Comments Add Comment

डब्ल्यूएचओ भन्यो– केही देश गलत बाटोमा, कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ

३० असार, काठमाडौं । देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।’

कोरोना भाइरसलाई ‘मानिसको नम्बर एक शत्रु’ बताउँदै उनले, तर कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएको बताए ।

धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिए ।

उनले भने, ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने छ ।’

तर केही नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताए । यसो भन्दै गर्दा उनले कसैको नाम त लिएनन् तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गरेको अनुमान कतिपयले गरेका छन् ।

डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन् । डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा गर्दै ट्रम्पले आर्थिक सहायतासमेत कटौती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment