
१७ असार, वीरगञ्ज । शौचालय जाने बहानामा वन कार्यालयको हिरासत कक्षबाट काठ तस्करीको आरोपमा पक्राउ परेका एक जना थुनुवा फरार भएका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कौवावन कटैया बस्ने भरत माझी फरार भएका हुन् । सबडिभिजन वन कार्यालय बढनिहारमा रहेकाे थुनुवा कक्षबाट मंगलबार बिहान उनी फरार भएका हुन् ।
‘थुनुवा राख्ने ठाउँ गतिलो थिएन । दिसा-पिसाब गराउन थुनुवा कक्षबाट बाहिर लैजानु पर्ने अवस्था थियो,’ सहायक वन अधिकृत फरमान मियाँले भने, ‘त्यसैको मौका छोपेर उनी मंगलबार बिहान फरार भएछन् । माझी विरुद्ध पक्राउ पुर्जी जारी गरी खोजी कार्य भइरहेको छ ।’
राष्ट्रिय वनबाट अवैध रुपमा रुख कटानी गरी काँचो सालको गोलिया साइकलमा ल्याउँदै गरेको अवस्थामा उनी सोमबार पक्राउ परेका थिए ।
रेञ्ज पोष्टमा सुरक्षित राख्ने ठाउँ नभएकोले उनलाई बढनिहारस्थित सबडिभिजन कार्यालय पठाइएको सुवेदार प्रदिप तिमल्सिना बताउँछन् ।
प्रतिक्रिया 4