+
+
Shares

देवघाटमा यस वर्ष बोलबम मेला नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १३:१३

३१, असार, चितवन । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नहुने भएको छ । कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको भनाइ छ ।

देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्थ्यो । यहाँ करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ ।

क्षेत्र विकास समितिले यसवर्ष मेला नहुने र देवघाटमा स्नानका लागि नआउन सार्वजनिक सूचना र अपिल प्रकाशन गर्ने अध्यक्ष पौडेलले बताए । देवघाटमा साउनको हरेक सोमबार निकै भिड लाग्ने गर्छ ।

देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि हरेक सोमबार ५० हजार तीर्थयात्री आउने गर्दछन् । यस वर्ष भिडभाड रोक्न देवघाट प्रवेशद्धार आँपटारीमा नै निगरानी बढाइने अध्यक्ष पौडेलले बताए । ‘ठिमुरा, दासढुङ्गा, आपँटारीमा सशस्त्र प्रहरी र जनपथ प्रहरी राखेर रोक लगाउँछौं,’ अध्यक्ष पौडेलले भने, ‘मेला नहुने भएपछि हामीले कुनै तयारी पनि गरेका छैनौं । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत गरिएको छैन ।’

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले स्नानका लागि ठूलो भिड लाग्ने र त्यहाँ गएर भौतिक दुरीसमेत कायम गर्न नसकिएकने भएकाले मेला भर्न आउनेलाई रोक लगाइने बताए ।

‘कुनै व्यक्ति संक्रमित भएर आएको हुनसक्छ, उसले सबैलाई संक्रमण फैलाउन पनि सक्छ थाहै हुँदैन,’ कार्यकारी निर्देशक घिमिरेले भने, ‘पहिला पहिला मेला भर्न आउनुस् भनेका थियौं, यस वर्ष नआउनुस् भन्नुपर्ने अवस्था आयो, देश, काल परिस्थितिअनुसार चल्नुपर्ने हुन्छ ।’

सरकारले यसअघि नै देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?