Comments Add Comment

प्रदेश १ मा बाढी पहिरो : १३ जना बेपत्ता, तीनजनाको जिवितै उद्धार

२८ असार, विराटनगर । शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् ।

आइतबार बिहान करिब २ बजे राति संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेसिन्दामा ९ वटा घर पहिरोले बगाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार पहिरोमा पुरिएका तीनजनाको जिवितै उद्धार भएको छ । बेपत्ताको खोजीकार्य जारी छ ।

उद्धारमा खटिएका व्यक्तिको मृत्यु

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सिलिचोङको पहिरो गएको स्थानमा स्थानीय मदन राईको मृत्यु भएको छ । पहिरोमा परेकाहरुको उद्धारमा खटिएका राईको बिहान करिब साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक पोखरेलले भने, ‘पहिरो खसेदेखि उनी उद्धारमा खटिएका रहेछन् । उद्धारमा खटिरहेकै समयमा उनको अचानक मृत्यु हुन पुग्यो । उनको मृत्युको कारण खुल्न सकेको छैन । ‘

पहिरोमा ७९ वर्षीय गोवा सिंह राईको घर बगाएको छ । घरसँगै बगेका उनको बायाँ हात र टाउकोमा गम्भीर चोट छ । राईसहित उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी राईलाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।

स्थानीय ६० वर्षीय राममान राईको घर पनि बगाएको छ । उनको श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१ वर्षीया एन्जीला राई र ११ वर्षीया नम्रता राई बेपत्ता छन् । एन्जिला गर्भवती थिइन् ।

जुद्धबहादुर राईको घर बगाउँदा उनकोे श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृती राई बेपत्ता छन् । गोठमा गएका कारण जुद्धबहादुर जोगिएका छन् ।

५२ वर्षिय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई घरसँगै बेपत्ता भएका छन् । ७० वर्षीया नजमाया राईको घर पनि बगेको छ । ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता छन् ।

स्थानीय सन्दीप राई र सुभधन राईको घर पुरै बगाएको छ । उनको परिवार भने सम्पर्कमा आएका छन् ।

बाढीले बगाउँदा दुईजना बेपत्ता

आइतबार बिहान सप्तकोशी नदीमा १३ वर्षिय बालक बेपत्ता भएका छन । आइतबार बिहान सप्तकोशीमा बाढीसँगै आएको दाउरा निकाल्न नदीमा पसेका १३ वर्षिय अनिल बस्नेत बेपत्ता भएका हुन ।

सुनसरी बराहक्षेत्र नगरपालिका– ६ बोराबानमा कोशी किनारा स्थित दाउरा खोज्ने क्रममा देवीघाट बस्ने गौवाबहादुर बस्नेतका छोरा अनिल दाउरा निकाल्न खोज्दा नदीले बगाएको थियो ।

शनिबार दिउँसो झापाको भद्रपुरका ३३ वर्षीय पुरुष मेची खोलामा बेपत्ता भएका छन । भद्रपुर नगरपालिका– ३ नाउगाटका राई नुहाउने क्रममा बेपत्ता भएका हुन । तीन स्थानमा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment