Comments Add Comment

महामारीबीच अमेरिकी चेन होटेल ब्रान्ड ‘विन्ड्हृयाम’ नेपाल भित्रिँदै

२४ असार, काठमाडौं । अमेरिकी चेन होटेल तथा रिसोर्ट ब्राण्ड विन्ड्हृयाम नेपाल भित्रिने भएको छ । काठमाडौंको ठमेलमा निर्माण भएको ‘रमाडा इनकोर बाई विन्ड्हृयाम’का रुपमा यो ब्रान्ड नेपाल भित्रन लागेको हो ।

पछिल्लो समय विन्ड्हृयामले दक्षिण एसियाली मुलुकहरुमा आफ्नो चेन विस्तार गरिरहेको छ । हालै भारतमा आफ्नो चेन होटेल स्थापना गरेको  विन्ड्हृयामले नेपाल र भुटानमा चेन बिस्तार गर्न लागेको सार्वजनिक गरेको हो ।

संसारका ठूला चेन होटेल ब्राण्ड मध्ये एक ‘विन्ड्हृयाम’ले करीव दुई दर्जन ‘ब्राण्ड नेम’मा संसारभर होटेलहरु चलाइरहेको छ । ९० देशमा ९ हजार ३ सय होटेल प्रतिष्ठान यस कम्पनीको छातामुनी संचालनमा छन् ।

भारतको द्वारकामा हालै चेन होटेल सञ्चालनमा ल्याएको यस कम्पनीले अब नेपाल र भुटानमा ब्राण्ड स्थापनाको घोषणा गरेको हो । विन्ड्हृयामको व्यवस्थापनमा संसारभर ८ लाख २८ हजार कोठा सञ्चालनमा छन् ।

नेपालमा अगष्टबाट सेवा

ठमेलमा भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको यो होटेलले अगष्ट २०२० बाट नेपालमा सेवा संचालनको घोषणा गरेको छ । पछिल्ला वर्ष नेपाल र भुटानमा पर्यटकको बढ्दो चापसँगै होटेल सञ्चालनको निर्णय लिएको कम्पनीको भनाइ छ ।

भुटानको थिम्पुमा भने मार्च २०२१ सम्म होटेल सञ्चालनमा आइसक्ने भएको छ । ठमेलमा बनेको होटेलमा कुल ९० कोठा छन् । लक्जरी सुविधासहित होटेल संचालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यो होटेलमा करिव १ अर्ब भन्दा माथिको लगानी रहेको छ । यो होटेल वर्गीकरण अनुसार चार तारे स्तरको हुने बताइएको छ । पोखरामा डालिया बुटिक होटेल चलाइरहेकै व्यवसायीको समुहले रमाडामा समेत लगानी गरेको हो ।

विन्ड्हृयामले सन् २०२०भित्रै भारतको द्वारका, पुने र उत्तर प्रदेशको अलिग्रामा होटेल सञ्चालनमा ल्याएको छ । अहिले संसारभर होटेल तथा पर्यटन व्यवसाय करिव ठप्प छ । तर, पछिल्ला दिनमा यूरोपबाट पर्यटन क्रमशः सूचारु हुने क्रममा रहेको छ ।

नेपालमा समेत नेपाल पर्यटन बोर्डले होटललगायत पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउने तयारीमा छ । कोरोना भाइरसको महामारी कम भएसँगै ठूलो लगानीमा आएका होटेलहरु क्रमशः व्यापार बढ्ने अपेक्षामा छन् ।

यस परिस्थितिमा विन्ड्हृयामले नेपालमा सेवा बिस्तारको सकारात्मक सन्देश प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment