Comments Add Comment

भारतले टिकटक बन्द गरेकोमा अमेरिकाको स्वागत, अमेरिकामै बन्द गर्न माग

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलगायत विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने भारतीय कदमको अमेरिकाले स्वागत गरेको छ ।

टिकटकलगायतका चिनिया एपहरु चिनियाँ कम्युनिष्ट पार्टीको जासुसीको अंग रहेको दाबी गर्दै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले त्यस्ता एपहरुमाथि प्रतिबन्ध लगाउनाले भारतको सम्प्रभुता, अखण्डता तथा राष्ट्रिय सुरक्षालाई बढावा मिल्ने बताएका छन् ।

पम्पेओले एक पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘हामीले कतिपय चिनियाँ मोबाइल एपहरुमाथि बन्देज लगाउने भारतीय कदमको स्वागत गर्दछौँ । यसले भारतको अखण्डता तथा राष्ट्रिय सुरक्षालाई बलियो बनाउनेछ ।’

उता टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई बाँडेको भन्ने आरोपको खण्डन गरेको छ । टिकटक इण्डियाले एक विज्ञप्ति जारी गर्दै प्रयोगकर्ताका जानकारीहरु भारत वा चीनलगायत कुनै पनि मुलुकका सरकारलाई नबाँडेको बताएको हो । साथै सरकारहरुले भविष्यमा त्यस्ता डाटाहरु मागे पनि टिकटकले उलपलब्ध नगराउने उनले प्रष्ट पारेका छन् ।

भारतको सार्वभौमिकता, अखण्डता, प्रतिरक्षा, सुरक्षा तथा सार्वजनिक सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधिमा भूमिका खेलेको भन्दै भारतले सोमबार टिककट, विच्याट, विबो लगायतका विभिन्न ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको थियो ।

१२ करोड भारतीय प्रयोगकर्ता रहेको टिकटकमाथि भारतमै प्रतिबन्ध लागेपछि टिकटकलाई आम्दानी तथा सक्रिय प्रयोगकर्ताको संख्याका हिसाबले समेत गम्भीर प्रभाव पर्ने अनुमान गरिएको छ।

उता सरकारले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सोसल साइट विबोमा रहेको आफ्नो अकाउन्ट पनि बन्द गरेका छन् । उनको विबो अकाउन्टमा अढाई लाख फलोअर्स थिए । गत चिनियाँ नयाँ वर्षको अवसरमा मोदीले विबोमार्फत् नै चिनियाँहरुलाई शुभकामना दिएका थिए । उनले आफ्नो विबो अकाउन्टमा कुल ११५ वटा पोष्ट गरेका थिए ।

अमेरिका पनि प्रतिबन्धको माग

भारतले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै अमेरिकामा पनि टिकटक प्रतिबन्धको माग उठेको छ । अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा विचार गर्न सरकारसँग अपिल गरेका छन् ।

उनीहरुका अनुसार टिकटक अमेरिकाको सुरक्षाका लागि गम्भीर खतराको रुपमा रहेको छ । रिपब्लिकन पार्टीका सिनेटर जोन कर्निन तथा रिक क्रोफोर्डलगायतले टिकटकलाई प्रतिबन्ध लगाउनै पर्ने बताएका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment