Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स’ प्रसारणको तयारीमा हिमालय टीभी

कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरूले लोकप्रिय स्टारहरूको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ ।

‘हामीले सबैै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने- ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’

२६ श्रृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिष्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एक जना बाहिरिँदै जान्छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने–‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा ‘डान्सिङ विथ दि स्टार’ सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं ।’

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने ‘डान्सिङ विथ दि स्टार्स’ बहुचर्चित पारिवारिक रियालिटी सो हो । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रूपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । दर्शकहरूको भोट र निर्णायकहरूको मूल्याङ्कनका आधारमा हरेक हप्ता एक जना कार्यक्रमबाट बाहिरिनेछन् ।

नेपालको अग्रणी बिजनेस ग्रुप आईएमईले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैङ्क पावर्डबाई स्पोन्सर छ । एसोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल लाइफ इन्स्योरेन्स, अनलाइनखबर, नेपाल होम्स डटकम सहभागी छन् । आफ्ना मनपर्ने प्रतिष्पर्धीलाई आईएमई पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘दि भ्वाइस अफ नेपाल’ ‘दि भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता चर्चित रियालिटी सोहरू प्रसारण गर्दै आएको छ । ‘डान्सिङ विथ दि स्टार्स’ प्रसारण सुरु भएसँगै ‘भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment