Comments Add Comment

समाचार पढ्ने सोख थियो, संगीतमा डुबियो

‘..छन त विदेशको पीआर छ, पीआरले सबको मन बिगार्छ.. ’

टिकटकमा खुबै चलेको यो गीतकी गायिका अनिता चलाउने विदेश होइन, स्वदेशमै छिन् । गीतमा भनिएजस्तो उनलाई पीआरवाला खोजेर विदेशमा ‘सेटल’ हुनु पनि छैन । देशभित्रै संगीत क्षेत्रमा गहिरो डुबुल्की मार्न चाहन्छिन् ।

केही दिनअघि बानेश्वरमा भेटिइन् अनिता । छोटो संवादका लागि हामी एउटा क्याफेमा आमनेसामने भएर बसेका थियौं । उनी थकित तर उत्साही देखिन्थिन् ।

‘आज खाजै खान भ्याएको छैन,’ भन्दै उनले दुई–दुई थान कफी र पेस्ट्री अर्डर गरिन् । उनको ध्यान भने मोबाइलमा अडिएको थियो ।

‘एक घन्टामा २७ हजार भ्युज गयो,’ खुशी हुँदै उनले सुनाइन् ।

अनिताको नयाँ तिज गीत भर्खरै युट्युवमा रिलिज गरिएको थियो । ट्विनी गर्ल्स र सागर लम्साल ‘बले’ ले अभिनय गरेको गीतको म्युजिक भिडियोले सुरुमै राम्रो भ्युज बटुलिरहेको थियो । एक हप्ता पार हुँदा गीतले ११ लाखभन्दा बढि भ्युज प्राप्त गरेको छ ।

सात महिनाअघि अनिताले ल्याएको ‘पीआरवाला’ गीतले राम्रै सफलता पाएको थियो । उनले आफ्नै नयाँ युट्युव च्यानलबाट रिलिज गरेको भए पनि गीतले ६० लाख भ्युज कटाइसकेको छ । अहिले ल्याएको ‘यस्तो बनोस मेरो तिज…’ बोलको गीतले करोड भ्युज छुने आशा राखेकी छिन् अनिताले ।

०००

बर्दियामा जन्मेकी अनिताको एसएलसी दिँदासम्म पनि गायिका बन्ने छेकछन्द थिएन । परिवारले उनलाई सिकाएका थिए– राम्ररी पढ्ने र गतिलो जागिर खाने । कलेज पढ्न काठमाडौं आएपछि अनायाश उनी संगीततर्फ मोडिएकी हुन् ।

‘संगीतप्रति आकर्षण त सानैदेखि थियो । स्कुलका कार्यक्रममा गीत गाउँदा प्रशंसा पनि पाउँथे । तर, गायिका बन्ने लक्ष्य चाहिँ थिएन । परिवारमा पनि संगीतको माहोल थिएन,’ उनले सुनाइन् ।

उनका बुवा व्यापारी । तीन दिदी र एक भाई सबै पढन्ते । उनलाई पनि पढ्नमै जोड गर्थे सबैजना । अनिताको रुची चाहिँ टेलिभिजनको पर्दामा आएर समाचार भट्याउनु थियो ।

‘सानोमा कोमल ओली दिदीलाई टेलिभिजनमा समाचार पढिरहेको देख्दा आफूलाई पनि त्यो स्थानमा पुर्‍याउने हुट्हुटी हुन्थ्यो,’ उनी भन्छिन् ।

त्यही चाहनाले उनलाई पत्रकारिता अध्ययनतर्फ डोर्‍यायो । उनी डिल्लीबजार कन्या क्याम्पसमा आमसञ्चार अध्ययन गर्न थालिन् । अध्ययनका क्रममै एकपटक उनी प्राक्टिकलका लागि रेडियो नेपाल पुगिन् । संयोगले त्यही बेला रेडियो नेपालमा स्वर परिक्षा हुन लागेको रहेछ । उनलाई साथीहरुले हौस्याए– तिम्रो स्वर राम्रो छ, एकपटक ट्राइ गर ।

अनितालाई पनि जोश आयो । १५–२० दिन तयारी गरेर उनले स्वर परिक्षा दिइन् । पास पनि भइन् । अनि बल्ल उनलाई संगीतमा केही गर्न सक्छु भन्ने भयो ।

संगीतमा लाग्ने अठोट लिइसकेपछि उनी गान्दर्भ म्युजिक विद्यालयमा भर्ना भइन् । त्यसबेला उनको प्लस टुका पढाई सकिएको थियो र आरआर क्याम्पसमा ब्याचलर पढ्न थालेकी थिइन् । बिहान कलेज र दिउँसो संगीत सिक्ने सेड्यूल केही समय चल्यो । संगीतको क्लास सिध्याएपछि उनी गीत रेकर्डतर्फ लागिन् ।

०००

संगीतसँगै अनिता पत्रकारितामा पनि पाइला चालिरहेकी छन् । टेलिभिजनको पर्दामा देखिने सानैदेखिको सपना उनले पूरा गरेरै छाडिन् ।

उनले पहिलोपटक लाइक नेपाल नामक युट्युव च्यानलमा पत्रकारिता अभ्यास गरेकी हुन् । त्यहाँ उनी दैनिक दुई घन्टा कार्यक्रम सञ्चालन गर्थिन् । दुई वर्ष त्यसमा काम गरेपछि उनले नेपाल टेलिभिजनमा प्रवेश पाइन् ।

चार वर्षदेखि अनिता नेपाल टेलिभिजनमा संगीतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छन् । उनको ब्याचलरको पढाई पनि सकिएको छ । अब मास्टर्सको तयारीमा छिन् । संगीत करिअर पनि उकालो यात्रामा छ ।

पढाई, संगीत र पत्रकारितालाई कसरी सँगसँगै लगिरहेकी छिन् उनले ?

कफीको चुस्की लिँदै भनिन्, ‘सबैभन्दा ठूलो कुरा प्यासन हो । प्यासन छ भने तपाईं जति व्यस्ततामा पनि रमाउन सक्नुहुन्छ ।’

अनिताले अहिलेसम्म ४ दर्जन गीतहरु गाइसकेकी छन् । रेडियो नेपालको स्वर परीक्षामा उनले आधुनिक गीत गाएकी थिइन् । अहिले भने उनको झुकाव लोकलयतर्फ मोडिएको छ । सुरुमा पशुपति शर्मा र रामजी खाँडसँग मिलेर गाएको लोकगीत हिट भएपछि उनी यो विधामा मोडिएकी हुन् ।

देशभित्रका महोत्सवहरुमा अनिताको बाक्लै उपस्थिति हुने गथ्र्यो । साथै विदेशबाट पनि बोलावट आउन थालेको थियो विदेशको पीआर गीत हिट भएपछि उनलाई देश–विदेशका दर्शक–स्रोताले चिन्न थालेका छन् । अहिलेसम्म उनले कन्सर्टका लागि माल्दिभ्स, कतार, जापान र कोरियाको भ्रमण गरिसकेकी छन् । यसपालीको तिजमा अष्ट्रेलियाको कार्यक्रम तय भएको थियो, तर कोरोनाका कारण रोकियो ।

०००

यसपाली तिजको खासै माहोल छैन । सम्भवत तिजमा पहिलेजस्तो सांगीतिक कार्यक्रम पनि नहोलान् । तैपनि अनिताले किन नयाँ तिज गीत ल्याइन् ?

उनी भन्छिन्, ‘स्टेज कार्यक्रम भएन भने पनि गीतहरु त दर्शक–स्रोताले सुन्नुहुन्छ । त्यसैले उहाँहरुको लागि गाएकी हुँ ।’

तिज गीतका नाममा भड्किला शब्दहरु र त्यस्तै उछृङ्खल खालका म्युजिक भिडियोहरु आइरहेका छन् । तर अनिताको तिज गीत भने शालिन खालको छ । गीतमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीसँग बलेको डान्स्लाई दर्शकले मन पराएका छन् ।

अनितालाई सोधियो, ‘टिकटकमा हिट होस भनेर ट्विीनी गर्ल्सलाई खेलाउनु भएको हो ?’

उनले भनिन्, ‘उहाँहरुको फ्यान फलोइङ र प्रतिभा देखेर हो । उहाँहरुलाई पहिल्यैदेखि चिनेको पनि थिएँ । टिममा छलफल हुँदा पनि उहाँहरुको नाम आयो ।’

ट्विीनी गर्ल्ससँग काम गर्दा उनीहरुबाट निकै प्रभावित भएको अनिताले बताइन् ।

‘उहाँहरुको सिलस्वभाव साह्रै राम्रो र काममा पनि लगनशील हुनुहुँदो रहेछ,’ उनी भन्छिन्, ‘डान्स र एक्प्रेसनको त कुरै गर्न परेन ।’

दुई दिदीबहिनी उस्तै देखिन्छिन्, सुटिङमा तपाईंंहरु कत्तिको झुक्किनुहुन्थ्यो ?’

अनिताले भनिन्, ‘हो सबैजना झुक्किनुहुन्थ्यो । म चाहिँ उहाँहरुको गालाबाट छुट्याउँछु । दिदी अलि दुब्ली छिन् । बहिनी अलि पुक्क परेकी छन् । फोनमा चाहिँ अहिले पनि उनीहरुलाई छुट्याउन सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment