Comments Add Comment

कोरोना संक्रमित संख्यामा मेक्सिको इरानभन्दा अगाडि

१९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित संख्याको आधारमा मेक्सिको इरानभन्दा अगाडि देखिएको छ । बिहीबार मेक्सिकोले एकैदिन अहिलेसम्मकै सबैभन्दै धेरै कोरोना भाइरसका संक्रमित फेला परेको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसका ६ हजार ७४१ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै मेक्सिकोमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ३८ हजार ५११ पुगेको छ । यससँगै मेक्सिको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने शीर्ष १० मुलुकमा परेको छ ।

मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २९ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट २९ हजार १८९ जनाको मृत्यु भइसकेको छ । मेक्सिकोमा फेब्रुअरीको अन्तिममा पहिलोपटक कोरोना भाइरसका संक्रमित फेला परेका थिए ।

मेक्सिकोको सहायक स्वास्थ्यमन्त्री ह्युगो लोपेज-गाटेलले अहिले अधिकारीहरुले कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको विषयमा जाँच गरिरहेको बताएका छन् । उनले मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यो जाँच सकिएपछि अझै बढ्न सक्ने बताएका छन् ।

मेक्सिकोले मुलुकमा वास्तविक संक्रमितको संख्या पुष्टि भएका संक्रमितको भन्दा बढी हुन सक्ने बताउँदै आएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment