Comments Add Comment

तीन औद्योगिक क्षेत्रको स्थिति जानकारी गराउन स‌ंसदीय समितिको निर्देशन

१९ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज, भैरहवा र सिमरा औद्योगिक क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँग औद्योेगिक क्षेत्रहरुको अवस्थाबारे छलफल गर्दै उद्योग तथा वाणिज्य समितिले यस्तो निर्देशन दिएको हो ।

सप्तरीको बसबिटीमा गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र रहेको छ । उक्त औद्योगिक क्षेत्र लामो समयदेखि लथालिंग अवस्थामा रहेको भन्दै समिति सदस्यहरुले प्रश्न उठाएका थिए ।

जवाफमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सिटौलाले ५ करोड रुपैयाँबाट त्यस क्षेत्रमा काम भएको र कम्पाउण्ड पर्खाल मर्मतका काम अगाडि बढाउने सोच रहेको बताए ।

स्पष्ट जवाफ नआएको भन्दै उद्योग समिति सभापति विमलप्रसाद श्रीवास्तवले १० दिनभित्र उक्त औद्योगिक क्षेत्रको वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

‘५ करोडको कार्यक्रम सञ्चालन भइरहेको भन्नुभयो । तर, कहाँ र के मा खर्च भएको हो सोको स्पष्ट जानकारी आएन । समग्र औद्योगिक क्षेत्रको बारेमा समेत स्पष्ट नभएका कारण यहाँ ( औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड) बाट टोली पठाएर स्थलगत अध्ययन गरेर अहिलेको वर्तमान अवस्थाबारे १० दिनभित्र समितिलाई जानकारी गराउन समिति निर्देश गर्दछ’ बैठकको निर्णय सुनाउँदै समिति सभापति श्रीवास्तवले भने ।

उनका अनुसार राजविराज औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् ।

यसैगरी, उद्योग समितिले भैरहवा र सिमरा औद्योगिक क्षेत्रको स्थितिबारे समेत १० दिनभत्र जानकारी गराउन निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment