Comments Add Comment

भारतबाट आएको २१ औं दिनमा मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते भारतबाट नेपाल आएका थिए । नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भयो ।

परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो । तर २९ वर्षीय श्रीमान‍्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोराछोरीसहित बिरामी श्रीमान‍‍्लाई लिएर असार १ मा गाउँ फर्किएकी थिइन् ।

भारतबाट फर्किएपछि सुरक्षाकै लागि परिवारका सदस्यले उनलाई गोठमा छुट्टै बस्ने व्यवस्था मिलाएका थिए ।

तर स्थानीयले भारतबाट आएको भन्दै जबरजस्ती क्वारेन्टिनमा बस्न दबाब दिएपछि उनी क्वारेन्टिनमा जान बाध्य भए । स्थानीयले खबर गरेपछि ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा ल्याएर राख्यो।

‘श्रीमान‍्को अवस्था गम्भीर रहेकाले घरमै लगेर राख्ने व्यवस्था मिलाउँछु । यहाँ राख्दा झन् जोखिम हुने भयो भनेर उहाँको श्रीमतीले भनेपछि हामीले होम क्वारेन्टिनमा बस्ने गरी पठायौं, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने ।

नगरका स्वास्थ्य प्रमुख घनश्याम चालिसेका अनुसार त्यही बेला परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । पाँच जनाको परिवारमा आमा र दुई जना छोरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाबु र छोराका रिपोर्ट आउन बाँकी थियो ।

होम क्वारेन्टिनमा बसेका बेला नै उनको आइतबार बिहान निधन भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख चालिसेले बताए । उनका अनुसार परिवारका सबै सदस्य मृतक पुरुषको स्याहारसुसारमा संलग्न भएकाले सबैको फेरि पीसीआर टेस्ट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment