१७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष शशांक मनोहरले दुई वर्षको कार्यकाल सकिएपछि राजीनामा गरेका छन् । उनले दुई पटक आईसीसीको प्रमुखको हैसियतमा काम गरेपछि बुधबार राजीनामा दिएको आईसीसीले जनाएको छ ।
यस्तै आईसीसीको बुधबारकै बोर्ड बैठकले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी दिने सहमति गरेको छ ।
अध्यक्षको चुनावको प्रक्रियालाई आईसीसी बोर्डले आगामी हप्ता अनुमोदन गर्न अपेक्षा गरिएको छ ।
आईसीसीका प्रमुख कार्यकारी मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेका सबै कामका लागि धन्यवाद दिन्छु । हामी उनलाई र उनको परिवारलाई भविष्यको लागि शुभकामना दिन्छौं ।’
आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ । शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा छाडेका छन् ।’
प्रतिक्रिया 4