Comments Add Comment

मेलम्चीको सुरुङमा हालियो पानी, धारामा कहिले आइपुग्छ ?

२१ असार, काठमाडौं । काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? वर्षौंदेखि यो प्रश्न झेल्दै आएका खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे ।

त्यसअघि आइतबार विहान ९ बजेर ४५ मिनेट जाँदा मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा ठूलो उपलब्धी भनेका छन् ।

पत्रकार सम्मेलनमा खानेपानी मन्त्री विना मगरले ‘छिट्टै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन’ हुने बताइन् । उनले समाजिक तथा राजनीतिसहित विभिन्न प्राविधि समस्या झल्दै आयोजना सम्पन्न हुने स्थितिमा आएको बताइन् ।

तर उनले आयोजना कुन दिन ‘उद्घाटन’ हुन्छ भनेर तोक्न सकिनन् । मन्त्रालयका सचिव माधव बेल्वासेले पनि प्राविधिक कुरा भएकाले मिति तोक्न नसकिने बताए ।

मन्त्रीले भनेअनुसार आयोजना उद्घाटन हुनु भनेको उपभोक्ताको घर-घरमा मेलम्चीको पानी आइपुग्नु हो । तर, यसका लागि अझै केही समय पर्खिनुपर्ने देखिएको छ ।

के-के काम बाँकी छ ?

मेलम्ची खानपानी आयोजनाका प्रमुख तिरेशकुमार खत्रीका अनुसार मेलम्चीको २६ किलोमिटरको सुरुङ भरिन १५ देखि २० दिन लाग्छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि र प्रतिसेकेन्ड २६० लिटरकै दरमा बाहिर पानी छोडिने छ र, सुरुङ खाली हुन १५ देखि २० दिन लाग्नेछ ।पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर परीक्षण गरिनेछ । यसका लागि करिव ७ दिन लाग्नेछ । त्यसक्रमा कुनै केही समस्या देखिए त्यसलाई सम्बोधन गर्नुपर्छ । यसबारे अहिले अनुमान गर्न गाह्रो छ । र, यो सबै काम सकिएपछि मात्र नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ ।सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न अबको दुईदेखि तीन महिना लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

साथै आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संरचना (हेडवर्क्स ) बनाइसकेको छैन ।

हेडवर्क्स २०७७ पुससम्म बनाउने गरी चिनियाँ कम्पनी सिनोले काम गरिरहेको छ । हेडवर्क्स बनाएर सुरुङमा पानी हाल्न अझै केही समय लाग्ने भएपछि नदीमा अस्थायी बाँध र डाइभर्सन बनाएर निर्माणाधीन हेडवक्र्स छल्ने गरी मूल सुरुङमा पानी हालिएको छ । यसले सुरुङमा बालुवा भरिन सक्छ ।

मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकी बनेका छन् । मेलम्चीको पानी सुन्दरीजल झरेपछि ट्यांकी र पाइपलाइनको सफाइ र परीक्षण गनुपर्ने हुन्छ । चक्रपथ आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, समाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

आयोजना प्रमुख खत्री सुन्दरीजलमा पानी खसेको एक वर्षसम्म वितरण प्रणालीलाई व्यवस्थापन गर्न समय लाग्ने बताउँछन् । पुराना प्रणालीलाई हटाउँदै नयाँमा पानी पठाउने र घर-घरमा पानी पुर्‍याउने काम क्रमशः गरिने उनले बताए ।

काठमाडौंमा मेलम्चीको पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको सुरुङबाट सिन्धुपाल्चोकस्थित याङ्ग्री र लार्केर् खोलाको पानी ल्याउने दोस्रो परियोजनामा काम थाल्नेछ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी मात्रै आउने छ भने दोस्रो परियोजना बनेपछि त्यस्तो परिमाण ५४ करोड लिटर पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment