Comments Add Comment

चिनियाँ राजदूतको ‘दौडधुप’ले विपक्षी दल सशंकित

कांग्रेस–जसपाको निष्कर्ष : अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भयो

२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले ‘समीक्षा बैठक’ गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । यस्तै, छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्ण सिटौला पनि सहभागी थिए ।

भेटमा दुवै दलका नेताहरूले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएका छन् । महत्वपूर्ण विधेयक, संकल्प प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सभामुख र विपक्षी दलसँग परामर्श नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको नेताहरूले बताएका छन् ।

भेटपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अनलाइनखबरसँग भने, ‘हठात् संसद अधिवेशन अन्त्य गरिएकोमा हाम्रो केन्द्रीय कार्यसमितिले आपत्ति जनाएको थियो । उहाँहरू पनि त्यसमा सहमत हुनुभएको छ ।’

जसपाका नेता महतोले संसदको अधिवेशन अन्त्य गरेर सरकारले जनताको मुखमा ताला लगाउने काम गरेको बताए । बैठकमा सरकारकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको विषयमा समेत समीक्षा भएको नेताहरूले बताएका छन् । तर यसबारे उनीहरूले थप खुलाउन चाहेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसमा नेपालकै नेताहरू पनि लागेको बताएका थिए । यो अभिव्यक्तिले नेकपाभित्र चलिरहेको अन्तरसंघर्षलाई उत्कर्षमा पुर्‍याएको छ ।

नेताहरूले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको हो । पछिल्लो पटक उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतलाई घरघर पुगेर भेटेपछि यसलाई आन्तरिक राजनीतिसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

स्रोतका अनुसार कांग्रेस र जसपा नेताहरूको भेटमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र चिनियाँ राजदूतको सक्रियताबारे पनि कुराकानी भएको छ । तर यसबारे औपचारिक रूपमा कोही बोल्न तयार छैनन् ।

कांग्रेस उपसभापति निधिले प्रधानमन्त्री ओलीको क्रियाकलापले अन्तर्राष्ट्रिय सम्बन्ध जटिल भएको सन्दर्भमा पनि छलफल भएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति र चिनियाँ राजदूतको भेटवार्तातिर संकेत गर्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘यो सरकारले भारत, चीन, अमेरिका, युरोपलगायतका देशसँग जस्तो अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्ने हो, त्यो भएको छैन । यसप्रति गम्भीर छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment