Comments Add Comment

१०१ वर्षमा हातमा लालपूर्जा

३१ असार, काठमाडौं । कास्कीको मादी गाउँपालिकाका जसबहादुर थापा १ सय १ वर्ष टेके । १९७६ मा जन्मिँदा भूमिहीन थिए । वनजंगल बीचकै कुनै छाप्रोमा उनको बाल्यकाल बित्यो ।

जीवनको सय औं मौसम पार गर्दा पनि आफ्नो नाममा जमिन बनाउन सकेनन् । प्राकृतिक प्रकोप पनि भूमिहीन, दीन हीनकै पछि लागेर आउँछ । उनले जीवनमा धेरै भूकम्पका धक्का महसुस गरे । ९०, ४५ र ७२ सालको भूकम्पले बल्लतल्ल ठड्याएको आधारमा पनि चोट पुर्‍याइरह्यो ।

भूकम्पले थापाको घर पटक पटक भत्काइरह्यो । तर, आफू ऐलानी जग्गामा बसेको हुनाले न कतैबाट सहयोग पाए, न नम्बरी जग्गा नै जोड्न सके ।

०७२ सालको भूकम्पले पनि उनको घरमा क्षति पुर्‍‍याइदियो । तर, उक्त भूकम्पले घरमा क्षति पुर्‍याए पनि नयाँ जमिन जोड्ने अवसर पाएका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा आफ्नै नाममा जग्गा किनेका छन् ।

थापालाई प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्मासहितको टोलीले मंगलबार जग्गाधनी लालपूर्जा प्रदान गरेका हुन् । ‘बाउबाजेको पालादेखि नै हाम्रो नाममा जमिन थिएन । ऐलानी जग्गा नै हाम्रो जग्गा थियो,’ बुढेसकालमा पाएको जग्गाको लालपूर्जा देखाउँदै थापाले खुसी व्यक्त गरे, ‘भूकम्पले घर भत्काएपछि यस्तो होला भन्ने मैले सोचेको थिइनँ ।’

थापाले मादी गाउँपालिका – ९ मुंग्रीबेसीमा प्राधिकरणले उपलब्ध गराएको २ लाख रुपैयाँबाट १९० वर्गमिटर जग्गा किनेको प्राधिकरण प्रमुख शर्माले जानकारी दिए । ‘हातमा लालपूर्जा समाउन पाएपछि साह्रै रमाउनुभयो,’ शर्माले भने, ‘अब उहाँलाई घर निर्माणका लागि पनि आर्थिक सहयोग गर्ने तयारी भइरहेको छ ।’

थापाले प्राधिकरणबाट प्राप्त गरेको २ लाख रुपैयाँमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीय नारायणी अधिकारीको जमिन किनेको शर्माले जानकारी दिए ।

०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरिद गर्न २ लाख रुपैयाँ दिंदै आएको छ । यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राही सरह ३ लाख रुपैयाँ पनि पाउने प्राधिकरण पोखरा शाखा प्रमुख शर्माले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment