
२३ असार, काठमाडौं । फिलिपिन्समा पाइलट तालिममा प्रयोग हुने एक जहाज दुर्घटनामा परेको छ । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । जहाजलाई पाइलटले समुद्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए ।
सीएनएन फिलिपिन्सका अनुसार जहाजमा सवार ४ जना सकुसल छन् । उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको थियो । फिलिपिनी संचारमाध्यमहरुका अनुसार कलसाइन आरपी-सी८३४ जहाज पाइलटको प्रशिक्षणमा प्रयोग भएको थियो ।
जहाज भारतीय पाइलटले उडाएका थिए । जहाँ एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी विद्यार्थी सवार थिए । फिलिपिनी नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य छ ।
दुर्घटनालगत्तै खटिएको उद्दार टोलीले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो । समुद्रमा झरेको विमान ६ फिट गहिराईमा पुगेको थियो । समुद्री किनारबाट ६ मिटरकै दुरीमा जहाज झरेको थियो । यो जहाज जाम्बोआंगा विमानस्थलबाट अर्को सहर डुमगेटका लागि उडेको थियो ।
प्रतिक्रिया 4