
१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता ।
यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो ।
नेकपाको स्थायी कमिटी बैठकमा केही नेताहरूले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनका लागि यो चालबाजी रचेको आरोप लगाए । उपाध्यक्ष बामदेव गौतमले दल दर्तामा प्रधानमन्त्री संलग्न भएको आफूसँग प्रमाण नै रहेको दाबी गरे । अर्कोतर्फ ओली गुटका नेता–कार्यकर्ता चाहिँ ओलीलाई आरोपित गर्न प्रचण्ड समूहले नै यो जाल बुनेको हल्ला गरिरहेका छन् ।
नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट गत १२ असारमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ । निर्वाचन आयोगमा दर्ता गरिएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ, जसअनुसार अध्यक्ष र उपाध्यक्षमा महिला छन् । अध्यक्षमा प्रस्तावि सन्ध्या तिवारी विराटनगरकी हुन् भने उपाध्यक्षमा प्रस्तावित भगवती खड्का रामेछापकी । यसैगरी महासचिव मनिष जनकपुरका हुन् । केन्द्रीय समितिमा ५ जना काठमाडौंका छन् ।
प्रस्तावित २१ सदस्यीय केन्द्रीय समितिमा १० जना महिला छन् । उनीहरूमध्ये एक केन्द्रीय सदस्य ७५ वर्षका छन् बाँकी सबै ५० वर्षमुनिका छन् । अधिकांश ३० देखि ४० वर्षसम्मका युवा छन् । अध्यक्ष तिवारी भने ४७ वर्षकी हुन् ।
तिवारीको पृष्ठभूमि खुलेको छैन । उनी सार्वजनिक हुन पनि चाहेकी छैनन् । उपाध्यक्ष भगवती खड्काको नाम भने परिचित नै हो, खासगरी खेलकुद क्षेत्रका व्यक्तिहरूका लागि । खड्का चर्चित महिला रेसलर हुन् । उनले केही टेलिश्रृङ्खलामा अभिनयसमेत गरेकी छन् । राजनीतिमा चाहिँ उनी सक्रिय थिइनन् ।
प्रस्तावित एमालेको नेतृत्व पङ्क्ति पहिचान गर्ने क्रममा हामीले महासचिवका रुपमा प्रस्तावित महासचिव मनिषकुमार उपाध्यायलाई भेट्टायौं । फोन संवादमा उनी राम्रोसँग खुल्न नचाहे पनि केही कुरा सेयर गरे ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कुनै पनि नेताहरूसँग आफूहरूको सम्बन्ध नभएको र कसैबाट परिचालित पनि नभएको मनिषले दाबी गरे । आफूहरू सबैजना मदन भण्डारीको अनुयायी भएको कारणले नेकपा एमालेको नाममा दल बनाउन चाहेको उनको भनाइ छ ।
‘हामी सबै फरक-फरक पेसा व्यवसायमा आबद्ध युवा हौं । कोही कपडा व्यवसायी, कोही मसला व्यवसायी, कोही खेलाडी, कोही समाजसेवी छौं । केही महिनादेखि विभिन्न ढंगले संगठित भएर राजनीतिमा आउने गृहकार्य गरिरहेका थियौं । ३–४ महिनाको तयारीपछि मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पार्टी दर्ताको लागि निवेदन दिएका हौं,’ उनले सुनाए ।
उनले आफूहरूलाई ‘पूर्वएमाले’ पनि भन्न नमिल्ने बताए । ‘मदन भण्डारीको विचारबाट प्रभावित मात्र हौं । म पहिले एमालेको सामान्य शुभचिन्तक थिएँ, तर पार्टीको सदस्यता लिएको होइन । अहिले नेकपामा पनि हामी छैनौं,’ उपाध्यायले भने ।
आफूहरू देशका लागि केही गरौं भन्ने भावनाबाट राजनीतिमा आउन चाहेको उनको भनाइ छ । ‘हामी सबैको एउटै हुटहुटी यही थियो कि देश सही दिशामा जान सकेन । अब हामीले नै केही गर्नुपर्छ । त्यसका लागि राजनीतिमा आउनुको विकल्प देखेनौं । राजनीतिमा आउनका लागि मदन भण्डारीको विचारलाई हामीले पथप्रदर्शकका रुपमा अपनाउने निर्णय गर्यौं । एमाले नाम चाहिँ ब्राण्डिङ गर्न सजिलो हुन्छ भनेर छनोट गरेका हौं । हाम्रो अरू कुनै अन्तरनिहित स्वार्थ छैन ।’
अहिले नेकपामा उत्पन्न भएको विवादसँग आफूहरूको कुनै सरोकार र साइनो नरहेको उनले दाबी गरे ।
‘नेकपामा विवाद उत्पन्न हुनु र हामीले पार्टी दर्ता गराउनु सँगसँगै जस्तो भयो । स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको जस्तो मात्रै हो,’ उनले भने ।
उपाध्यायसँगको थप संवाद :
‘प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर तपाईंहरूलाई भेटेको हल्ला पनि सुनिन्छ नि ?’
त्यो वाहियात हल्ला हो । हामी अहिलेसम्म बालुवाटारमा टेकेका पनि छैनौं ।
भोलि नेकपा फुट्ने अवस्था आयो र ओलीले नेकपा एमाले ब्युँताउन चाहनुभयो भने तपाईंहरू के गर्नुहुन्छ ?
त्यो उहाँहरुको कुरा हो । हामीले के गर्न सक्छौं र ?
मेरो मतलब उहाँले नेकपा एमाले नाम तपाईंहरूसँग माग्नुभयो भने दिन तयार हुनुहुन्छ कि हुनुहुन्न ?
हामीले दर्ता गरेको नाम अरूलाई किन दिने ? दिने प्रश्नै उठ्दैन । बरु उहाँहरू यदि हाम्रो पार्टीमा प्रवेश गर्न चाहनुभयो भने स्वागत गर्न सकिन्छ ।
ओलीले नै तपाईंहरूको पार्टीमा प्रवेश गर्ने आशा पनि गर्नुभएको छ ?
त्यस्तो हुन सक्छ । ओली मात्र किन माधव नेपाल, वामदेव गौतमलगायत सबै नेताहरूलाई हाम्रो विचार मन परेर आउनुभयो भने स्वागत नै गर्नेछौं ।
तपाईंहरूको संगठन चाहिँ कत्रो छ अहिले ?
२१ जनाको केन्द्रीय समिति प्रस्ताव गरेका छौं । सदस्य चाहिँ ५ सय ७२ जना हुनुहुन्छ । यसलाई बढाउँदै लैजाने छौं ।
अर्को चुनाव लड्नुहुन्छ होला, के लक्ष्य लिनुभएको छ ?
पार्टी खोलेपछि चुनाव त लड्ने नै हो । परिणामको विषयमा अहिले नै सोचेका छैनौं । हामी असल राजनीतिक संस्कार विकास गर्न चाहन्छौं ।
तपाईंहरू संगठित हुनुभएको चाहिँ कसरी हो ?
सकारात्मक सोच लिएपछि आपसमा जोडिन समय लाग्दैन । हामी यही माध्यमबाट संगठित भएको भन्ने छैनौं । साथीभाइबीच सल्लाह गर्दै अगाडि बढेका हौं ।
निर्वाचन आयोगले तपाईंहरुको पार्टी दर्ता गर्ला त ?
किन नगर्नु ? प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमा नै हामीले प्रमाणपत्र पाउनेछौं । त्यसपछि मिडियामा आउछौं ।
तपाईंको अध्यक्षसँग सम्पर्क गराउन सक्नुहुन्छ ?
अध्यक्षजी अहिले काहीँ पनि बोल्न चाहिरहनुभएको छैन । नम्बर पनि कसैलाई नदिने भन्ने छ । यसमा केही कारण छन् । हामी प्रमाणपत्र पाएपछि मात्रै तपाईंहरूमाझ आउने छौं ।
अध्यक्षको पृष्ठभूमि चाहिँ के हो ?
उहाँ समाजसेवामा आबद्ध हुनुहुन्छ । अरू बताउन मिल्दैन ।
फेसबुकमा फेला पार्न सकिएला नि ?
अहँ फेसबुक सेसबुक केही छैन । अहिले हामी सबै गोप्य नै छौं ।
(फोन काटिन्छ)
प्रतिक्रिया 4