Comments Add Comment

साउनदेखि विद्यार्थी भर्ना गर्न पाउनुपर्ने निजी विद्यालयहरूको माग

२६ असार, बुटवल । रुपन्देहीका निजी विद्यालय सञ्चालकहरुले साउनदेखि विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गरेका छन् । कोभिड-१९ को जोखिमको कारण चैतदेखि विद्यालयहरु बन्द हुँदा शुल्क उठाउन नपाउँदा शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन नसक्दा समस्या भएको भन्दै विद्यार्थी भर्ना गर्न र शुल्क उठाउन दिनुपर्ने उनीहरुको माग छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले शुक्रबार स्थानीय तहका सरोकारवालासँग गरेको अन्तरक्रियामा उनीहरुले कोरोना संक्रमण फैलिन नदिने स्वास्थ्य सुरक्षा उपाय अपनाएर साउन १ देखि भर्ना खोल्न पाउनुपर्ने माग गरेको हो ।

शैक्षिक सत्रको १२ महिनामध्ये १० महिनाको शुल्क लिन पाउनुपर्ने र शिक्षक कर्मचारीलाई ११ महिनाको तलब दिन आफूहरु तयार रहेको प्याब्सनको भनाइ छ । यसका लागि सरकारले औपचारिकरुपमा मार्ग प्रशस्त गरिदिनुपर्ने प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताए ।

चैतदेखि विद्यालय बन्द भएकाले वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना गर्न नपाउँदा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको र शिक्षकहरु आन्दोलित हुन थालेकाले भर्ना सुरु गर्न पाउनुपर्ने अध्यक्ष पौडेलले माग गरे ।

‘शुल्क उठाउन नपाउँदा रुपन्देहीमा मात्रै २७० बढी निजी विद्यालयका करिब ६ हजार शिक्षक कर्मचारी तलब खान नपाएर आर्थिक समस्यामा परेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘सरकारले लकडाउन मात्रै बढायो, यसको मारमा परेका वर्ग र समुदायका समस्याबारे मौन छ ।’

रूपन्देही जिल्लाका निजी विद्यालयहरुमा मात्रै करिब ६५ अर्ब रुपैयाँ लगानी रहेको उनले बताए । अन्तरक्रियामा एन प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले लकडाउनका कारण विद्यालय क्षेत्रमा सिर्जित समस्या समाधानमा सरकार उदासीन रहेको गुनासो गरे ।

अनलाइन कक्षा सञ्चालन गर्न सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नभएका र विद्युत आपूर्ति पनि अनियमित हुने हुँदा अनलाइन कक्षा प्रभावकारी नभएकाले साउनदेखि विद्यालय सञ्चालन गरेर सुरक्षित ढंगले दिनमा तीन सिफ्टमा भए पनि पढाइ सुरु गर्नुपर्ने उनले माग गरे ।

अन्तरक्रियामा हिसान नेपालका निर्देशक प्राध्यापक डा. रामचन्द्र आचार्यले सरकारले अभिभावकीय भूमिका निर्वाह गरेर यथाशीघ्र विकल्प दिनुपर्ने बताए । उनले विद्यालयहरुले पनि जगेडा कोष स्थापना गर्नुपर्ने पाठ कोरोेना महामारीले सिकाएको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल,बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत टिकाराम पन्थीले कोरोना संक्रमणको दर घट्दै गएकाले सम्भवतः भदौदेखि विद्यालय सञ्चालन गर्न सकिने बताए । स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएकाले अब एक महिना धैर्य गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल,अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा र सचिव लक्ष्मण ज्ञवालीले सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment