Comments Add Comment

महानायकका नाममा

अविछिन्न नेपाली चलचित्र क्षेत्रको विकासका लागि नायक राजेश हमालको ठूलो योगदान छ । हमालले यस क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन काहीँ न काहीँ गएर हुनुपर्ने थियो । चलचित्रको बाटो नै नकोरिएको समयमा उनले नायकको भूमिका देखाए । अरूले बनाएको बाटोमा हिँड्न त कठिन ठानेर खुट्टा कमाउने मान्छेको स्वभावका कारण यो बाटो बनाउन निकै चुनौतीपूर्ण थियो । यसका लागि एक नायक नै चाहिन्थ्यो । जुन नायक बनेर नेपाली चलचित्रमा आए राजेश हमाल ।

नेपाली हास्य कलाकारिताका पिता मदनकृष्ण श्रेष्ठले ‘महको म’ मा आफूले त्यस क्षेत्रमा गरेको संघर्ष उल्लेख गरेका छन् । मह जोडीपछि धेरै उल्लेखनीय अभिनय गर्ने व्यक्तिको पनि आज त्यस क्षेत्रमा जन्म भइसकेको छ। एक समय थियो, कलाकारहरू ठूलाबडाको चाकरी गर्ने र उनलाई मनोरञ्जन दिने साधनजस्ता बनेका थिए । बक्सिसको लागि धेरै कलाकारले कला बेचे । त्यसमा पनि हास्यकलाकारिता, नृत्य, नाटक र गायन प्रमुख थिए । त्यहाँबाट बाहिर निस्किएर व्यावसायिक बनाउन यस पेसालाई ठूलो साहास भएको व्यक्ति चाहिन्थ्यो, जुन आवश्यकतालाई महजोडीले पूरा गर्‍यो । महको ममा मदनकृष्णले आफ्नो कलाको पारिश्रमिक लिएको थाहा पाएपछि स्वरसम्राट नारायण गोपालले पनि ‘अब म पारिश्रमिक नलिई गाउँदिन’ भनेको कुरा उल्लेख छ । त्योभन्दा अगाडि कलाको कुनै मूल्य नै रहेनछ भन्ने हामीले बुझ्न सक्छौँ । हास्य कलाकारिताको क्षेत्रमा आउने आजका जो कोहीले पनि उनको योगदान भुल्यो । अर्थात् उनका कमीकमजोरी मात्रै देखाएर आलोचना गर्न खोजियो भने भोलिका दिनमा त्यो क्षेत्र कहाँ पुग्ला ?

सफल र असफलता मापन गरे आधार केलाई बनाउने ?

व्यक्तिको जीवनमा हजारौं घटना घट्छन् । हजारौं खेल हुन्छन् । कति खेल समयले खेल्छ । कति आफैँ खेलिन्छ । हजारौं खेल खेलेर एकदुई खेलमा सफल भइयो भने त्यसैलाई सफल मान्ने कि ? हजारौं खेल असफल हुँदा पनि मैदान नछाड्ने र त्यो क्षेत्र रक्षा गरिराख्नेलाई सफल मान्ने ? यो एउटा गम्भीर कुरा हो । यसको लेखाजोखा समय र इतिहासले गर्छ । आज कुनै व्यक्तिले कसैलाई मान्नु वा नमान्नुले त्यति महत्त्व राख्दैन कि ?

स्वरसम्राट नारायण गोपाललाई यो उपाधि कसले दिएको ? यो उपाधि कहाँ दर्ता गरिएको छ ? पीएचडी गरेका व्यक्तिलाई डाक्टर भन्नेजस्तो पनि कुनै मापदण्ड कलाकारितामा निर्धारण गरिएको पनि छैन क्यार ? यसका बारेमा कसैले कतै बहस गरेको पाइँदैन । यस्ता थुप्रै व्यक्तिलाई यस्तै प्रिय शब्दले सम्बोधन गरिएको छ । त्यो कसले गरेको ? के सरकारले गर्न लगायो ? होइन । यी सबै जनताले पाएका शब्द हुन्, सम्बोधन हुन् । त्यस्तै, राजेश हमाल अहिलेका सुपरहिट महानायक नहोलान् तर उनी नेपाली चलचित्र प्रेमीका महानायक हुन् ।

चलचित्रको विकासमा दिपाश्रीको योगदानलाई पनि बिर्सिएर समीक्षा गरियो भने त्यो पनि अधुरो हुन्छ, अपूर्ण हुन्छ । उनी हाम्रो समाजका ती उदाहरणीय नारी हुन् । जसले हाम्रो चलचित्रमा नारी क्रान्ति नै गरिन् । उनीबाट प्रेरणा पाएर या उनलाई नै उदाहरण दिएर पछिल्लो समय थुप्रै अब्बल र सम्भावना बोकेका नारी चलचित्र(कलाकारिता) क्षेत्रले पाएको छ । उनका निमित्त राजेश हमाल महानायक नहुनु कुनै ठूलो कुरा होइन । उनी आफू पनि पुरुषप्रधान समाजकी एक नारी महानायक नै हुन् । ढिलो होला तर उनको योगदानको पनि एकदिन समीक्षा जरूर हुनेछ । राजेश हमाललाई मन पराउने र दिपाश्रीलाई मनपराउने दर्शक फरक होलान् । राजेश हमालले विकास गरी ल्याएको र दिपाश्रीले खोजेको चलचित्रको विकासमा पनि अन्तर होला । अन्तर हुँदैमा एकले अर्काको आलोचना गर्ने कसैले इतिहास नहेर्ने र कसैले वर्तमान नहेर्ने गरेपछि भोलि यस क्षेत्रको भविष्य कहाँ पुग्ला ? आउने पुस्ताले कसरी सम्झिएलान् ?

दर्शकका लागि हरेक कलाकारको स्थान बराबर ठाउँमा हुनुपर्छ । आफ्नो क्षेत्रमा सबैले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म योगदान दिएकै हुन्छन् । कसैको धेरै कसैको थोरै भए पनि योगदान, योगदान नै हो । हरेक कामदारलाई आफ्नो कर्मथलो प्यारो लाग्छ । कलाकारका लागि कलाकारिता क्षेत्र कर्मथलो हो । यसमा हिजो आएकालाई तैंले फलानाको जति योगदान गरेको छैनस् भनियो भने यो कस्तो मूल्याङ्कन होला ? इतिहास बचाउन वर्तमान र भविष्य पनि चाहिन्छ । इतिहास त्यतिबेलामात्रै इतिहास हुन्छ जब त्यो पुस्ता हस्तान्तरण हुन्छ । नत्र त यसको अर्थ के होला ? मेरो राजेश र दिपाश्रीप्रति समान सम्मान छ ।

राजेश हमालले चलचित्रमा इतिहास बनाएका छन् । उनले एक खाल्डोबाट नेपाली चलचित्रलाई माथि उठाएका छन् । उनीभन्दा पछि आउने कतिले त अमेरिकी ग्रिन कार्ड लिइसके । राजेशजीले पनि यहीँबाट रोजेको भए चलचित्रको स्थान कहाँ हुन्थ्यो ? आज हामीलाई खोज्न पनि मुस्किल हुने थियो । उनी पर्दामा देखिएका सिनेमा कम चले होलान् । त्यसलाई त्यतिबेलाको समय, समाजको चेत, विकसित मनोविज्ञानसँग पनि जोडेर हेर्नुपर्छ । जुनबेला उनले चलचित्र खेले त्योबेला नेपालमा सिनेमा घर कति थिए होलान् ? हाम्रो आर्थिक अवस्था अहिले त यस्तो छ भने त्योबेला कस्तो थियो होला ? आजका दिनमा पनि कुनै चाडपर्वबाहेक अरूबेला प्रदर्शनमा आउने चलचित्रलाई लगानी उठाउन सकस हुन्छ भने त्यो बेला झन् कस्तो थियो होला ?

मान्छेमा राजेश हमालको पालामा चलचित्र हेर्ने बानी नै थिएन । काठमाडौंलगाएतका केही सहरका मान्छेबाहेक अन्य ठाउँका मान्छेलाई चलचित्रबाट पनि मनोरञ्जन हुन्छ भन्ने चेत नै थिएन । यस्तो कठिन परिस्थितिलाई पनि खेपेर तीन दशक लामो चलचित्रमा योगदान दिने व्यक्ति साँच्चिकै महानायक नै हुन् । उनको योगदानबारे चलचित्र क्षेत्रमा जति तारिफ गरे पनि कम हुन्छ । अब चलचित्रले नयाँ महानायक खोजिरहेको छ । जसले राजेश हमालबाट पाठ सिकेर छिट्टै हामी माझ आओस् ।

जय नेपाली चलचित्र !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment