Comments Add Comment

भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

२८ असार, काठमाडौं । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृंखल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित उच्छृंखल सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

भारतीय सञ्चार माध्यम जीन्यूज, विहारले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर उच्छृंखल सामग्री प्रकाशित गरेको थियो । अन्य भारतीय सञ्चार माध्यमहरुले पनि झुटा समाचारहरु प्रसारण गर्दै आएका छन् ।

यसले नेपाल र यसको नेतृत्वको अपमान गरेको भन्दै प्रोटेस्ट नोटमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमको एउटा हिस्साबाट भइरहेको यस्तो घिनलाग्दो अभियानले नेपाली जनताले नेपाली नेतृत्वको चरित्रलाई गहिरोसँग आघात गरेको छ ।’

सञ्चारमाध्यमहरुको यस्तो घृणाजन्य र अशिष्ट क्रियाकलापले दुई देश र यसका नेतृत्वको मित्रवत सम्बन्धविरुद्धमा काम गर्ने नोटमा उल्लेख छ ।

यस्तो छ प्रोटेस्ट नोटको भावनुवाद :

भारतका केही मिडियामा देखिएका दुर्भावनापूर्ण सामग्रीहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी सामग्रीहरु झूटा, आधारहीन र संवेदनहीन हुनुका साथै नेपाल र यसको नेतृत्वको अपमान गर्ने खालका छन् । यस्ता सामग्रीहरुले दिग्भम्रित र कुसुचुत गर्नुका साथै सभ्य समाजमा अपेक्षित न्यूनतम सार्वजनिक शिष्टता एवं मर्यादाको उल्लंघन गरेका छन् । भारतीय सञ्चारमाध्यमको एउटा हिस्साबाट भइरहेको यस्तो घिनलाग्दो अभियानले नेपाली जनताले नेपाली नेतृत्वको चरित्रलाई गहिरोसँग आघात गरेको छ ।

नेपाल र भारतको द्विपक्षीय सम्वन्धको लामो इतिहास छ जसको सामाजिक–सांस्कृतिक सम्पर्क, जनस्तरको सम्वन्ध र एक–अर्काको संवेदना महत्वपूर्ण तत्व हुन् । यी गहन एवं बहुआयामिक सम्वन्धहरु पारस्परिक हित तथा चासोका आपसी सम्मान एवं सार्वभौम समानता, मित्रता र समझदारीका सिद्धान्तमा आधारित छन् । यी सम्बन्धहरुलाई थप अगाडि बढाउन सञ्चारमाध्यमले सही सूचना एवं विचारहरुको प्रवाहद्वारा रचतात्मक भूमिका खेल्न सक्छन् ।

हामीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै गर्दा यस्ता स्वतन्त्रताले न्यूनतम मर्यादा र नैतिकताको सीमारेखा नाघ्नु हुँदैन । यस्तो झूट, काल्पनिक र घृणित सामग्रीले नेपाल र नेपालीको अपमान गर्नुका साथै २१ औं शताब्दीमा दुई देशका जनताको पारस्परिक फाइदाका लागि द्विपक्षीय सम्व्न्धको बलियो आधारशिला निर्माण गर्न दुई देशका नेतृत्वबीच भएको घोषित समझदारी विपरित पनि छन् । सञ्चारमाध्यमहरुको यस्तो घृणाजन्य र अशिष्ट क्रियाकलाप दुई देश र यसका नेतृत्वको मित्रवत सम्बन्ध विरुद्धमा काम गर्छन् । यसले धेरै पुस्तासम्म आमजनतामा आक्रोश र घृणाको सञ्चार गर्न सक्छ ।

नेपालका बारेमा यस्ता घृणित सामग्रीहरु प्रशारण गर्ने सञ्चारमाध्यमविरुद्ध तत्काल कदम चाल्न र आगामी दिनमा यस्ता सामग्री स्थान नपाउने सुनिश्चित गर्न अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment