+
+
Shares

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकले सुरु गर्यो संयुक्त कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते २१:१९

२२ असार, काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले संयुक्त कारोबार सुरु गरेको छ।

आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरेको हो।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.ले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार सुरु गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए।

पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए।

अध्यक्ष शाहकाअनुसार मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ।

कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए।

कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताए।

अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताए।

मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी उनले दिइन्।

सिइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ। यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।

९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको थियो। २०७७ चैत्र मसान्तको एकीकृत तथ्याङ्कका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी रहेको छ।

‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाख भन्दा बढी भएको छ। त्यसैगरी शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ वटा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?