
१४ असार, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । पाकिस्तानको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख दुई हजार ९५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरसका चार हजार ७२ जना नयाँ संक्रमित फेला परेका हुन् ।
पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसको कारण चार हजार ११८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा ८३ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्त कोरोना भाइरसको कारण सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् । राजधानी इस्लामावादमा पनि अहिलेसम्म १२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।
पाकिस्तानको स्वास्थ्य विभागका अनुसार अहिले पाकिस्तानमा औसतमा दैनिक २५ हजार कोरोना भाइरसको परीक्षण भइरहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ९२ हजार ६२४ संक्रमित उपचारपछि निको भइसकेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो टोलीले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि गरेको कामप्रति आफू खुसी रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् खानले सबैलाई भौतिक दुरीको नियम पालना गर्न आग्रह गरेका छन् । सबैले भौतिक दुरीको पालना गर्ने हो भने यो महामारीबाट आउन सक्ने सबैभन्दा खराब अवस्थाबाट बच्न सक्ने उनको भनाइ छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4