Comments Add Comment

यान्छीको दौडधुप : कूटनीतिक मर्यादाको उपहास

सामान्य अर्थमा कूटनीतिक भनेको राष्ट्र–राष्ट्रबीचको समन्वय दक्षतापूर्वक सञ्चालन गर्ने राष्ट्रहरुको नीति हो । यो एक देश र अर्का देशको बीचमा चल्ने राजनीतिक सम्बन्ध पनि हो । अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीतिलाई कुनै पनि देशको अन्य मुलुकलाई हेर्ने आँखा र सुन्ने कानका रुपमा लिइन्छ । तर, आजभोलि कूटनीतिको अर्थ अन्तर्राष्ट्रिय दाउपेच, व्यवहार र अर्को देशलाई आफ्नो राजनीतिक प्रभावमा पार्ने सीपका रुपमा पनि लिइएको पाइन्छ ।

विश्वव्यापीकरणको युगमा विश्व राजनीतिको घेरा साँघुरिँदै गएको छ । एक देशको राजनीतिले अर्को देशको राजनीतिलाई प्रभाव पारिरहेको छ । यसरी शक्तिशाली मुलुकहरुबीच विश्व राजनीतिलाई आफ्नो पक्षमा पार्ने र शक्ति आफूमा केन्द्रित गर्न होडबाजी चलिरहेका बेला नेपालजस्तो विकासोन्मुख देशले शक्ति होडबाजीको कूटनीतिबाट आफूलाई टाढा राख्दै सबै राष्ट्रहरुसँग समदुरी कायम गरी सन्तुलित हुनुपर्ने बेला हो । तर, नेपालको सत्तारुढ दल नेकपाले आफ्नै पार्टीको आन्तरिक संघर्षमा विदेशीलाई खुल्ला रुपमा आमन्त्रण गर्नु दुर्भाग्यपूर्ण छ ।

कतिपयले छिमेकी राष्ट्र भारतले नेपालमा नियन्त्रित अस्थिरता चाहान्छ भने चीनले नियन्त्रित स्थिरता चाहन्छ भनेका छन् । यी दुवै हाम्रा लागि घातक हुन् ।

पछिल्लो समयमा एकातर्फ नेपालको कूटनीतिक राजनीतिमा एक प्रकारको चिनियाँ हस्तक्षेप बढ्दै जानु, अर्कोतर्फ भारतीय पक्षसँग दिनप्रतिदिन सम्बन्ध चिसिँदै जानुले पनि कूटनीतिक सम्बन्धको पुनर्व्याख्या हुन थालेको छ ।

नेकपाको आन्तरिक झगडामा चिनियाँ राजदूतको निरन्तर भेटघाट अहिले कूटनीतिक मर्यादामा बहसको विषय बन्न पुगेको छ । जब सत्तारुढ दलभित्र शक्ति संघर्ष र आपसी खिचातानी चर्किन थाल्छ, तब नेपालको कम्युनिस्ट पार्टी एवं चिनियाँ कम्युनिस्ट पार्टीबीच लगनगाँठो जोड्नि पुग्छ । कहिले चीनबाट टोली नै आएर सी विचारधाराबारे प्रशिक्षण दिन्छन् त कहिले भर्चुअल बैठकमार्फत अनुभव साटासाट गर्छन् । त्यसैले नेपालको राजनीतिक अब कहाँ जाँदैछ वा कोद्वारा सञ्चालित हुँदैछ भन्ने अहम प्रश्न पनि उब्जिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको माध्यमबाट नेपालमा चिनियाँ शैलीको शासनशैली स्थापना गर्न प्रयास गर्नु संविधानवाद र लोकतन्त्रको प्रतिकुल छ ।

यसभन्दा अगाडि नै जब प्रधानमन्त्री ओलीले दुई विवादित राजनीतिक दल परित्याग र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा सत्तारुढ दलभित्रको आन्तरिक झगडाले ठूलो रुप लिएको थियो । त्यसलाई मिलाउन पनि नेपालका लागि चिनियाँ राजदूतले चाजोपाँजो मिलाएर हाम्रा राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच बार्तालाप गराई अर्का अध्यक्ष प्रचण्डलाई मिलाएको टिकाटिप्पणी पनि नभएको होइन ।

सत्तारुढ दलभित्रको आन्तरिक कलह चर्किरहँदा पुरानै कार्डका रुपमा प्रधानमन्त्री ओलीले एकातर्फ कूटनीतिक मर्यादा विपरीत भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो भन्ने अर्कोतर्फ कूटनीतिक मर्यादा विपरीत आफ्नो घर झगडा मिलाउन चिनियाँ राजदूतको प्रयोग गर्ने नीतिले नेपालको कूटनीतिक मर्यादाको उपहास भएको छ । फेरि नेकपाभित्र शक्ति संघर्ष र आन्तरिक विवाद चर्किरहेका बेला त्यसलाई साम्य पार्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सहजीकरण गरिरहेको उच्च राजनीतिक स्रोतहरुले पुष्टि गरेका छन् ।

उनले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबीच चर्किरहेको विवाद साम्य पार्न बेइजिङको सन्देश लिएर भेटघाट तीब्र पारेकी छिन् । यसै क्रममा उनले क्रमशः असार महिनामा नै १९, २१, २३ गते राष्ट्रपति विद्यादेवी भण्डारी, माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेको कुरा बाहिर आइसकेको छ ।

यसरी संविधानको संरक्षक राष्ट्रपतिजीले पदीय मर्यादा विपरीत एवं पूर्वप्रधानमन्त्री समेत रहेका नेताहरुले कूटनीतिक मर्यादाविपरीत राज्यको कुनै पनि प्रतिनिधिको उपस्थिति बिना आफ्नै निवासमा विदेशी राजदूतसँग भेटवार्ता गर्नुले उनीहरुको कूटनीतिक क्रियाकलापमाथि पनि प्रश्न चिह्न खडा भएको छ । कूटनीतिक मर्यादाको पालना उच्चपदस्थ व्यक्तिहरुले नै गर्दैनन भने, अरुबाट के अपेक्षा गर्न सकिन्छ ?

दुई बेग्ला–बेग्लै पार्टी मिलेर बनेको नेकपा विभाजित नहोस् र वर्तमान सरकार पनि नढलोस् भन्ने बेइजिङ सरकारको सोच अनुरुप नै राजदूतको सक्रियता बढेको सहजै अनुमान गर्न सकिन्छ । यसरी राजदूतले खुला रुपमा गएर नेताहरुको घर घरमा भेट्नु कूटनीतिक मर्यादाको ठाडो उपहास हो ।

अहिले नेपालमा करिब २ तिहाईको सरकारले पार्टीको आन्तरिक विवादलाई वढाएरु शीर्ष नेताहरुले नै बाह्य शक्ति बोलाउन सक्रिय हुनुले पनि कुटनीतिक मर्यादा पालनामा गलत परम्परा स्थापित हुँदै छ, जुन आफैमा चिन्ताको बिषय हो ।

यसरी कुनै पनि दलले आफ्नो स्वतन्त्र हैसियत पार्टीको मर्यादालाई बिर्सेर विदेशी दलाल जस्तै अर्को देशको पार्टीको इसारामा नाच्ने काम हुन्छ भने यस्तो सत्तारुढ दलबाट नेपाली जनताले के अपेक्षा गर्ने भन्ने प्रश्न पनि उब्जिएको छ ।

तर, चिनियाँ राजदूतले हाल गरेको राजनीतिक भेटघाट बारे परराष्ट्र मन्त्रालय बेखबर देखिएको छ । नेपाल र भारबीच सीमा विवाद लगायत अन्य कतिपय बिषयका सन्दर्भमा दुई देशबीच चिसिँदै गएको सम्बन्धमा एक्कासी नेकपाभित्र शक्ति, संघर्ष चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूतले यान्छीले कूटनीतिक आचारसंहितालाई लत्याउँदै सत्तारुढ दलको नेताको घर–घरमा चाहार्दै नेपाल र भारतको सम्बन्धलाई झन जटिल बनाई आगोमा घिउ हाल्ने काम भइरहेको छ । नेपाल दुई छिमेकी देश भारत र चीन बीचको तटस्थ परराष्ट्र नीतिमै आँच पुग्न गएको छ । सत्तारुढ पार्टी र सरकारले आफ्नो पार्टीको समस्या आफैं सुल्झाउँछौं भनी चिनियाँ राजदूतलाई भन्न नसक्नु कस्तो विडम्बना हो ।

पार्टीको आन्तरिक विवादलाई बढाएर शीर्ष नेताहरुले नै बाह्य शक्ति बोलाउनका लागि गलत सन्देश सर्वत्र जानु नेपालको हित विपरीत छ । यसबारे समयमा नै नेकपा र सरकारको ध्यान जान सकेन भने यसले मुलुकको अस्तित्वमाथि नै बाहिरी हस्तक्षेपलाई निम्त्याउँछ ।

परराष्ट्र मन्त्रालयले कुटनीतिक मर्यादा एवं अन्तर्राष्ट्रिय प्रचलन अनुरुप नेपाल सरकारका तर्फबाट विदेशीको माग तथा अन्तर्राष्ट्रिय संघसंस्था र तिनका कूटनीतिक प्रतिनिधि एवं अन्य पदाधिकारीहरुको औपचारिक भेटघाट, वार्ता, सम्बन्ध र सञ्चारलाई व्यबस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने उद्देश्यले मन्त्रिपरिषदको निर्णय अनुसार कूटनीतिक आचारसंहिता २०६८ जारी गरिएको थियो ।

उक्त आचारसंहिताको ४ नम्बर वुँदामा नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकार वा त्यहाँका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिमार्फत गर्नुपर्ने उल्लेख छ ।

तर, परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति बिना आचारसंहिता विपरीत चिनियाँ राजदूत र शीर्ष नेताबीच भएको आन्तरिक भेटवार्ताले कूटनीतिक सीमाको उपहास गरेको छ । उक्त घटनाले नेपालको आन्तरिक कूटनीतिक राजनीतिमा विभिन्न अप्ठ्याराहरु निम्त्याउने देखिन्छ ।

नेपालको कूटनीतिक मर्यादामा आँच

प्रत्येक राष्ट्रका आफ्नै कुटनीतिक मर्यादाहरु हुन्छन् । तर, पार्टीको आन्तरिक विवाद र शक्ति संघर्षमा परराष्ट्र मन्त्रालयको उपस्थितिबिना चिनियाँ राजदूतलाई सक्रिय बनाइनु नै नेपालको राजनीतिक एवं कूटनीतिक मर्यादामा आँच पुर्‍याउनु हो । यसले मुलुकको सार्वभौमसत्ता र अखण्डतामाथि पनि आँच पुर्‍याएको छ ।

नेपालको राजनीतिमा बाह्य हस्तक्षेप

जीवन्त पार्टीभित्र नेतृत्वले सही नेतृत्व दिन नसक्दा आन्तरिक किचलो र मतमतान्तर हुने गर्छन् । त्यसको निरुपण पनि आफ्नै पार्टीका शीर्षस्थ नेताहरु आफंै बसेर गर्नुपर्छ । तर, पछिल्लो कालमा जनतालाई मिठो सपना वाढेर सत्तासीन हुन पुगेको नेकपाले आपसमा मिल्न नसकी आफ्नो आन्तरिक राजनीतिमा राजदूतलाई प्रवेश गराउनुले अब नेपालको राजनीतिमा वाह्य हस्तक्षेपलाई खुला रुपले आमन्त्रण गरेजस्तो भएको छ ।

दुई छिमेकी राष्ट्रबीच द्वन्द्व

नेपाल दुई छिमेकी राष्ट्र उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा रहेको छ । अवश्य नै दुई देशको भू–राजनीतिले नेपालको राजनीतिमा प्रभाव पार्न खोज्नु अस्वाभाविक होइन । तर, पछिल्लो समयमा नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गरिएको सन्दर्भमा नेपाल र भारतबीच सम्बन्ध चिसिएका बेला फेरि चिनियाँ राजदूतको सक्रियताले दुबै देशको सम्बन्धमा नयाँ द्वन्द्व आउने सम्भावना देखिन्छ ।

भारतीय सञ्चार एजेन्सीले राजदूत यान्छीले फेरि एक पटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेका छन् । आइएनएसले राजदूत यान्छीले काठमाडौं कूटनीतिलाई नै पुर्नभाषित गरेको र भारतसँगको विवादित भूमिकालाई समेटेर प्रधानमन्त्री ओलीलाई नयाँ नक्सा जारी गर्न लगाएको दोषारोपण पनि गरेको छ ।

नेपालको स्वतन्त्र अस्तित्वमाथि खतरा

नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न स्वाधीन तथा स्वायत्त राष्ट्र हो । राष्ट्रको अस्तित्वमाथि आँच पुर्‍याउने विदेशी हस्तक्षेपलाई कहिल्यै पनि स्वीकार गर्दैन ।

तर, पछिल्लो कालमा आफ्नो विचारधारा मान्नुपर्दछ भनेर अवाञ्छित क्रियाकलाप गर्ने एवं आन्तरिक झगडामा पनि संलग्न हुनुले नेपालको स्वाधिनता र संविधानबादमाथी ठाडो हस्तक्षेप गरेको छ ।

कूटनीतिक मामिलामा नेपालले जहिले पनि सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ । नेपालको परराष्ट्र नीति असंलग्न परराष्ट्र नीतिमा आधारित छ । तर, सत्तारुढ दलले कूटनीतिक मामिलामा अपरिपक्वता देखाएको देखिन्छ । सुरुवाती दिनमा भेनेजुएला प्रकरण र अहिलेको चिनियाँ राजदूत भेटघाट प्रकरणले कूटनीतिक मामिलामा अपरिपक्वता देखाएको छ ।

कम्युनिस्टकरणको प्रयास

ओली सरकारको अढाई वर्षको गतिविधि र क्रियाकलापलाई नजिकैबाट निहाल्ने हो भने एकमात्र पार्टी भएको चिनियाँ कम्युनिस्ट पार्टीसँग बहुदलिय संसदीय व्यबस्थामा सत्तासिन हुन पुगेका नेकपा कम्युनिस्ट पार्टीले बारम्बार गोष्ठी भेटघाट बाक्लो तरिकाले गरिनु र आन्तरिक झगडा मिलाउन पनि संलग्न हुनुले कम्युनिस्ट करण हुने सम्भावना देखिन्छ ।

नेपालमा ठूलो परिवर्तनपश्चात मात्र जनताको सार्वभौम सत्ता, संसदीय बहुदलीय व्यबस्था स्थापित भएको छ र नेपालको आन्तरिक मामिलामा विदेशीको कालो छायाँ पर्न थालेपछि नेपाली राजनीतिमा विदेशी घुसपैठ र हस्तक्षेपले आन्तरिक राजनीतिमा विकृति भित्र्याएको छ ।

(संग्रौला प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment