
२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । सोमबार खान छुटेकालाई मंगलबार खुवाइनेछ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।
कोरोना भाइरसको महामारी भएका कारण यस वर्षको खोप कार्यक्रममा सचेतता अपनाइएको छ । स्वास्थ्यकर्मीले पञ्जा, मास्क र अनुहार ढाक्ने भाइजर लगाएका छन् । भिटामिन ए खुवाउने बालबालिका र अभिभावक पनि मास्क लगाएर आएका थिए । धेरैजसो ठाउँमा स्वास्थ्यकर्मीले अभिभावकलाई नै भिटामिन ए खुवाउने जिम्मा दिएका थिए ।
बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दामाथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस्तै, १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।
सोमबार काठमाडौं महानगरपालिका-१० को वडा कार्यालयमा पनि भिटामिन ए खुवाइएको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4