Comments Add Comment

बोत्स्वानामा ३५० बढी हात्ती मृत फेला

१८ असार, काठमाडौं । बोत्स्वानामा पछिल्लो दुई महिनामा सयौं हात्तीहरु मृत फेला परेका छन् । गत मे महिनाको सुरुदेखि अहिलेसम्म अफ्रिकाको दक्षिणी क्षेत्रमा रहेको यो मुलुकको अकावंगो डेल्टा क्षेत्रमा ३५० भन्दा धेरै हात्ती मृत फेला परेका हुन् । तर, अहिलेसम्म यी हात्तीहरु मर्नुको कारण भने खुल्न सकेको छैन ।

अहिले हात्तीहरु मर्नुको कारणबारे अनुसन्धान भइरहेको छ । प्रयोगशालाको रिपोर्ट आउन अझै केही समय लाग्ने सरकारले बताएको छ । बोत्स्वानामा विश्वको समग्र हात्तीको एक तिहाइ हात्ती बस्ने गरेका छन् ।

बेलायतमा रहेको च्यारिटी नेशनल पार्क रेस्क्युका नाइल म्याक्कानका अनुसार मे महिनाको सुरुआतमा यस विषयमा सरकारलाई जानकारी गराइएको थियो । त्यतिबेला स्थानीय संरक्षकहरुले १६९ हात्ती मृत फेला पारेका थिए । त्यसको एक महिनापछि थप अनुसन्धान गर्दा यसरी मृत फेला पर्ने हात्तीको संख्या ३५० नाघेको हो ।

पहिलोपटक यति धेरै संख्यामा हात्तीहरु मृत फेला परेका हुन् । बोत्स्वानाको सरकारले मरेका हात्तीहरुको दाह्रा भने नझिकिएको बताएको थियो । बोत्स्वानामा अन्य जनावरहरु मरेका छैनन् केवल हात्तीहरु मात्र मरिरहेका छन् । यदि कुनै विषको कारणले मृत्यु भएको भए अन्य जनावरहरुलाई पनि असर गर्नुपर्ने जानकारहरुले बताएका छन् ।

गत वर्ष बोस्वानामा प्राकृतिक विष फैलिएको कारण कम्तीमा एक सय हात्ती मरेका थिए । तर, यसपटक भने त्यस्तो सम्भावना निकै कम रहेको म्याक्कान बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment