Comments Add Comment

दैनिक औसत साढे १ अर्बले उठ्दैछ आन्तरिक राजस्व, उकालो लाग्यो वैदेशिक व्यापारको ग्राफ

२४ असार, काठमाडौं । जेठसम्म आन्तरिकतर्फ कर संकलनमा समस्या भोगिरहेको सरकारलाई असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । १ असारपछि सरकारले लकडाउन केही खुकुलो पार्‍यो । त्यसपछि करदाताबाट समेत कर संकलन हुने क्रम बढेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार २२ असार (सोमबार)सम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भइसकेको छ । यसप्रकार असारमा मात्र दैनिक साढे १ अर्ब रुपैयाँको दरले राजस्व संकलन भइरहेको विभागको तथ्यांक छ ।

विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदाताबाट कठिन परिस्थितिका वावजुद राजस्व आउने क्रम जारी रहेको छ । यसले असार महिनामा सरकारलाई ठुलो राहत दिएको छ । भन्सार राजस्व केही कम भए पनि निरन्तर उठेको थियो । तर, आन्तरिक राजस्व भने चैत र वैशाखमा लक्ष्यभन्दा निकै कम उठेको थियो । जसले गर्दा सरकार दबाबमा आएको थियो । जेठ १५ पछि अर्थमन्त्री स्वयंले अर्थतन्त्र निकै चापमा परेको बताएका थिए । अहिले उनको बोली फेरिएको छ । यसो हुनुमा आन्तरिक राजस्वमा देखिएको संतोषजनक संकलन पनि हो ।

लकडाउन खुकुलो भएपछि राजस्व संकलन वृद्धि

लकडाउन केही खुकुलो बनाएपछि राजस्व संकलनमा समेत वृद्धि भएको हो । खासगरी भ्याट तिर्नुपर्ने व्यवसायीको कर जनताकै पैसा भएका कारण यो रकम तिर्नुपर्ने नैतिक दबाव व्यवसायीमा थियो । त्यसमाथि सरकारले समेत रकम उठ्न सक्ने स्थानमा अप्रत्यक्ष रुपमा दबाव सिर्जना गरेको थियो । यसले क्रमशः राजस्व खातामा रकम बढ्दै गएको हो ।

साउनपछि के हुन्छ ?

सर्वोच्च अदालतले सर्वोच्च अदालतले कर तिर्न सक्ने व्यवसायी, व्यक्ति, तथा प्रतिष्ठानलाई लकडाउन पूर्ण रुपमा खुलेको एक महिना भित्र कर तिर्न सक्ने व्यवस्था मिलाउन र तत्काल सेवा तथा उद्योग संचालन सम्भव नभएकाहरुलाई भने कर तिर्ने समय पुनरावलोकन गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशलाई सरकारले असारबाट गणना गरेको छ । सरकारी अधिकारीहरु कर कार्यालय खुलेको समयलाई आधार मानेर १ असारबाट यो समय गणना हुनुपर्ने पक्षमा छन् ।

सर्वोच्चको अर्को फैसला आइसकेको छैन । सोहीकारण सरकारले सर्वोच्चको अन्तरिम आदेश वितरित हुने गरी करदाताका लागि कुनै सूचना निकाल्न सकेको छैन । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार चालु आर्थिक वर्षमा बुझाउनु पर्ने कर सम्भव भएसम्म यसै वर्ष बुझाएमा आगामी दिनमा लाग्न सक्ने जरिवाना तथा थप महसुलबाट जोगिन सकिन्छ ।

असारमा मात्र ५० अर्ब आन्तरिक राजस्व संकलनको लक्ष्य

आर्थिक वर्षको अन्तिम महिना भएका कारण असारमा सामान्यतया बढी राजस्व उठ्छ । सामान्य अवस्थामा असार महिनाका लागि आन्तरिक राजस्व विभागलाई सरकारले दिएको लक्ष्य ५० अर्ब रुपैयाँ हो । २२ दिनमा ३५ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।

वैदेशिक व्यापारको ग्राफ पनि उकालो

लकडाउन केही खुकुलो भएसँगै वैदेशिक व्यापारको ग्राफसमेत उकालो लागेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार ११ चैतमा करीव शून्यमा झरेको वैदेशिक व्यापार अहिले अधिकतम ८५ प्रतिशतसम्म सुधार आइसकेको छ ।
लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थाको तुलनामा वैदेशिक व्यापार ८५ प्रतिशतसम्म सुधार भएको उनले बताएका छन् । यसले जनजीवन सामान्यतर्फ उन्मुख भएको संकेत गर्ने समेत महानिर्देशक दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment