Comments Add Comment
नेपालमा कोभिड-१९ :

दुई अंकमा झर्‍यो नयाँ संक्रमितको संख्या, सक्रिय संक्रमितभन्दा निको हुने धेरै

२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीको खतरा कायमै रहेका बेला शनिबार दुई सकारात्मक संकेत मिलेको छ । त्यो हो, नयाँ संक्रमितको संख्या दुई अंकमा झर्नु र सक्रिय संक्रमितभन्दा निको हुने धेरै हुनु ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको हो । माघ ९ मा पहिलो र चैत १० मा दोस्रो संक्रमित भेटिएको नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंकमा सिमित थियो ।

तर जेठ १४ गते पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितको संख्या १०० नाघ्यो । ३५८० नमुना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

एकै दिन सबैभन्दा धेरै संक्रमित असार १९ मा भेटिए । त्यो दिन ४ हजार ४८३ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसयता निरन्तर घटेको छ । र, शनिबार आइपुग्दा यो घटेर ७० मा झरेको छ । २८ जिल्लामा संक्रमित थपिएका छन्, तर सबैभन्दा धेरै संक्रमित भेटिएको दाङ र सिन्धुपाल्चोकमा ५/५ जना छन् ।

जनस्वास्थ्य विज्ञहरुले भने दैनिक थपिने संक्रमितको संख्या घट्दैमा जोखिम टर्‍यो भन्न मिल्दैन । किनकी अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिएको थियो । समुदाय स्तरमा व्यापक परीक्षण नै हुन सकेको छैन । समुदाय स्तरमा परीक्षण बढाउादा संक्रमितको संख्या फेरि बढ्न सक्ने उनीहरु बताउँछन् ।

सक्रिय संक्रमितभन्दा निको हुने धेरै

यस्तै शनिबार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितभन्दा निको हुनेहरुको संख्या पनि धेरै भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरहरुबाट ४३१ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

अब देशभरका आइसोलेसन सेन्टरहरुमा ८ हजार २३९ संक्रिय संक्रमित छन् ।

सावधानी अपनाउन सरकारको अपील

स्वास्थ्य मन्त्रालयले कोरोना आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अपील समेत गरेको छ ।

शनिबार नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आग्रह गरे ।

सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्न, सबै सर्वजनिक स्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउन आग्रह गरेका हुन् । साथै प्रत्येक दिन कार्य प्रारम्भभन्दा पहिला अनिवार्य रुपमा ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएमा काममा नलगाउने, दैनिक हाजिरी राख्ने कार्यालयले ‘फेस रिडिङ’बाट हाजिर गर्ने व्यवस्था मिलाउन तथा खोकी तथा श्वासप्रश्वास भएका व्यक्तिलाई काममा नलगाउन भनेका छन् ।

हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उनले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न सुझाए ।

धेरै प्रयोग हुने ढोका, मेशिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न पनि उनले आग्रह गरेका छन् । उनले भने, ‘अहिले लिएको सामान्य सावधानीले मानव जीवनलाई जोगाउन ठूलो सहयोग पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment