Comments Add Comment

पर्सामा धान दिवस : स्वचालित मेसिनले धान रोपेर मनाइयो

१५ असार, वीरगञ्ज । पर्सामा ८ लेनको स्वचालित मेसिनबाट धान रोपेर १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । हातले छुपुछुपु धान रोप्ने परम्परा भएपनि प्रविधिको विकाससँगै स्वचालित मेसिनले धान रोप्न सकिने भएको हो । कृषि औजार अनुसन्धान केन्द्र परिसरमा रोपाइँका लागि तयार पारिएको खेतमा मेसिनले धान रोपिएको थियो । केन्द्रले उक्त मेसिन तीन वर्षदेखि परीक्षण मूल्यांकन गर्दै आएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्रले बेर्नादेखि बेर्नाको दुरी १४ देखि १६ सेन्टिमिटरसम्म हुने भएकोले मेसिनले कम गाँज दिने धान लगाउन समेत उपयोगी हुने बताए । ‘मेसिनले विभिन्न जातका धान लगाएर हेरेका छौं । मेसिन एकदमै राम्रो छ । एकैपटकमा आठ लेन धान लगाउँछ, एक नासले बेर्ना खसाल्छ,’ उनले भने, ‘ एक घण्टामा १० कठ्ठा रोप्छ, एक लिटर मात्रै डिजल खपत हुन्छ । ६ देखि ६.५ टन प्रति हेक्टर उत्पादन दिइरहेको छ । किसानमा लैजाने तयारी भइरहेको छ ।’

पछिल्लो समयमा कृषि क्षेत्रमा मजदुरको समस्या बढी देखिएको छ । मेसिनले त्यो समस्या समाधानमा सहयोग पुर्‍याउने दाबी अनुसन्धानमा संलग्न कृषि वैज्ञानिकको छ ।

मेसिनबाट धान रोप्दा ८० मानिस दिन प्रति हेक्टर बचत हुन्छ । पारम्परिक कृषक तरिका भन्दा लागतमा ५० प्रतिशत, समयमा ७० प्रतिशत बचत हुने दाबी उनले गरे ।

औजार अनुसन्धान केन्द्र १ दशमलब ७ हेक्टरमा फैलिएको छ जसमा १ हेक्टर जति जमिनमा कृषि सम्बन्धि विभिन्न अनुसन्धान गर्ने गरिएको छ । केन्द्रले मेसिन किनेर र आफैंले बनाएर पनि अनुसन्धान गर्दै आएको छ । केन्द्रमा अनुसन्धान तथा परीक्षण गरिसकेपछि किसान माझ लगेर हेराउने र किसानले ठिक छ भनेपछि मात्रै सिफारिस गर्ने गरिएको छ ।

कृषि इन्जिनियर मनोज जोशीले केन्द्रले सिफारिस गरेको ४ लेनको धान रोप्ने स्वचलित मेसिन किसानले प्रयोगमा ल्याइसकेको बताए । धान दिवसकै अवसरमा गत वर्ष केन्द्रले ड्रम सिडरले धान रापेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment