Comments Add Comment

अर्घाखाँची, प्युठान र दाङमा खोलाले बगाएर तीन जनाको मृत्यु

२८ असार, बुटवल । भारी वर्षासंगै बढेको खोलाले बगाएर अर्घाखाँची, प्युठान र दाङमा एक–एकजना गरी तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ बेलाउतेस्थित राप्ती नदी तर्ने क्रममा प्युठान मल्लरानी गाउँपालिका ५ खैरा बस्ने बर्ष २७ को दीपक रोकालाई खोलाले बगाएर मृत्यु भएको हो ।

उनको शब आइतबार दिउँसो दाङको सिसनियाको बगरमा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिका ५ बेलडाडाका २७ वर्षका दीपक थापा झिमरुक खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा आइतबार दिउँसो दाङको गढवा गाउँपालिका २ महदेवामा राप्ती नदीको पक्कीपुल मुनि शब फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका ६५ वर्षका कालिचरण चौधरीलाई बबई नदीले बगाउँदा मृत्यु भएको र आइतबार शव फेला परेको प्रवक्ता बैदवारले जानकारी दिए ।

नवलपरासीमा पानीमा डुबेर बालकको मृत्यु

यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ४ नर्सहीका अलाउद्दिन अन्सारीका ९ वर्षका छोराको घर नजिकै पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
पानीमा डुबेका बालकको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा आइतबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलवामा सल्यान कपुरकोट गाउँपालिका– ५ रिमका बर्ष २६ का कमल खत्रीको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लैजाने क्रममा बाटोमै आइतबार ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्लम्बर काम गर्ने उनी तुलसीपुर– ५ मा बस्दै आएका थिए ।

चार जनाको शव भेटियो

प्यूठानको ऐरावती गाउँपालिका ५ पकलास्थित झिमरुक खोलाको बगरमा नाम थर ठेगाना नखुलेकी अन्दाजी ३५–४० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिका ७ लखनावार मितेरी बन कार्यालयको पुर्बपट्टि डुडुवा खोला किनारमा अन्दाजी २८ वर्षकोे पुरुषको शव फेला परेको र शवको सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै रोल्पाको परिवर्तन गाउपालिका ५ गरमझ्याम खोलामा रोल्पा थवाङ गाउँपालिका ३ सैपु कि ५४ वर्षकी बरमती बुढामगरको शब आइतबार फेला परेको प्रहरीले जनाएको छ । असार २४ गते बिहान घरदेखि हिँडेकी बरमतीको शव आइतबार फेला परेको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका २ सोनबर्षास्थित खजुरा खोलाको पुलमुनि पानीमा अन्दाजी एक वर्षको बच्चा मृत अवस्थामा फेला परेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment