Comments Add Comment

‘नयाँ एमाले’ मा केपी ओली र महेश बस्नेतका फ्यान !

सांसद बस्नेत भन्छन्– दुई चारजना फ्यान जसका पनि हुन्छन्

१८ असार, काठमाडौं । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने व्यक्तिको सूचीमा सांसद महेश बस्नेतसँग निकट व्यक्तिहरु रहेको खुलेको छ । युवा संघका पूर्वनेता बस्नेतका हातबाट टीका थापेका र केपी ओलीसँगै तस्वीर खिचेका व्यक्तिको नामसमेत नयाँ एमालेको सूचीमा छ ।

आइतबार मदन भण्डारीको ६९ औं जयन्तीको साइत पारेर निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको थियो ।

यो पनि पढ्नुहोस को-को छन् नेकपा एमालेको केन्द्रीय समितिमा ? (सूचीसहित)

निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा प्रदेश २ का सचिवका रुपमा रौतहट घर भई भक्तपुर बस्ने जयराम राउतको नाम छ । उनी महेश बस्नेतका कार्यकर्ता हुन् । उनले आफ्नो फेसबुकमा ‘आई एम विथ महेश बस्नेत’ भनेर तस्वीर राखेका छन् । साथै उनले महेश र केपी ओलीसँग तस्वीर पनि खिचाएको देखिन्छ ।

त्यसैगरी खोटाङ घर भएकी अस्मिता सुनारलाई नयाँ एमालेको प्रदेश १ सचिवका रुपमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । अस्मिता पनि महेश बस्नेतले टीका लगाइदिएकी कार्यकर्ता हुन्  ।

आयोगमा दिइएको आवेदनमा नेकपा एमालेको उपाध्यक्ष रहेकी भगवती खड्का पनि केपी ओलीको फ्यान रहेको मदन भण्डारीको जयन्तीका दिन फेसबुकमा लेखिएको स्टाटसले स्पष्ट पार्छ ।
नयाँ एमालेकी उपाध्यक्ष भगवतीले लेखेकी छिन्, नयाँ पार्टी दर्ताकै दिन लेखेकी छिन्,‘ कुर्सीको लागि हैन, देशको लागि ओली चाहिन्छ । सत्ताको लागि हैन, देश बचाउन ओली चाहिन्छ । पदको लागि हैन, विकासको लागि ओली चाहिन्छ । भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो बा केपी ओली जिन्दाबाद !’

पूर्वमन्त्री एवं सांसद महेश बस्नेत केपी ओली निकट नेता हुन् । तर, उनका गतिविधिले प्रधानमन्त्री ओलीलाई बेलाबखत विवादमा पार्ने गरेको छ । अघिल्लो महिना पूर्वआइजीपी सर्वेन्द्र खनालको समेत मिलेमतोमा सांसद बस्नेतले मधेसबाट समाजवादीका सांसद सुरेन्द्र यादवलाई गाडीमा हालेर काठमाडौं ल्याएका कारण प्रधानमन्त्री ओलीले गम्भीर आलोचनाको सामना गर्नु परेको थियो ।

अहिले पनि सांसद बस्नेतसँग निकट रहेका कार्यकर्ताहरुले नै नेकपा एमाले दर्ता गरेर पार्टीभित्रको विवादमा आगोमा घ्यु थप्ने काम गरेका छन् । केपी ओलीलाई बा भन्ने र सँगै तस्वीर खिचाउनेहरुले नै नेकपा दर्ताका लागि निवेदन दिनुले आशंका जन्माएको नेकपा नेताहरु बताउँछन् ।

सांसद बस्नेत भन्छन्– दुई चारजना फ्यान जसका पनि हुन्छन्

नयाँ एमाले दर्ताको सूचीमा आफूले चिनेका दुई-चारजना रहेको सांसद बस्नेतले अनलाइनखबरलाई बताए । तर, आफूसित सल्लाह नभई एमाले दर्ता भएको उनले बताए ।

सांसद बस्नेतले भने, ‘मैले धेरै वर्ष युवा संघको नेतृत्व गरें, दुई-चार जना फ्यान त जसका पनि भइहाल्छन् नि, संँगै तस्वीरहरु खिचिएका हुन्छन् । एमाले दर्ता गर्ने टोलीमा पनि मैले चिनेका दुई तीनजना भाइबहिनीहरु रहेछन्।’

आफूसँगका तस्वीरहरु सामाजिक सञ्जालमा देखेपछि आफूले फोन गरेर उनीहरुलाई किन एमाले दर्ता गरेको भनेर सोधेको सांसद बस्नेतले अनलाइनखबरलाई बताए ।

उनीहरुले एमालेको विचारसँग प्रतिवद्ध भएकाले पार्टीको डोमिन रक्षाका लागि निर्वाचन आयोग गएको आफूलाई जानकारी दिएको बस्नेतले सुनाए । बस्नेतले भनें ‘तर, मसँग सल्लाह भएर होइन, मैले पछि थाहा पाएर सोधेको हुँ ।’

पार्टी विभाजन हुने स्थितिमा एमालेलाई ब्युँताउने राजनीतिक उद्देश्यबाट प्रधानमन्त्री ओलीले नै एमाले दर्ता गर्न लगाएको स्थायी कमिटी बैठकमा वामदेव गौतमले आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले भने वामदेवको आरोपको खण्डन गरेका छन् ।

केपी ओली निकट सांसद बस्नेतले अहिले पार्टीभित्र केही विवाद देखा परे पनि पार्टी विभाजनकै तहमा पुग्ने वा केपी ओलीलाई हटाइहाल्ने परिस्थिति नआउने दाबीसमेत गरे । उनले यसवीचमा आफूले उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेको बताए ।

केपी ओलीका ‘फ्यान’ सडकमा

यसैवीच केपी ओलीको समर्थनमा काठमाडौंको माइतीघरमा युवासंघका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।


पहिलेदेखि नै पार्टीको रक्षाका लागि संघर्ष गर्दै आएका युवाहरुलाई यसमा रोक्न नसकिने सांसद बस्नेत बताउँछन् । उनी भन्छन्, विगतमा उनीहरु संगठनको रक्षाका लागि लड्दै आएका हुन्, युवाहरुमा यस्तो आक्रोश हुनु स्वाभाविकै हो ।केपी ओलीको समर्थन गर्ने युवासँघका कार्यकर्तालेहरुले ‘आईएम विथ केपी ओली’ भन्दै पार्टीकै बहुमत नेताहरुको विरोधमा सडकमा प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोस सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन

प्रधानमन्त्री ओलीका फ्यानहरु बालुवाटारदेखि सडकसम्म सक्रिय बनेका छन् । साथै उनीहरु पार्टीभित्रैको अर्को खेमाप्रति आक्रामक देखिएका छन् । पार्टीभित्रको अन्तरविरोधलाई सडकसम्म आउन नदिनका लागि ओली पक्षका नेताहरुले खासै सचेतना अपनाएको देखिँदैन ।

प्रधानमन्त्री भेटेपछि प्रोत्साहित !

बुटवलतिर घर भई हाल काठमाडौं बस्ने सुमन पुरी (ज्याक) युवा संघका कार्यकर्ता हुन् । लकडाउनमा झयाप्प दाह्री पालेका उनले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरे ।
प्रधानमन्त्रीसँगको भेटपछि ज्याकले फेसबुकमा फोटो पोस्ट गर्दै यस्तो लेखे–

‘विरोधीले प्रहार गरेको ढुंगा जम्मा गरेर पर्खाल बनाउन सक्ने राजनेतासँगको भेटपछि झन् आत्मबल बढेर आयो । कुनै तागतले हटाउन सक्दैनौ भन्ने कुरा हेक्का राख ।’

प्रधानमन्त्रीसँगको ज्याकको भेट र उनको स्टाटस आफैंमा महत्वपूर्ण कुरो होइन । तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा जुन महत्व दिएर ज्याकहरुलाई भेट्छन् र पार्टीका अरु नेताप्रति उनीहरुले कस्तो प्रकारको विष वमन गर्छ भन्ने उदाहरण हेर्दा मानिसहरुलाई उदेक लाग्न सक्छ ।

प्रधानमन्त्रीलाई भेटेर फर्केका ज्याकले फेसबुकमा हालेको एउटा स्टाटस पढ्दा प्रधानमन्त्रीका संगातीहरुको सांस्कृतिक स्तर थाहा हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment