Comments Add Comment

… तर भोक त लाग्छ नि !

बिना मिश्र

१५ असार, पोखरा । लकडाउनअघिसम्म बिना मिश्र पोखरा लेकसाइडको एउटा होटलमा काम गर्थिन् । व्यस्त पर्यटकीय क्षेत्रको होटलमा काम गर्ने भएकाले उनको कमाइ पनि राम्रै हुन्थ्यो । एउटी छोरी र आफूलाई पोखरामा बाँच्न सजिलै भइरहेको थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिन सुरु भएसँगै नेपाल सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउन भएको भोलिपल्टैदेखि बिनालाई खाइपाइ आएको कामबाट बिदा दिइयो ।

‘सुरुमा त लकडाउन खुल्ला र काम पाउँला भन्ने लाग्या’थ्यो । दुई महिनासम्म लकडाउन पनि खुलेन आफूसँग भएको अलिअलि पैसा पनि सकियो,’ मिश्रले अनलाइनखबरसँग गुनासो पोखिन्, ‘तर भोक त लाग्छ नि ! काम गरेर खाने मान्छे कति दिन पो धानिएला र ?’

यही लकडाउनको समयमा कतिका घरधनीले भाडामा बस्नेलाई घरबाट निकालिदिएको, भाडा मागेर तनाव थोपरेकोजस्ता धेरै समाचार बाहिर आए । तर उनका घरबेटी भने मनकारी निस्किए । सरकारले लकडाउन केही खुकुलो गर्दै विकास निर्माणको काम सुरु गर्न अनुमति दिएको थियो । घरबेटीले एउटा ठेकेदारसँग कुरा गरेर काम मिलाइदिए ।

‘घरबेटीको छोराले आफैं कुरा गरेर काममा लगाइदिएका हुन् । यहाँ काम गर्न थालेको महिना दिन पुग्यो,’ हातमा समाएको गैंचीले जमिन खन्दै उनी बोलिन्, ‘काम पाएपछि केही सजिलो भएको छ ।’ यसअघि उनले त्यसरी घर निर्माण काम गरेकी थिइनन् । तर आफूजस्तै अन्य दिदीबहिनी पनि त्यसरी काम गरेको देखेपछि भने उनलाई पनि सजिलो भयो ।

मिश्र ४ वर्षअघि श्रीमान्सँग लमजुङबाट पोखरा आएकी हुन् । सुरुमा खुब माया गर्ने श्रीमान् छोरी जन्मिएसँगै तर्किन थाले । हुँदाहुँदा एक वर्षअघिदेखि त उनी सम्पर्कविहीन नै भए । ‘एक वर्षअघि इन्डिया जान्छु भनेर जानु भा’थ्यो । त्यसपछि हामीसँग सम्पर्क भएकै छैन । अहिले सबै घर आउँदा पनि आउनु भएन । उतै हुनुहुन्छ रे !’ उनले गुनासो राखिन् ।

मिश्रले अहिले पोखरा ८ मा निर्माणाधीन किरियापुत्री भवन बनाइरहेकी छिन् । बहुत दुःखले बन्ने उक्त करियापुत्री भवनसँगै दुईवटा मन्दिर पनि बन्नेछ । पोखरा महानगर र गण्डकी प्रदेश सरकारको दुई करोड १८ लाख रुपैयाँमा बनिरहेको उक्त भवनमा मिश्रले पसिना बगाइरहेकी छिन् । ‘एउटा भवन, एउटा शिव मन्दिर र अर्को सरस्वतीको मन्दिर बन्ने हो रे ह्याँ,’ उत्साहित हुँदै उनले भनिन् ।

पोखरा नयाँबजारमा मकै पोलेर बेच्दै आएकी कुमारी श्रेष्ठको कथा पनि त्यस्तै छ । लकडाउनअघिसम्म नयाँबजार चौतारामा मकै बेचेरै गुजारा गर्दै आएकी थिइन् । तर लकडाउनले उनको रोजीरोटीमात्रै खोसेन परिवार धान्नै मुस्किल पर्‍यो ।

कुमारी श्रेष्ठ ।

‘मकै बेचेर कति नै पो हुन्छ र ? दिउँसो साँझ बेच्यो । त्यसबाट आएको पैसाले साँझबिहानको छाक टार्ने हो,’ श्रेष्ठले भनिन्, ‘लकडाउन भएपछि एक हप्ता पनि बाँच्न गाह्रो भो ।’ घरनिर्माणमा ज्यामी काम गर्ने श्रीमान् पनि लकडाउन भएपछि घरमै थन्किएका थिए । जसका कारण छोरा र छोरीसहित ४ जनाको परिवारलाई गुजारा गर्नै हम्मेहम्मे पर्‍यो ।

उनले अघि थपिन्, ‘छोरी ६ मा छोरा ११ मा पढ्छ । उनीहरूलाई पढाउने यही मकै बेचेर हो,’ उनले भनिन्, ‘आफूले पनि खाने छोराछोरीलाई पनि पढाउने भएपछि बचत भन्ने कत्ति नहुने रै’छ । लकडाउने झन्डै ज्यान लियो नि !’

लकडाउनका कारण मकै बेच्न नपाएपछि उनी लकडाउन भएको अर्को हप्तादेखि तरकारी बेच्न बजार निस्किइन् । तर त्यहाँ पनि दुःख पाउन छोडिनन् । ‘घरमा खानै सक्केसी के गर्ने त अनि ? कोरोनाको डरले घरमै बस्न सकिएन,’ श्रेष्ठले भनिन्, ‘तरकारी बेच्न निस्किँदा पनि बाटोमा पुलिसहरुले भेटेर झन्डै पिट्थे । भागेर हिँड्नुपथ्र्यो ।’

‘अत्यावश्यक वस्तु’मा राख्दै सरकारले तरकारी बिक्रीवितरणमा खुला त गर्‍यो । तर स्थानीय प्रशासनले दुःख दिन भने छाडेन । उनी भन्छिन्, ‘तरकारी बेच्न हिँड्दा पनि जहाँ देख्यो । त्यही दुःख दिएका थिए । कस्तो गाह्रो भयो ।’ श्रीमान् पनि एक महिनाअघि काम गर्न भन्दै स्याङजा गएपछि सम्पर्कमा नआएको उनले बताइन् ।

अहिले सरकारले लकडाउन खुकुलो पारेपछि फेरि मकै बेच्न थालेकी छिन् । तर नगरप्रहरीले दिने दुःख भने कम्ती छैन । ‘तेरो लागि बनाइदेको चौतारो हो यो भनेर थर्काउँछन्,’ उनले गुनासो राखिन्, ‘हामीजस्ता मान्छेको आफ्नो भन्ने ठाउँ कतै नहुने रहेछ । जता गए पनि दुःख पाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment