Comments Add Comment

ट्र्याकिङ डिभाइसले पत्ता लाग्छ चोरीका मोटरसाइकल

मोटरसाइकल चोरी हुनबाट जोगाउन ट्रेस रुट जीपीएस ट्रेकर डिभाइस जडान गर्दै ।

२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन ।

असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै फेला परेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा छिटपुट रुपमा मोटरसाइकल हराएको उजुरी आइनै रहेको हुन्छ । हराएको भनिएका केही मोटरसाइकल साटिएका हुन्छन् भने अधिकांश चोरी भएका हुन्छन् ।

मोटरसाइकल कतै पार्क गरेर चालक कुनै समान लिन वा मानिसलाई भेट्न गएका हुन्छन् । फर्केर आउँदा आफूले राखेको ठाउँमा मोटरसाइकल देख्दैनन् । यताउती पो राखिएछ कि भनेर हेर्छन् । खोज्दा नभेटेपछि प्रहरीलाई खबर गर्छन् । यो प्रक्रिया पूरा हुन एक डेढ घण्टा समय लागि सकेको हुन्छ । त्यतिखेरसम्म चोरले मोटरसाइकल आफ्नो गन्तव्यमा पुर्‍याइसकेको हुन्छ ।

एक प्रहरी अधिकारीले मोटरसाइकल चोरी हुँदा ढिलो खबर आउने भएकोले नै चोरलाई समात्न कठिनाइ हुने गरेको बताए । त्यसले गर्दा चोरी भएका अधिकांश मोटरसाइकल फेला नै परेको छैन ।

बिमा गराएको भए कम्पनीले दावी भुक्तानी गर्छ नै तर नगराएको अवस्थामा भने ठूलो नोक्सानी पर्न जान्छ ।

०७६ कात्तिक २९ गते वीरगञ्ज–११ तेजारथ टोलस्थित डेरा अगाडिबाट शिवकुमार साहको मोटरसाइकल चोरी भयो । धेरै दिनसम्म खोज्दा पनि फेला परेन । तीन लाख पन्ध्र हजार पर्ने मोटरसाइकल थियो । हराएको दावी गर्दा बिमा कम्पनीले २ लाख ८० हजार दियो । ३५ हजार नोक्सानी सँगै मानसिक तनाव झेल्नुपरेको उनी सम्झन्छन् ।

‘मोटरसाइकल हराएको थाहा पाउनेबित्तिकै प्रहरीमा खबर गरेको हो । प्रहरीले खोजीमा खासै चासो देखाए जस्तो लागेन । आफैं पनि धेरै दिन खोजतलासमा हिँडियो,’ साहले भने, ‘इन्स्योरेन्स दाबीका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्छ, प्रहरीले त्यसमा पनि आनाकानी गर्दै थिए, सोर्सफोर्स लगाएर काम गराएँ ।’

१ सय ७ वटा हराउँदा २२ वटा मात्रै फेला

चालु आर्थिक वर्ष ०६७/७७ मा सवारी साधन हराएको एक ई–रिक्सासहित १ सय ७ वटा निवेदन परेको छ । ई–रिक्सा सहित २२ वटा सवारी साधन फेला परेको छ । बाँकी सबै मोटरसाइकल हुन् । सवारी साधन चोरीका २२ वटा मुद्दा अदालतमा दर्ता भएको र त्यसमा संलग्न ३६ जना पक्राउ परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर बताउँछन् । उनका अनुसार मोटरसाइकलको सन्दर्भमा समयमै प्रहरीले खबर नपाउने हुँदा चोर समात्न समस्या हुने गरेको छ ।

‘मोटरसाइकल छाडेर व्यक्ति कुनै काममा गएको हुन्छ, त्यो काम सकेर आउँदा बल्ल मोटरसाइकल चोरी भएको थाहा हुन्छ,’ उनले भने, ‘ मोटरसाइकल धनी स्वयंले यताउति खोज्छन् । त्यसपछि बल्ल प्रहरीलाई खबर गर्छन् । त्यतिखेरसम्म चोर धेरै टाढा पुगीसकेको हुन्छ ।’

ट्र्याकिङ डिभाइसको मद्धतले समातिए दुई चोर

तर असार ९ गते मंगलबार हराएको मोटरसाइकल चोरसहित समात्न सफल भयो । कारण मोटरसाइकलमा जीपीएस ट्रयाकिङ डिभाइस लगाइएको थियो । वीरगञ्ज महानगरपालिकाका आईटी अफिसर सतिश चौधरीको प्रदेश २–०३–००६ प २७९४ नम्बरको मोटरसाइकल चोरी भएको एकै दिनमा फेला परेको हो ।

असार १० गते नगर अधिवेशन, त्यसैको तयारी भइरहेको थियो । कामकै सिलसिलामा मंगलबार दिउँसो वीरगञ्ज पिपरास्थित नगर प्रमुख विजय सरावगीको घरमा उनी पुगेका थिए । घर अगाडि वीरगञ्ज–पथलैया सडकखण्ड पर्छ । सडक छेउमा मोटरसाइकल पार्क गरेर उनीभित्र पसेका थिए । दिउँसो सवा ३ बजेतिर निस्कँदा राखेको ठाउँमा मोटरसाइकल थिएन ।

तुरुन्त उनले नगर प्रमुखको घर अगाडि लगाइएको सीसीटीभी क्यामेराको फुटेज हेरे । साढे २ बजेको समयमा मोटरसाइकल चोरी भएको रहेछ । चोरलाई मोटरसाइकल चोर्न १० सेकेन्ड पनि समय लागेन । तुरुन्तै उनले पर्सामा प्रहरी अधिकारीलाई जानकारी गराए । पर्साबाट प्रहरी खटाइयो, बाराको प्रहरीलाई अलर्ट गराइयो । उनले मोटरसाइकल किनेको भोलिपल्टै ट्रयास रुट जीपीएस ट्रयाकर डिभाइस लगाएका थिए ।

त्यसमा हेर्दा मोटरसाइकल सिमरा एयरपोर्ट भन्दा पूर्व तर्फको बाटो हुँदै उत्तर तिर गएको देखियो । अनि चुरेको जङ्गलमा गएर रोकिएको देखियो । जंगलमा नेटवर्कले राम्रोसँग काम नगरेको पनि हुन सक्छ । त्यसपछि लोकेसन देखाउन छोड्यो । पछ्याउँदै त्यो ठाउँमा पुग्दा दुईवटा प्लाष्टिकको बोतल फेला पर्‍यो । जसबाट पेट्रोलको गन्ध आइरहेको थियो । मोटरसाइकल स्ट्यान्ड लगाएको ठाउँ पनि भेटियो तर मोटरसाइकल भेटिएन ।

‘त्यो ठाउँको दुई सय मिटर वरपर खोज्यौं भेटिएन, त्यसपछि फर्केर आयौं,’ उनले भने, ‘रातभरि निन्द्रा लागेन, एपमा मोटरसाइकलको लोकेसन देखाउँछ कि भनेर हेरेर बस्थें ।’

इलाका प्रहरी कार्यालय सिमरासँगको समन्वयमा भोलिपल्ट पनि खोजी सुरु भयो । दुई बजेसम्म खोज्दा नभेटेपछि फर्किएर आएको उनी बताउँछन् । तर मंगलबार साँझदेखि डिभाइस डिसकनेक्ट थियो । बुधबार साँझ ५ बजेतिर मोबाइलमा नोटिफिकेसन आयो । हेर्दा त जंगल छिचोलेर मोटरसाइकललाई बस्तीमा लगिएको रहेछ । डिभाइसले देखाएको लोकेसन अनुसार मोटरसाइकल राजमार्गबाट पूर्वतिर लागेको देखियो । प्रहरीलाई त्यसबारे निरन्तर सूचना दिने काम भयो ।

साँझ ७ बजेतिर चपुरबीच चोकमा मोटरसाइकल पुग्यो । त्यही उनले इन्जिन लकका लागि निर्देशन दिए । चपुर चौधरीको गाउँ पनि हो । त्यहाँ उनले साथी र आफन्तलाई समेत मोटरसाइकल चोरी भएको र त्यतै आउन लागेको जानकारी गराए । चपुर कटेर पेट्रोल पम्पमा पेट्रोल भर्न लाग्दै गरेको अवस्थामा घेरा हालेर एक जनालाई मोटरसाइकलसहित पक्राउ गरियो ।

उनीहरुले निजगढबाटै अर्को मोटरसाइकल पनि चोरी गरेका रहेछन् । प्रहरीले बागमतीबाट मोटरसाइकलसहित त्यस व्यक्तिलाई पक्राउ गर्‍यो । मोटरसाइकल चोरीमा संलग्न उदयपुर जिल्ला घर भएका २७ वर्षीय विष्णु सिंह कटुवाल र १९ वर्षीय मनिष श्रेष्ठ पक्राउ परे ।

‘ट्रयाकिङ डिभाइस लगाएपछि मोबाइलबाट म्यासेज पठाएर इन्जिन लक गर्न पनि मिल्छ,’ चौधरीले भने, ‘निर्देशन दिएको केही समयपछि लक हुन्छ । उसले पेट्रोल सकियो भन्ने लागेर पम्पतिर लिएर गयो होला । त्यही समात्न सफल भयौं । ’

सुरक्षा सतर्कता खोई ?

प्रहरी अधिकारीहरु घरै पिच्छे एक दुईवटा मोटरसाइकल किनेर चढ्ने सौख, चेतनाको कमी, समानको सुरक्षामा ध्यान नदिने, तोकिएको स्थानमा पार्किङ नगर्ने, हेलमेटसहित राखिदिने जस्ता कारणले मोटरसाइकल चोरी हुने गरेको बताउँछन् । तराईका सहरमा जता  पनि भाग्न सकिने सुविधा छ ।

वीरगञ्जमा त झन खुल्ला सीमाका कारण चोरीको मोटरसाइकल सजिलै पारी भारतको रक्सौल लैजाने समेत गरिन्छ । मोटरसाइकल चालकको लापरबाहीले नै अधिकांश चोरीका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका अर्का प्रहरी नायब उपरीक्षक गौतम थापा बताउँछन् ।

‘दुई तीन लाखको मोटरसाइकल हुन्छ, ह्याण्डिल लक गर्ने, डिस लक राख्ने, अन्य लक वा चेन लगाउने, इन्जिनको स्वीच बन्द गर्ने जस्ता सामान्य सुरक्षाको उपाय समेत अपनाइएको हुँदैन,’ थापा भन्छन्, ‘तराइमा जताततै बाटो हुन्छ, जता लिएर गएपनि भइहाल्ने । नयाँ भन्दा सस्तोमा पाइने भएकोले कतिपयले त्यस्तै मोटरसाइकल किनेर चढ्न मन पराउँदा रहेछन् । ’

किन लगाउने ट्रयाकिङ डिभाइस ?

मोटरसाइकलमा जीपीएस ट्रयाकिङका लागि एउटा चिप्स लगाइन्छ । जसलाई मोटरसाइकलको कुन भागमा लगाउँदा अरुले देख्न सक्दैनन् । त्यही ठाउँमा राखिन्छ । मोबाइलमा एउटा एप्स हालिन्छ । चिप्स लगाइसकेपछि मोबाइलमा भएको एप्समार्फत इन्जिन लक अनलक गर्न सकिन्छ, मोटरसाइकल कहाँ कहाँ चलाइएको हो त्यसको हिस्ट्रि देखाउँछ, मोटरसाइकलको सम्पूर्ण सूचना त्यसैमा रहन्छ । कागजपत्र हराए वा पानीले भिजे पनि त्यसमा सूचना रहन्छ । सेटलाइट कनेक्सन हुन्छ । मोटरसाइकल चोरी भएको अवस्थामा नोटिफिकेसन तथा कल समेत आउँछ ।

चौधरीले मोटरसाइकलमा ट्रयाकिङ डिभाइस ट्रयाकर डिभाइस लगाएका थिए । ट्रेस रुट नेपाल कम्पनीले नेपालमै डिभाइस लगाउने सुविधा दिइरहेको छ । सञ्चालक विक्की साहका अनुसार दुई चक्केदेखि १६ चक्के सवारी साधनमा डिभाइस लगाउन सकिन्छ । हालसम्म १२ जनाले यसको सुविधा लिइसकेका छन् ।

‘समान किन्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई सुरक्षित पनि राख्नुपर्छ । हामीले सर्भर किनेका छौं, चाहिने मानिसले फोन गर्छन् । हामी गएर जीपीएस ट्रयाकिङ डिभाइस लगाइदिन्छौं,’ उनले भने, ‘चालक–सह चालकले कुराकानी गरेको सुन्न समेत मिल्ने डिभाइस हामीसँग छ ।’

चौधरीले मोटरसाइकलमा डिभाइस लगाएकोमा पर्सा, बारा र रौतहटका प्रहरी अधिकारीले धन्यवाद मात्रै दिएका छैनन् । उनीहरुले यसको बारेमा चासो राखेर बुझेका छन् ।

डिभाइसकै मद्धतमा चोरिएको मोटरसाइकल र चोर समेत समातिएपछि चौधरी खुसी छन् । १४ हजार रुपैयाँ र केही इन्स्टलेसन चार्ज तिरेर डिभाइस लगाउँदा ३ लाखको सम्पत्ति जोगिएको उनी बताउँछन् ।

‘जुन प्रविधि प्रयोग गरे, त्यसले लाभ दियो, चोरी भएको मोटरसाइकल खोज्न सजिलो भयो, कम समयमा चोर पनि समातियो,’ चौधरी भन्छन्, ‘आफ्नो समानको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment