Comments Add Comment

कर्णालीका संसदीय समितिले २७ महिनापछि पाए नेतृत्व

२८ असार, सुर्खेत । कर्णालीको  प्रदेशसभाका चारवटा संसदीय समितिले गठन भएको २८ महिनापछि नेतृत्व पाएका छन् । समितिको आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

सार्वजनिक लेखा समितिको अध्यक्षमा यसअघि ज्येष्ठ सदस्यको हैसियतले नेतृत्व गरिरहेका कांग्रेस सांसद दीनबन्धु श्रेष्ठ चएन भएका छन ।

अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिमा नेकपाकै सांसद दानसिं परियार र सामाजिक विकास समितिमा पनि नेकपाकै सांसद देवी वली सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौँ बैठकले चारवटा समिति गठन गरेको थियो । तर विभिन्न कारण देखाउँदै करिब साढे २ वर्षसम्म समितिले नेतृत्व पाउन सकेको थिएन । यसअघि ज्येष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए ।

कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची-५ बमोजिम समितिका चारैजना अध्यक्षले आइतबार नै पद तथा गोपनियताको सपथ तथा पदभार पनि ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख राजबहादुर शाहीले सपथ खुवाएका हुन् ।

नव निर्वाचित अध्यक्षहरुले अब कानुन निर्माण गर्दा जनताका माझ छलफल गराई जनपक्षीय कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक विकास समितिकी अध्यक्ष देवी वलीले समितिको कार्ययोजना नै बनाएर अब बाँकी कार्यकालमा उत्कृष्ट काम गर्ने दाबी गरिन् ।

सरकारको कामको निगरानी गर्ने भन्दै विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिं परियारले सरकारलाई लगाम लगाउने काम गर्ने बताए ।

प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले पनि कानुन निर्माण गर्दा जनताका माझ छलफल गर्ने कामलाई तिव्रता दिइने उल्लेख गरे ।

सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले आफ्नै नेतृत्वमा अहिलेसम्म प्रभावकारी काम गरेको भन्दै आगामी दिनमा पनि थप निखारताका साथ काम गर्दै सरकारको कामलाई पारदर्शी बनाउन समितिले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment