Comments Add Comment

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

२३ असार, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् ।

यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको समाजवादीका नेताहरु बताउँछन् ।

तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो । त्यसमध्ये एक पुरुष र ५ महिला सांसद बनेका थिए ।

पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए ।

अब सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि खस आर्य महिलाको कोटा रिक्त हुनेछ । बन्दसूचीमा सिटौलाको नाम सरिता गिरीको मुनि रहेकाले अब उनी सांसद बन्ने निश्चित देखिएको छ ।

निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ । यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ । अब यही नजीरअनुसार सांसद बन्नका लागि लीला सिटौलाको भाग्य खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment