Comments Add Comment

माधव पक्षको शंका : बालुवाटारमा फेरि चोचोमोचो…

प्रधानमन्त्री र अध्यक्ष नछाड्ने ओलीको अडान यथावत्

Photo Credit : फाइल फोटो

२२ असार, काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरूबीच विश्वासको कतिसम्म संकट छ भन्ने ज्वलन्त उदाहरण आइतबारको एउटै ‘अफवाह’ पर्याप्त बन्यो । नेकपाभित्र फैलिएको शंकाको डढेलो सोमबार साँझसम्म पनि निभेको छैन । अझै यो शंकाको लपेटोले प्रचण्ड र माधव नेपाल पक्षलाई समेत छोएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ-आफ्ना समूहका पाँचजना नेतासहित बालुवाटारमा छलफलमा बसेका थिए ।

छलफलका क्रममा संकट समाधानको सूत्र पहिल्याउन दुवैतर्फका दुई-दुईजना नेताहरूलाई अनौपचारिक जिम्मा दिइएको समाचारबाहिर आयो । एक प्रकारले कार्यदल नै बनेको खबर बालुवाटारबाट बाहिरियो ।

आइतबारको छलफलमा दुई अध्यक्ष आ-आफ्नै अडानमा थिए । तर अब थप असमझदारी नबढाउने भन्दै दोस्रो तहका नेताहरूले एक्लाएक्लै कुरा गर्न ओली र प्रचण्डलाई सुझाव दिएका थिए ।

तर माधव नेपाल पक्षको सहभागिताविनै कार्यदल बनेको भन्दै माधव नेपाल पक्षका नेताहरू सशंकित भए । कार्यदल बनेको समाचारले प्रचण्ड-माधव समूहमा आशंका जन्मियो । ओली र प्रचण्डले फेरि चोचोमोचो मिलाएको भन्दै नेपाल पक्षका नेताहरू आक्रोशित बने ।

महासचिव विष्णु पौडेलले दुई अध्यक्षबीच वार्ता सकारात्मक ढंगले अघि बढेको भन्दै कुनै पनि कार्यदल नबनेको स्पष्ट पारेका थिए । प्रचण्डले पनि माधव नेपालसहितका नेताहरूसँग कार्यदल नबनेको बताएका थिए ।

तर नेपाल समूहका नेताहरूले त्यसलाई पत्याएनन् । किनभने, अघोषित कार्यदल बनेको खबर बालुवाटारबाटै बाहिरिएको थियो ।

कार्यदलको प्रचारबाट सुरु भएको विश्वासको संकट आइतबार साँझसम्म अझ चर्कियो । यहीबीचमा दुवै अध्यक्षबीच अनौपचारिक समझदारी बनेको भन्दै कथित पाँच बुँदे कथित सम्झौता नै सार्वजनिक भयो । उक्त बेवारिसे सम्झौता कतिपय चिनिएकै नेकपा-कार्यकर्ताले सामाजिक सञ्जालमा राखे ।

त्यसपछि माधव नेपाल पक्ष प्रचण्डसँग झनै सशंकित भयो । नेपाल पक्षधर कतिपय कार्यकर्ताले पनि प्रचण्डले ओलीसँग चोचोमोचो मिलाएर माधव नेपाललाई फेरि धोका दिन लागेको भन्दै सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाए । यद्यपि सो प्रचारलाई प्रचण्डको सचिवालयले खारेज गरेर विज्ञप्ति नै निकाल्नुपर्‍यो ।

अघोषित कार्यदलका सदस्य भनिएका विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्माको गृहकार्य सोमबार पनि चलेको बुझिएको छ । कथित कार्यदलका चारमध्ये एक नेतालाई हामीले सोध्यौं, तपाईंहरू कार्यदल बनेको छैन भन्नुहुन्छ, तर आज पनि चार जनाबीच छलफल भएको हो ?

ती नेताले अनलाइनखबरसँग भने, ‘यो कुनै कार्यदल हैन, तर हामीले आज सामान्य छलफलचाहिँ गर्‍यौं ।’

यी परिघटनाहरू दुई उदाहरण मात्र हुन्, जसले नेकपाका शीर्षनेताहरू एक अर्काप्रति विश्वास गर्नै नसक्ने अवस्थामा पुगेका छन् भन्ने देखाउँछ । केपी ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र माधव नेपालबीचमै पनि विश्वासको संकट देखा परेको छ भन्ने उदाहरण आइतबारका यी घटनाक्रम हुन् ।

सोमबार के भयो ?

यसैबीच सोमबार पनि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डले एक्लाएक्लै कुराकानी गरे । स्थायी कमिटीको बैठक बुधबारसम्मलाई स्थगन गरियो । दुई अध्यक्षबीच के कस्तो कुराकानी भयो भन्नेबारे माधव नेपाल पक्षलाई जानकारी दिइएको छैन ।

ओली र प्रचण्डको छलफलपछि खुमलटारमा ६ जना सचिवालयका नेताहरू पुनः छलफल गर्ने भनिएको थियो, तर प्रचण्डले त्यसमा रूचि नदेखाएको माधव नेपाल पक्षका नेताहरू बताउँछन् । तर प्रचण्ड पक्षका नेताचाहिँ ६ भाइको बैठक पूर्वनिर्धारित नरहेको र त्यसैरी पटक-पटक बस्नु उपयुक्त पनि नहुने बताउँछन् ।

उच्च सूत्रका अनुसार सोमबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल ‘राम्रो मुढ’मा भएको थियो । प्रधानमन्त्री ओलीमा पनि आफूलाई बहुमतले हटाउँछ कि भन्ने डर हटेका कारण उनी ‘रिल्याक्स मुढ’ मा देखिएको स्रोतले बतायो । तर उनी आजसम्म पनि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्ने पक्षमा भने देखिएका छैनन् ।

भोलि मंगलबार पनि दुवै अध्यक्ष पुन: बस्ने गरी छुटेका र दुवै नेताहरूको अडान यथावतै रहेको स्रोतले बतायो ।

के पाक्दैछ भित्र-बाहिर ?

आइतबार सहयोगी नेताहरूसहित छलफलमा बसेका ओली र प्रचण्ड सोमबार एक्लाएक्लै बसे । बिहान ११ बजे निर्धारित स्थायी कमिटी बैठक पुनः दुई दिन पर सार्ने निर्णय सहमतिमै भए पनि अरू कुनै सहमति भएको छैन ।

दुवै अध्यक्ष आ-आफ्ना पूर्ववत् अडानमा रहेका दुवैतिरका नेताहरूबीच अधिकतम सहमतिको खाका बनाउने प्रयास भने भइरहेको छ ।

अहिलेसम्म केपी ओली मंसिर ४ गतेको समझदारीमा फर्किनेबाहेक अन्य कुनै विकल्पमा तयार भएका छैनन् । मंसिरको ४ को सहमतिअनुसार पार्टीको सम्पूर्ण बागडोर प्रचण्डले सम्हाल्ने र ओली सरकार सञ्चालनमा मात्रै केन्द्रित हुने प्रस्ताव ओली पक्षको छ । यद्यपि प्रचण्डले आलोपालोको पूर्वसहमतिअनुसार ओलीलाई प्रधानमन्त्री पद छाड्न दबाब दिएकाले मंसिर ४ को समझदारीमै कुरा मिल्ने अवस्था अहिलेसम्म आइसकेको छैन ।

प्रचण्डले ओलीलाई तत्कालै दुईमध्ये एक पद छाड्न वा जेठ २ को समझदारीमा फर्किन आग्रह गरेका छन् । जेठ २ को समझदारी भनेको आलोपालो प्रधानमन्त्री हो । तर, ओली भने जेठ २ को समझदारी मंसिर ४ मै टुंगिसकेकाले अरु विषयमा मात्र छलफल गर्ने पक्षमा छन् ।

प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले नछाड्ने र छाड्नुपर्ने कारण पनि नभएको संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । नेम्वाङले अनलाइनखबरसँग भने, ‘केपी ओली र प्रचण्डमध्ये कुनै एकजनालाई हटाउन खोज्ने हो भने त्यही विन्दुबाट पार्टी एकता भंग हुन्छ । हामीले महाधिवेशनसम्मलाई संक्रमणकाल भनेका छौं, यहाँ दुई अध्यक्षको सहमति बाहेक हामीसँग अरु बैधानिक बाटो छैन । अर्को बाटो जान खोजियो भने दुर्घटना हुन्छ । मैले दुवै अध्यक्षलाई यो कुरा भनेको छु ।’

तर, ओलीले दुवै पद नछाड्ने हो भने अरु विषयमा समझदारीको अर्थ नहुने माधव नेपाल पक्षधर नेताहरु बताउँछन् । पार्टीको बैठकमा नबस्ने, बैठकका निर्णय नमान्ने धम्की दिने र आफ्नो प्रतिकुल निर्णय भए पार्टी फुटाउने धम्की दिने कुरा अश्वीकार्य हुने नेपाल पक्षका नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने अडान यथावत्

प्रधानमन्त्री ओलीले दुवै पद छाड्नेबाहेक अन्य विषयमा समझदारी गर्न सकिने उनी पक्षधर नेताहरूले बताएका छन् । प्रचण्ड र माधव नेपालसहितको समझदारीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, कतिपय प्रदेशका मुख्यमन्त्रीहरू हेरफेर गर्ने, पार्टीका नेताहरूको जिम्मेवारी फेरबदल गर्ने र सरकार सञ्चालनमा ओलीको कार्यशैली फेर्नेजस्ता कुरामा समझदारी गरेर जान सकिने ओली निकट एक नेताले बताए ।

अहिले समझदारीको प्रयास पनि यसकै वरिपरि रहेर भइरहेको नेकपा स्रोतले जनाएको छ । यस्तो आशयको प्रस्ताव यसअघि योगेश भट्टराईले पनि दुवै पक्षलाई राखेका थिए । दुई अध्यक्षबीच हुने समझदारीलाई पार्टीमा छलफल गराउनेबाहेक अन्य बाटोबाट जाँदा पार्टी फुट्ने भएकाले मध्यमार्गी नेताहरूले वैकल्पिक उपाय सुझाएका हुन् ।

तीमध्येका एक नेता भन्छन्-कम्युनिस्ट पार्टीमा विचार र सिद्धान्तको बहस हुनुपर्नेमा अहिले हामीबीच पार्टीको निर्णय मान्ने कि नमान्ने भन्ने विषयमा विवाद छ । यस्तो पार्टीमा कुनै बहुमतले अन्यथा निर्णय गर्दा पार्टी विभाजनमात्र हुने भए त केही थिएन यो संविधान नै नरहने खतरा छ र मुलुक नै संकटमा पर्ने अवस्था देखिँदैछ ।

प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष ओलीले दुवै पदबाट हट्न अर्को पक्षले दिएको दबाब अस्वीकार गरिसकेका छन् । पछिल्लो समय एक पद छाड्न प्रचण्डले गरेको आग्रह पनि ओलीले खारेज गरेका छन् । प्रचण्डले आफूसँग समझदारी नगरी माधव नेपाल पक्षसँग मिलेर संख्याका आधारमा आफूलाई हटाउन खोजे त्यहीविन्दुबाट पार्टी फुट्ने भनिसकेका छन् ।

त्यसो भए समाधान चाहिँ के त ? यो प्रश्नको जवाफ कसैसँग छैन । यसपटक पनि ओलीलाई पार्टी निर्णय मान्न बाध्य नपारिने हो भने उनी झन् स्वेच्छाचारी हुने र पार्टी प्रणाली नै समाप्त हुने डर माधव नेपाल पक्षको छ । तर ओलीको सहमतिविना हुने कुनै पनि निर्णयले पार्टी फुट्ने डर पनि अर्कोतिर छ ।

त्यही भएर सहमति भएपछिमात्र बैठक राख्नेभन्दै पटक-पटक स्थायी कमिटी बैठक सारिएको छ । केन्द्रीय सदस्यहरूले स्थायी कमिटीको सानो घेराबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने भन्दै बैठक मागेर हस्ताक्षर अभियान चलाइरहेका छन् । तर अहिलेको नेकपाको संकट पार्टीका बैठकहरूले गर्ने एकपक्षीय निर्णयबाट समाधान हुनेखालको छैन ।

प्रधानमन्त्री ओली पार्टीका बहुसंख्यक नेताहरूको दबाबपछि पनि पद छाड्न तयार नभएपछि पार्टी जोगाउन मध्यमार्गी सम्झौता गर्ने वा विभाजन स्वीकार गर्ने ? दुईमध्ये एक बाटो रोज्नुपर्ने बाध्यतामा नेकपा नेताहरू पुगेका छन् ।

पार्टी एकता जोगाउन भए पनि कुनै न कुनै सम्झौतामा पुगेर नेकपाको अहिलेको संकटको अस्थायी समाधान निस्कने अनुमान ओली पक्षका नेताहरूले लगाएका छन् ।

माधव पक्ष भन्छ- चोचोमोचो स्वीकार्य हुँदैन

माधव नेपाल पक्षले दुई अध्यक्षबीचको चोचोमोचो मात्र स्वीकार्य नहुने चेतावनी दिएको छ ।

दुई अध्यक्षले गोप्य कोठामा समझदारी गर्ने र त्यसलाई पार्टीको बैठकमा ल्याएर अनुमोदन गर्ने कुरा स्वीकार्य नहुने नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताए । जे छलफल हुने हो, बैठकमै हुनुपर्ने र बैठकले गर्ने निर्णय नै सबैका लागि मान्य हुनुपर्ने नेपाल पक्षको अडान छ । यो कुरा प्रचण्डलाई पनि भनिएको ती नेताले अनलाइनखबरलाई बताए ।

यसैबीच, मध्यमार्गी नेताहरूले ओली र प्रचण्डको समझदारीमा माधव नेपालसहितका वरिष्ठ नेताहरूलाई पनि सहभागी गराएर पार्टीलाई विभाजनबाट जोगाउन दबाब दिइरहेका छन् ।

तर प्रधानमन्त्री ओलीले माधव नेपाललाई छलफलमा राख्न नमानेको प्रचण्ड पक्षका एक नेताले अनलाइनखबरलाई बताए । सोमबार दिउँसो घनश्याम भुसाल र योगेश भट्टराईले यसबारेमा ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment