनाइरहन्छ ।

अब पनि बिहे गर्दा गोरी केटीको खोजीमा हुनुहुन्छ भने बुझ्नुहोस्, पवित्र विवाहलाई तपाईं साधनमा निर्भर गराएर भाँडाकुटी खेल्दै हुनुहुन्छ । जीवन बिताउन असल श्रीमान र श्रीमती चाहिन्छ, एउटा परिपक्व व्यवहार र साझा समझदारी चाहिन्छ ।

तपाईका आँखाहरुमा गोरो अनुहार मात्र प्रतिबिम्बका रुपमा प्रकट भइराख्नुले निश्छल प्रेमको अनुभूति गराउन सक्दैन ।

एक हातले जर्ज फ्लोइड न्यायका प्लेकार्ड बोक्ने र अर्को हातले गोरी केटीसँग मात्र बिहे रेखा कोर्ने ? तपाईंको आत्मघाती चालचलन रहुन्जेल अनुहारको वर्णका आधारमा समानता खोज्नु दिवास्वप्न मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment