Comments Add Comment

ओली–प्रचण्डबीच तीनघण्टा छलफल, बाँकी भोलि…

१९ असार, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।

दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

छलफलमा सहभागी एक नेताले अनलाइनबरसँग भने, ‘दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भयो, प्रधानमन्त्रीज्यूले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गरौं न त भन्नुभएको छ ।’

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।

दुबै अध्यक्ष आ-आफ्नै अडानमा

उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षवीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए । मंसिर ४ को सहमति भनेको प्रधानमन्त्री केपी ओलीले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले चलाउने भन्ने हो ।

तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेको स्रोतले बतायो । प्रचण्डले अब त्यो परिस्थितिबाट पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले त्याग देखाउनुपर्ने बताएका थिए ।

छलफलको अन्तिममा प्रधानमन्त्री ओलीले भोलि स्थायी कमिटी बैठकअघि एकचोटि फेरि छलफल गरौं भनेर समय मागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

शीर्षनेताहरुको विवादका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ता भइरहेका बेला दुई अध्यक्षवीचको छलफलपछि नेताहरुले पार्टी चाहिँ नफुट्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment