Comments Add Comment

प्रचण्ड आउँछन् भने सल्लाह गर्न सकिन्छ : गोपाल किराँती

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ’ भनेको कुरा सार्वजनिक भएको छ ।

१५ भदौ २०७६ मा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष छन्– गोपाल किराँती । प्रचण्ड नेतृत्वको माओवादीका प्रभावशाली नेता तथा पूर्वमन्त्री किराँती प्रधानमन्त्री ओलीले भने जस्तो च्याखे दाउ थाप्नका लागि आफूहरूले पार्टी ‘पुनर्गठन’ नगरेको बताउँछन् । तर प्रचण्ड फर्केर आए सरसल्लाह गर्न सकिने किराँतीले बताए ।

प्रचण्डहरूले माओवाद परित्याग गरेपछि आफूहरूले राजनीतिक-वैचारिक आधारमा माओवादी केन्द्र पुनर्गठन गरेको बताउने किराँतीलाई हामीले प्रम ओलीको भनाइबारे जिज्ञासा राखेका थियौं । बाँकी जवाफ उनकै शब्दमाः

खड्गप्रसाद ओलीले बालुवाटारमा हिजो बोलेजस्तो च्याखे दाउ थाप्नका लागि हामीले माओवादी केन्द्र स्थापना गरेको होइन । बरु ओलीकै योजनामा निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भएको बामदेव गौतमले बताएका छन् ।

त्यस्तो षडयन्त्रकारी कार्यशैलीसँग हाम्रो पार्टी पुनर्गठन र दर्ताको कुनै सम्बन्ध छैन ।

हामीले पार्टीको आठौं महाधिवेशन गरेर २०७६ वैशाखमा निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन गर्दा मान्यता पाउन चारमहिना लाग्यो । २०७६ भदौमा मात्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्‍यौं ।

यसरी विलम्ब हुनुको पछाडिको कारण प्रचण्ड पक्षले आयोग पदाधिकारी र कर्मचारीलाई नेकपा (माओवादी केन्द्र) दर्ता नगर्न र गोलाकारभित्रको हँसिया हथौडा चिह्न नदिन ज्यादै दबाब गरेको बुझियो ।

आयोग पदाधिकारी र कर्मचारीहरूबाट संविधान र ऐनकानुन सम्मत् निर्णय हुँदा हामीले दल दर्ता र हसिँया हथौडा निर्वाचन चिह्न प्राप्त गर्‍‍यौं ।

आयोगले चार महिना लगाए पनि कानुन सम्मत् ढंगले निर्णय दिएको हुँदा हाम्रो पार्टी पङ्क्ति निर्वाचन आयोगप्रति आभारी रह्यौ । अन्यथा संविधान र कानुनले दिएको राजनीतिक अधिकार कुण्ठित गरिएको भए सम्भवत: हामी अहिले शान्तिपूर्ण राजनीतिमा हुने थिएनौं । यसबीचमा दल दर्ताको अख्तियारी लिएर आयोग कार्यालयमा जसरी तारिख धाउने कष्ट उठाउनुपर्‍यो । हाम्रो पार्टीका उपाध्यक्ष तिलक थापा मगर सबैभन्दा बढी निर्वाचन आयोग धाउनुभयो ।

पार्टी विभाजनको २२ महिनापछि २०७६ असारमा खासगरी विप्लव नेकपाका नेता कुमार पौडेल सर्लाही जसरी विभत्स ढंगले मारिएपछि त्यो के गरेको हो ? भन्न प्रचण्ड र बाबुराम भट्टराईलाई बेग्ला–बेग्लै भेटेका थियौं । त्यसमा उहाँहरूलाई माओवादी आन्दोलनमा फर्काउने आग्रह गरेका थियौं ।

एउटा मिडियामा ‘प्रचण्डहरू माओवादीमा फर्क’ भन्ने शीर्षकको लेख पठाएको थिएँ । लेख ‘वाल्मीकि बन्ने प्रचण्ड अवसर’ शीर्षकमा छापियो । त्यसमा पनि मैले रत्नाकर डाँकु वाल्मीकि भएजस्तै तपाईं पनि सच्चिनुस् भन्ने आग्रह गरेको थिएँ ।

हामीले गल्ती कमजोरी स्वीकार गरी सार्वजनिक आत्मालोचना गरेर प्रचण्डहरूलाई माओवादी आन्दोलनमा फर्क भनिरहेका छौं । किनकि यदि देश र जनताको पक्षमा अग्रगमन चाहन्छन् भने प्रचण्डहरू जहाँ छन् त्यहाँबाट अग्रगमन सम्भव छैन ।

त्यसैले माओवादी आन्दोलनमा उहाँहरू फर्केर आउनुहुन्छ भने वैचारिक राजनीतिक क्षेत्रमा गुणात्मक विकास पनि हामीले गरेकै छौं । कानुनी रुपमा नेकपा (माओवादी केन्द्र) हाम्रो अध्यक्षतामा दर्ता भएकै छ । प्रचण्ड फर्केर आउँदा राजनीतिक रुपमा सल्लाह गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस प्रस्तावित ‘नेकपा एमाले’ का महासचिव भन्छन् : ओली आउँछन् भने स्वागत छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment