Comments Add Comment

आफ्नै जीवनको मध्यावधि समीक्षा

यौटा बत्ती बालौँ भन्थेँ पुग्न माथि माथि
बत्ती नबल्दै यो जीवन जाने हो कि साथी ।

म कार्यरत संस्था नेपाल राष्ट्र बैंकले वर्षेनी मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दछ । जुनसुकै संस्था, परियोजना वा कार्यक्रमको निर्धारित उद्देश्य हासिल गर्नका लागि मध्यावधि समीक्षा गर्ने पर्दछ । नत्र सो कार्यक्रमको प्रगति, उपलब्धि तथा कमजोरीबारे जानकारीको अभावमा सारा प्रयास उपलब्धिविहीन हुन पनि सक्दछ । जीवन पनि त एक परियोजना हो ।

आज असार २३ गते । मेरो उमेर एक सिँढी माथि उक्लिएको दिन । अहिले म आफ्नै गीतका माथिका हरफहरु सम्झिरहेछु जसले जीवनको लक्ष्यलाई थोरै भए पनि सङ्केत गर्दछ । त्यसो त उमेरको सिँढी वर्षेनी एक एक गर्दै चढ्दै रहन्छ यस्तै गरी । के मानव, के मानवेत्तर सबैको गति र नियति यही नै हो । बाल्यवयमा चढिने सिँढीहरु हरेक दिन उज्याला, तेजिला, भर्भराउँदा र विकासशील रहन्छन् बिहानको सूर्यझैँ । तर मध्याह्नपछि सूर्यको तेज क्रमशः मलीन हुँदै जान्छ । मान्छेको जीवन पनि सूर्यजस्तै हो मध्याह्नसम्म भर्भराउँदो त्यसपछि क्रमशः मलीन ।

जिन्दगीको कच्चा सामग्रीका रुपमा प्राप्त तन, धन, सामाजिक सम्बन्ध, समाजको दृष्टिकोण, भौतिक आर्जन, उपयोग, चेतनाशक्ति आदिका बारेमा पटकपटक समीक्षा नगरे जीवनरुपी परियोजना कुहिराको काग बन्न पनि सक्छ । मान्छेको जन्मोत्सव यसका लागि उपयुक्त बेला हो र जन्मोत्सवको महत्व पनि यसैमा छ ।

त्यसो त ४९ पुगेर ५० लागेको दिन मेरो जीवनको मध्यावधि समीक्षाको उपयुक्त बेला हो त ? मान्छेले गोरु, गधा र लाटकोसेराबाट प्राप्त गरेको उमेर जोरजाम गरी १०० वर्ष जम्मा गरेको उमेरको आधातिर पुगेको हुँदा समीक्षा गर्न बितिहालेको भन्न नमिल्ला । फेरि मेरा ठुलाबा पं. प्रजापति आचार्यले ९५ वर्ष, पिता नारायणप्रसाद आचार्यले ८९ वर्ष र काका भोलानाथ आचार्यले ८८ वर्ष लगभग स्वस्थ जीवन बाँचेर इहलीला समाप्त गर्नुभएकाले आज म ४९ पुगिरहँदा समीक्षा ढिला भइनसकेको मानौँ एक छिनका लागि ।

मनुष्य जीवन एक बत्ती । बत्ती जति उज्यालो, चम्किलो, जग्मगाउँदो बल्यो त्यति जीवनरुपी परियोजना सकारात्मक हुँदै जाने रहेछ । परिवार, समाज, राष्ट्र, जिम्मेवारी, सामाजिक सम्बन्धका क्षेत्रमा म कति हाँस्न सकेको छु, नाच्न सकेको छु, मेरो जीवनको परियोजनाको सुरुआत बिन्दु यही हो ।

यी भए बाहिरी कुराहरु । यसभन्दा पहिले आफ्नै कुरा पनि छ । म आफैँमा कति खुसी छु ? कति उज्यालो, चम्किलो छु ? आफ्ना कर्मका लागि भागवत आचार्यले भागवत आचार्यलाई कति धन्यवाद दिन सकेको छ ? भोक्ता र कर्ता भागवत आचार्यको सोच, संस्कार, भौतिक र आध्यात्मिक आर्जनको गुणस्तर, भोलिको बाटो आदिका सम्बन्धमा द्रष्टा एवम् स्वसमीक्षक भागवत आचार्यले कति सम्मान दिन सकेको छ, यसैका आधारमा जीवनको मध्यावधि समीक्षा प्रारम्भ हुन्छ ।

जीवन एक उकालो यात्रा । दुःखबाट सुखतिर, तनाबबाट आनन्दतिर, अँध्यारोबाट उज्यालोतिर, क्षणिकताबाट अमरतातिर जानुमा नै जीवनमा सार्थकताको प्रमाण मिल्छ । भिरको ढुङ्गालाई तल झार्न सजिलो छ, माथि चढाउन महाभारत । जीवन पनि पहाडको एक ढुङ्गा हो जसलाई माथि लैजान अनेकौँ प्रयास ग¥यो कहाँ अलिकति खुस्किन्छ अनि त पुग्छ डङ्ग्रङ्ग पहाडको फेदीमा प्रयासै नगरिकन ।

जीवन सुखका लागि थोरै, सार्थकताका लागि बढी हो । सार्थकताका आ–आफ्नै परिभाषा हुन सक्छन्– भौतिक र आध्यात्मिक । भौतिक रुपमा परिवार, शिक्षादीक्षा, स्वास्थ्य, आधारभूत आवश्यकता परिपूर्ति, सातुसामलको जोहो आदि प्रारम्भिक कुरा हुन् । यसपछि सुरु हुन्छ सार्थक जीवनको कुरा । जुनसुकै क्षेत्रमा होस्, देखिने हुन सक्नु सार्थकताको प्रथम उपलब्धि । औसत उचाइका मान्छे अरुबाट छेलिने रहेछ । औसतभन्दा अग्लो भए सबैले देख्छ । औसतभन्दा तलको त कुरै नगरौँ ।

मलाई सामान्य रुपले देख्दा त उपलब्धि नै उपलब्धि । आधुनिक विज्ञानका उपलब्धिलाई किंवदन्ती जस्तो मान्ने परिवेशमा जन्मे हुर्केको म । बिजुलीबत्ती, गुडीरहेका गाडी देख्न १४ वर्ष उमेर व्यतित गर्नुपरेको थियो मैले । पहिलो पटक ट्रयाक्टर चढेर उदयपुरको बेल्टारबाट सप्तरीको फत्तेपुरसम्म घल्टङ–घल्टङ गुड्दाको आनन्द अहिले बोइङमा यात्रा गर्दा पनि पाउदिन म । एकडेढ घन्टाको त्यो ट्रयाक्टरयात्रा अझ लम्बिए हुन्थ्यो भन्ने सम्झँदै आनन्दको सगरमाथा चढेको थिएँ म त्यसबेला ।

खोटाङ, खार्पाको शारदा माविबाट २०४४ सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गर्दाको खुसीको उचाइ त्यसपछि विश्वविद्यालय टप र विद्यावारिधिका शैक्षिक सफलताले पनि भेटेन । परिवार र समाजले पनि एसएलसीको सफलतामै धेरै उत्सव मनायो । त्यसैले खुसी भन्नु पनि उमेर, परिवेश, सम्बन्धसापेक्ष हुँदा रहेछन्– अर्थशास्त्रको उपयोगिता ह्रास नियमजस्तै ।
बाले बनाइदिएको काठको पाटीमा माटो पिँधेर सालिम्मोको टुक्राले लेखेर शिक्षारम्भ गरेको म, अहिले यो निबन्ध ल्यापटपमा लेखिरेहेको छु । रेडियो सुन्नुबाहेक सूचनाको आधुनिक स्रोत नपाएको मलाई अहिले सेकेण्ड–सेकेण्डमा नयाँ सूचना आएको जनाउ दिन ट्याङ ट्याङ मोवाइल बज्छ । सूचना र यातायात पहुँचका दृष्टिले यो धर्ती म जन्मे हुर्केको खाम्तेल गाउँभन्दा सानो भइसक्यो ।

१४ वर्षको उमेरमा साइकल देख्नु सौभाग्य ठान्ने म अहिले घरबाट बाहिर निस्कँनु पर्दा गाडी तयार छन् । बिहान मिर्मिरेमा उठेर बाँदर खेद्न नपुगे अन्नबालीको नामोनिसान रहन्नथ्यो म सानो छँदा । किसानको छोरो, समय र सिजन अनुसार खेती किसानी नगरे, असघाए पहाडी जीवन नचल्ने । दुई चार पाथी अन्न पञ्चे दोबाटो, बुइपा लगी बेचेर भुक्के चप्पल लाउनुको मजा लिन नपाइने । पहाडी जीवनमा अन्न उत्पादन गाईवस्तुको पुछरमा हुन्छ । त्यसैले घाँस–पराल र गोठालो पनि मनग्गे गरियो । ज्योतिषी बाको छोरा भएकाले हलोचाहिँ जोतिन मैले ।

सहरिया सुखभोगी भइटोपलेको छु म अहिले । कृषि उद्यमीबाट नेपाल सरकारको दानापानी खाने जागिरे हुनु र भौतिक सुख सुविधा, शैक्षिक प्रमाणपत्र र त्यसले दिलाउने पदलाई जीवनको प्रगतिको मापदण्ड मान्ने हो भने जिन्दगीको ग्राफले तुलनात्मक रुपले उकालै देखाउला ।
जीवनको उचाइ यस्ता भौतिक कुरामा नाप्नु मान्छे लिलिपुट यात्रामा जानु हो । हाम्रो सभ्यता, संस्कृति, दर्शन, ज्ञान–विज्ञानले दिशानिर्देश गरेको गन्तव्यमा अघि बढ्न गरेको प्रयासका आधारमा जीवनलाई नाप्ने हो भने म अझै लिलिपुटतिरै रहेको अनुभव गर्दछु ।

आफूमात्र होइन, समाजको सकारात्मक परिवर्तनको सहयात्री हुनु सार्थक जीवनको उपलब्धि हो । आदिकवि भानुभक्त हजुर्बाले भन्नुभएकै थियो नि– मेरा इनार न त सत्तल पाटी क्यै छन्, जे धन र चिजहरु छन् घरभित्र नै छन् । उहाँका सन्तति हामीले यस कुरालाई जीवन सार्थक बनाउने उपक्रमको रुपमा त बुझेकै छौँ, तर मैले इनार खन्ने काम कति गरेको छु या इनार खन्नेहरुलाई कति होष्टेमा हैंसे गर्न सकेको छु त ?

म जति जति सहरिया हुँदैछु त्यति त्यति मेरो परिवेश साँघुरो र सङ्कुचित हुँदै गएको अनुभव गर्दछु– देउरालीको पीपल गमलामा परेजस्तै । मेरो आकाश, घरको छतमा सीमित भएको छ । मेरो धर्ती मेरो घर र कोठाभित्र सीमित भएको छ । बाहिर निस्केर मैले उन्मुक्त सास फेर्ने स्थान हराइसकेका छन् । ढुङ्गाको सिराने लगाएर एक छिन सुस्ताउने बरपीपलको चौतारी छैनन् र फुर्सद समेत छैन मलाई ।

मेरो सामाजिक सम्बन्ध मोवाइलमा सीमित हुँदै गइरहेको छ । यै मोवाइलमा संसार आउने र अटाउने भए पछि बाहिर ननिस्के पनि हुने भएको छ मैले । बाहिर जान नपरेपछि छरछिमेकीसँग जस्तोसुकै सम्बन्ध भए पनि मतलब नहुने स्थिति आएको छ । छिमेकीकोमा आगो लिन जानु पर्दैन मैले । मर्दापर्दा छरछिमेकी भनिन्थ्यो पहिले तर मलामी पनि दुई चारजना भए पुग्ने भएको छ अहिले । मलाई चाहिने सातुसामल मोवाइलबाट घरमै पाउन सक्छु मैले । गगन छुने महल आफ्ना हुँदैनन् भन्ने भुइचालोले चेतावनी दिए पनि सिक्दो रैनछु म । कोरोनाको कहरले यथार्थमा तिमी एक्लो हौ है, तिम्रा आफन्त सधैँ स्थायी हैनन् है, त्यसैले एक्लै बाँच्न, एक्लै नाच्न, एक्लै हास्न र जिन्दगीको लयलाई एक्लै प्राप्त गर्ने हो है भन्ने चेतावनी दिइरहेको भए पनि संयमको साधनातिर लाग्दोरहेनछु म ।

म सिन्धुको एक बिन्दु । साढे सात अर्ब मान्छेमध्येको म एक एकाइ । विश्व ब्रह्माण्डका लागि मेरो अस्तित्व शून्य बराबर । मेरो लागि भने म नै सर्वस्व । म एक सार्वभौम मानव एकाइ, मेरो परिचय नेपाली, नेपाली हुनुले म हुनुको अर्थ दिएको छ । यस पछि मात्र मेरा अन्य परिचयहरु । मभन्दा मेरो समाज, समाजभन्दा देश र देश भन्दा मानवता विशाल छ ।

म आधारभूत रुपमा मानव हुँ । यसैले मानवतालाई मूर्त बनाउनु मेरो पहिलो कर्तव्य । यसपछि मलाई विश्वब्रह्माण्डबाट छुट्टै परिचय दिने मेरो देश, मेरो धर्म, संस्कृति, सभ्यता, दर्शनलाई संरक्षण गर्नु परम कर्तव्य रहेछ भन्ने मलाई बोध भइरहेको छ । उपयुक्त मेरा परिचयहरु हराए भने मेरो अस्तित्व समाप्त भई जडवत् ढुङ्गामा रुपान्तरित हुनेछु ।

भगवान् बुद्ध भन्नुहुन्छ– अप्प दीपो भव अर्थात् तिमी स्वयम दीप होऊ । मभित्र नै छन् दियाहरु । मैले जलाउन कति सकेको छु, कति सक्छु । असत्यबाट सत्यतिर, अध्यारोबाट प्रकाशतिर, मृत्युबाट अमरतामा पुग्ने सामथ्र्य राख्ने र सोही मार्गमा जान मार्गदर्शन गर्ने मेरा पूर्वीय सभ्यताका धरोहरहरुप्रति देशभित्र र बाहिरबाट भइरहेको आक्रमणबाट सदैव आहत छ मेरो मन ।

तमसोमा ज्योतिर्गमयको आदर्शले निरन्तर घच्घच्याइरहन्छ मेरो चैतन्यलाई । भोक्ता भागवतभन्दा द्रष्टा भागवतलाई जगाउन प्रयास गरिरहेछ मेरो चैतन्य । जीवनभर एउटा सत्य र आदर्शलाई आत्मसात् गर्ने तर एउटा सानो लोभले बेहोसी हुनगई जीवन नर्कमय बनाउने गल्ती मबाट कहिल्यै नहोस् भनी प्रार्थना गर्छ मेरो मन ।

सबभन्दा ठूलो कानुन आफ्नै आत्मा हो, चैतन्य हो । चैतन्य अर्थात् आत्मिक कानुन हजारौँ संविधानभन्दा शक्तिशाली र करोडौँ सुरक्षाकर्मी भन्दा तेजिलो हुन्छ । राज्यले हरेकलाई सुरक्षाकर्मी दिन सक्तैन तर आत्मिक कानुन जगाइदिन सक्छ । कहाँ हरायो मान्छेबाट आत्मिक कानुन ? मेरो देशमा आत्मिक कानुन मलीन भएर होला राज्यका नियन्त्रणमा रहनुपर्ने प्रकृतिप्रदत्त स्रोत क्रमशः तिरोहित भइरहेका छन् । यसबाट व्यथित छु म । भोलिका सन्ततिलाई कस्तो धर्ती दिने भन्ने चिन्ता लाग्छ मलाई ।

बेहोसी, विकृति र स्वार्थका यस्ता तमनासक तत्वले जीवनलाई निरन्तर उज्यालोतर्फ लगोस्, मेरो चैतन्य त्यसैको खोजीमा छ । मेरो देश, जनता र गौरवलाई निरन्तर उज्यालो दिइरहने ऋषिमुनिहरु, मेरो शिरलाई कहिल्यै झुक्न नदिने वीर पुर्खाहरु, मेरो सगरमाथा, मेरा बुद्ध र मेरो देशलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने पृथ्वीनारायण र सो एकतामा संस्कारिक एकताको प्राण भर्ने भानु हजुर्वा र यस्तै यस्तै अनन्त विभूतिहरुलाई सम्मान गर्न चाहन्छु म ।

म अरुको खुसीमा कति खुसी हुन सक्छु । म अरुको सुखमा कति सुखी हुन्छु । मानवमात्रलाई उज्यालो दिने मेरो उज्यालो सभ्यता, संस्कृति, वाङ्मय र सोका सूत्रधारप्रति कृतज्ञ बन्न सकेको छु कि छैन म ? उपर्युक्त दिशानिर्देशलाई आत्मसात् गर्न सकेको आधारमा नै मेरो जीवनको ग्राफले गति लेला ।

साथीभाइहरुसँग उज्यालोसँग शिर ठाडो गरेर हिड्न कति सक्छु म ? आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात् आत्माको प्रतिकूल कुरा आचरणमा ल्याउन हुन्न भन्ने सत्य वचन कति आत्मसात् गरेको छु मैले ? यो मध्यावधि समीक्षा यसैमा आधारित रहेको छ । मेरो कलम चौतर्फी गरिबीबाट पिल्सिइरहेका मेरो देशका १८ प्रतिशत अर्थात् ५४ लाख जनताको मुहारमा आशा र उत्साह भर्नमा लागेको छ कि छैन ? चौतर्फी विभेद र पीडाबाट पिल्सिइरहेका निरीहहरुको वाणी बनेर मेरो लेखन अगाडि बढेको छ कि छैन ?

मान्छेको जीवन मिल्नु दुर्लभ छ । यसै भन्छन् विश्वका विद्यमान् धर्मग्रन्थहरु । देह र आत्माको संयोगबाट सिंगो जीवनको संरचना तयार हुने र अनेकन सकारात्मक र नकारात्मक वृत्तिहरुको संग्रामका साथ अघि बढ्ने यस जीवनमा नकारात्मकताको न्यूनीकरण गर्न सक्नुमा नै जीवनको सार्थकता देख्छन् समग्र वेदोपनिषद, पुराण, सद्ग्रन्थहरु । कुनै स्थापित सत्यलाई अस्वीकार गर्न त्यस्तै सत्य प्रमाण पेस गर्नुपर्छ नत्र मान्नु नै श्रेयस्कर छ भन्छ अनुसन्धान सिद्धान्तले ।

मेरो दुःख या सुखको कारक म स्वयम् हुँ । जीवनमा अनुभूति भए मात्र आत्मसात् गर भन्नुहुन्छ बुद्धले । मैले मेरो जीवनलाई पर बसेर हेर्न सक्नुपर्छ । यसबाट मात्र जीवन निरन्तर परिष्कार हुनेछ । मानसिक परिस्कार गर्न सक्नु नै मानवको दुर्लभताको सार्थकता हो । यसलाई टुङ्गोमा पु¥याउनु नै त हो बुद्धको निर्वाण, सनातन धर्मको मुक्ति या ईश्वर प्राप्ति, बाइबलले भनेको लिवरेसन र अरु यस्तै यस्तै ।

यी कुराहरु जानकारीमा नै सीमित राख्ने तर अभ्यासमा नउतार्ने आम मानिस झैँ म पनि उही मिठो सातु पाएपछि त्यसैमा भुल्ने बेहोसीको चालबाट मुक्त हुने प्रयासमा छु म । यसरी हेर्दा मेरो जीवनको ग्राफ त्यति उकालो चढेको लाग्दैन मलाई । जे होस्, उज्याला बत्ती जगाउनु नै सार्थक जीवनको दसी हो । निरन्तर उज्यालोको खोजी अर्थात् चरैवेती, चरैवेती । यस्तै देखियो भागवत आचार्य अर्थात् आफ्नै जीवनको मध्यावधि समीक्षा ।

घाम नलाग्दै यात्रा मेरो टुङ्गिन्छ कि साथी
यौटा बत्ती बालौँ भन्थेँ पुग्न माथि माथि ।

(आचार्य नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment