Comments Add Comment
अनलाइनखबर टिप्पणी :

प्रधानमन्त्रीको बोलीमा लगाम आवश्यक

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि व्यंग्य गर्दै युवाहरुले तयार पारेको ‘बेसार पानीले’ भन्ने गीत अहिले भाइरल बनेको छ । असान्दर्भिकरुपमा उधिनिएको बेसारको प्रशंग नसेलाउँदै अब भगवान राम कहाँ जन्मिएका थिए भन्ने अर्को पौराणिक विवाद प्रधानमन्त्री ओलीले झिकेका छन् ।

प्रधानमन्त्री ओली ‘तित्राको मुखै बैरी’ भन्ने आहानजस्तै आफ्नै अभिव्यक्तिका कारण अनावश्यक विवादमा तानिँदै आएका छन् । अहिलेसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिका कतिपय अभिव्यक्ति मजाकका रुपमा मात्र सीमित थिए, अब छिमेकीसँगको कूटनीतिक सम्बन्धलाई समेत यसले प्रभावित बनाउन थालेको छ ।

सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीमा प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्ज नजिकैको गाउँ (अयोध्यापुरी) मा रहेको बताए । प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको छ ।

यदि भगवान रामको जन्म नेपालमै भएको हो भने यो कुराको पुष्टि नगरिकन देशको प्रधानमन्त्रीले बोल्नु हुँदैनथ्यो । रामचन्द्रको जन्म नेपालमा भएकै हो भने ओली नेतृत्वको सरकारले औपचारिकरुपमै यो दाबी गर्नुपर्छ । अन्यथा, अप्रमाणिक एवं अपुष्ट कुरा गरेर वातावरणलाई उत्तेजित बनाउने कार्य प्रधानमन्त्रीको पदमा बस्ने व्यक्तिलाई सोभनीय हुँदैन । सत्तारुढ नेकपाले आफ्ना प्रधानमन्त्रीको बोलीमा लगाम लगाउन ढीलो भइरहेको छ ।

के अब हामी नेपालीले भगवान रामचन्द्र नेपालकै चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा जन्मिएका हुन् भनेर धारणा बनाउनुपर्ने बेला आएको हो ? हाम्रा विद्यालय र कलेजका पाठ्यक्रममा यसलाई समावेश गर्नुपर्ने अवस्था आएको हो ? यसको जवाफ अब नेकपा र उसको नेतृत्वमा रहेको सरकारले जनसमक्ष दिनैपर्ने भएको छ ।

नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरुले कालान्तरदेखि मानी आएको परम्परामाथि नै असर पुग्ने गरी प्रधानमन्त्रीले यसरी हल्का ढंगबाट बोल्नु भनेको उनले आफ्नो जीवनकालमै आर्जन गरेको ओज एकैचोटि घटाउनु हो । प्रधानमन्त्रीले असान्दर्भिकरुपमा उठाएको यो विषय बेसारपानीले कोरोना निको हुन्छ भनेजस्तो ठट्टा गर्ने चिज होइन ।

भारतले वर्षौंदेखि नेपालको सीमानामा अतिक्रमण गर्दै आइरहेको छ । नेपालको भूगोल र अर्थतन्त्रमा मात्रै होइन, सामाजिक सांस्कृतिक क्षेत्रमा पनि भारतले अतिक्रमण नगरेको होइन, प्रधानमन्त्रीले भनेजस्तै सांस्कृतिक अतिक्रमण पनि हुँदै आएको छ ।

भारतीय पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मेका हुन् भनेर लेख्नु अनि भारतीय प्रधानमन्त्री मोदीले समेत बुद्ध भारतमा जन्मेका हुन् भन्नु यही सांस्कृतिक अतिक्रमणका उदाहरणहरु हुन् ।

त्यसैगरी भारतमा नक्कली कपिलवस्तुको संरचना खडा गर्नु, नेपालको पशुपतिमा भारतीय पुजारीहरु राखिनु, भारतीय जोगीहरुले नेपालमा संस्था खडा गरेर, भक्तजनमार्फत आर्थिक शोषणहरु गर्नु इत्यादिलाई भारतबाट हुँदै आएको सांस्कृतिक अतिक्रमणकै दृष्टान्त मान्न सकिन्छ ।

तर, यसको अर्थ, मोदीले बुद्ध भारतमा जन्मिएका हुन् भने भन्दैमा अब नेपालले पनि भगवान रामचन्द्र नेपालमा जन्मेको दाबी गर्नुपर्छ भन्नु केटाकेटीहरुका लागि सुहाउला, देशको प्रधानमन्त्रीले सातचोटि सोचेर मात्र बोल्नुपर्छ । प्रश्न यो छ कि जनकपुरधाममा अयोध्याका जन्तीसँगै भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरेका प्रधानमन्त्री ओलीमा कुन मितिबाट राम नेपालमा जन्मिएका हुन् भन्ने तत्वज्ञान भयो ?

भोलि कसैले नेपालमा कृष्णभीर भन्ने ठाउँ छ, त्यसैले भगवान कृष्ण पनि नेपालमै जन्मेका हुन् भन्यो भने त्यसैलाई प्रमाणिक तथ्य मान्न मिल्दैन । प्रधानमन्त्रीले नै बोल्दैमा त्यो प्रमाणित हुँदैन । प्रमाणित नभई प्रधानमन्त्रीले बोल्नुहुँदैन ।

प्रधानमन्त्रीले जे पायो त्यही बोल्दै जाने, अनि त्यसमा रफु भर्नका लागि अनुसन्धान गर्दै जानुपर्ने तरिका सही होइन होइन । विगतमा प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने, पानीजहाज चलाउने लगायतका भाषणहरु गरे । त्यसलाई पुष्टि गर्न राज्यकोष खर्च गरेर संरचनाहरु बनाइयो । अब त्यसैगरी भगवान रामको जन्मस्थान खोजी गर्न सरकारी खर्चमा कार्यदल बनाउने ? नेकपा सरकारमाथि गम्भीर प्रश्न तेर्सिएको छ ।

कतिपय विषयहरु प्रथम दृष्टिमै खारेजयोग्य हुन्छन्, त्यसमा कार्यदल बनाएर अनुसन्धान गरेर समय खेर फाल्ने काम मूर्खतापूर्ण हुन्छ । अहिले कतिपयले प्रधानमन्त्री ओलीले बोलिसकेपछि कतै रामचन्द्र नेपालमै जन्मेका पो हुन् कि अनुसन्धान गरौं भन्न थालेका छन् । यो धार्मिक, पौराणिक मिथक अनुसन्धान गरिराख्नुपर्ने विषय हो वा होइन ? नेकपा सरकारले स्पष्ट पारोस् ।

कालापानीबाट सेना हटाउने विषयमा प्रधानमन्त्रीको मौनता

भारले कालापानी, लिपुलेक र पिम्पियाधुरामा नेपाली सीमा मिचेको छ । यसमा सरकारले सबै दलहरुको साथ लिएर नयाँ नक्सासमेत जारी गरिसकेको छ । अब भारतसँग कूटनीतिक पहल गरेर आफ्नो भूमि फिर्ता ल्याउनेतर्फ लाग्नुपर्ने सरकारको दायित्व हो । तर, यसतर्फ सरकारले कुनै प्रभावकारी कदम चाल्न सकिरहेको अवस्था छैन ।

प्रधानमन्त्री केपी ओलीले यस्तो बेलामा कालापानीबाट भारतीय सेना हटाऊ भनेर सार्वजनिकरुपमा बोल्न सकेको भए त्यसलाई नेपाली जनताले साथ दिने थिए । कालापानी–लिम्पियाधुरामा मिचिएको भूमिमा आफ्नो अधिकार स्थापित गर्न लाग्नुपर्ने बेलामा भगवान राममाथिको दाबी प्रधानमन्त्रीले गर्नु भनेको बेमौसमको बाजाजस्तै हो ।

प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिमाथि तत्काल लगाम लगाइयोस् र सरकार यथार्थको धरातलमा उभियोस् । भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताका लागि सरकारले कदम चालोस् ।

हिजो नक्सा जारी गर्नेबेलामा अन्कनाएका प्रधानमन्त्री ओलीले कमसेकम हिम्मतका साथ कालापानीबाट भारतीय सेना तत्काल हटाउन दिल्लीलाई भनुन् । भारतीय मिडिया र भगवानका कुरा गरेर खास समस्या भाग्ने प्रयास नगरियोस् ।

याे पनि पढ्नुस् 

राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ : प्रधानमन्त्री

अयोध्याबारे ओलीको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

ओलीको अभिव्यक्तिको सर्वत्र आलोचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment