 
																						३० असार, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्ना सदस्य विद्यालयका शिक्षक–कर्मचारीको लकडाउन अवधिको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णय गरेको छ ।
बैशाख महिनादेखि तलब नपाएका शिक्षक–कर्मचारीहरुलाई कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक दिने प्याब्सन रुपन्देहीको भेलाले निर्णय गरेको हो । तीन महिनासम्म तलब नपाएपछि शिक्षक कर्मचारीहरु आन्दोलित हुँदै आएका थिए । रूपन्देही जिल्लामा प्याब्सनमा आवद्ध दुई सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक–कर्मचारी छन् ।
प्याब्सन रुपन्देहीको सोमबार साँझ अबेरसम्म चलेको भेलाले शिक्षक–कर्मचारीहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।
आफ्नो विद्यालयको आर्थिक अवस्थाअनुसार विद्यालयहरुले २५ प्रतिशतभन्दा बढी पारिश्रमिक पनि दिन सकिने भेलाले निर्णय गरेको अध्यक्ष पौडेलले बताए । ‘लकडाउनका कारण चैतदेखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकहरुको आर्थिक स्थितिलाई ध्यानमा राखेर तत्काललाई राहतस्वरूप २५ प्रतिशतभन्दा कम नहुने गरी तलब दिने निर्णय गरेका हौं,’ अध्यक्ष पौडेलले भने, ‘धेरै विद्यार्थी र आर्थिक अवस्था सुदृढ भएका विद्यालयले २५ प्रतिशत भन्दा धेरै वा पुरै तलब पनि दिन सक्नुहुन्छ, नसक्नेको हकमा बाँकी तलबबारे आगामी अवस्था र सरकारको निर्णयअनुसार पछि गरिने छ ।’
लकडाउनले विद्यालय सञ्चालन नहुँदा विद्यार्थीबाट शुल्क उठाउन नपाएका कारण निजी विद्यालयहरु आफैं आर्थिक संकटमा भए पनि शिक्षक कर्मचारीहरुको स्थिति झन् नाजुक बनेकाले राहतस्वरुप २५ प्रतिशत भए पनि तलब दिन सबै सदस्य विद्यालयलाई अनुरोध गरिएको सचिव लक्ष्मण ज्ञवालीले बताए ।
विद्यालय सञ्चालनको तयारी
लकडाउनका कारण बन्द भएका विद्यालयमा पठनपाठन नियमित गराउन सरोकार पक्षसँग नियमित वार्ता र संवादको पहल गर्न भन्दै प्याब्सन रुपन्देहीले गठन गरेको कार्यदलले शिक्षक कर्मचारीलाई जतिसक्दो पारिश्रमिक दिनुपर्ने सुझाव प्याब्सन नेतृत्वलाई दिएको कार्यदलका सदस्य हरि ज्ञवालीले जानकारी दिए ।
यसैबीच प्याब्सनले स्वास्थ्य सुरक्षा प्रबन्धसहित नियमित पठनपाठन सुरु गर्ने तयारी गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसहित कार्यदलले सदस्य विद्यालयहरुको अवस्थाका बारेमा अध्ययन गरेपछि बालबालिकाको स्वास्थ्य सुरक्षा प्रवन्धका साथ नियमित पठनपाठन शुरु गर्न सकिने अवस्था तयार हुँदै गएको निश्कर्षमा पुगिएको वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्माले जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4