Comments Add Comment

ट्रम्पले हटाए हङकङको विशेष दर्जा, जवाफी कारबाही गर्ने चीनको चेतावनी

३१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई आर्थिक क्षेत्रमा प्राथमिकता दिन बन्द गर्ने निर्णय गरेका छन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू गरिएसँगै अमेरिकी राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन् ।

ट्रम्पले आदेश जारी गर्दै हङकङको दर्जा पनि अब मुख्यभूमि चीनको जस्तै हुने बताएका छन् । ट्रम्पले हङकङमा नयाँ सुरक्षा कानुन ल्याउने अधिकारी माथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

चीनले ट्रम्पको यो कदमको आलोचना गरेको छ र यसको जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकाले नयाँ सुरक्षा कानुनले हङकङको स्वतन्त्रतामा खतरा उत्पन्न भएको बताएको छ । एक प्रश्नमा ट्रम्पले भने चिनियाँ समकक्षी सि चिनफिङसँग वार्ताको कुनै योजना नरहेको बताएका छन् ।

ट्रम्पले भने, ‘हामी कोरोनाा भाइरस (कोभिड-१९) को जानकारी लुकाउने र यसलाई विश्वभर फैलाउने मामिलामा चीनलाई पूर्णरुपम दोषी ठहर गछौँ ।’

यद्यपि कोरोना भाइरसको मामिलामा ट्रम्प सरकारमाथि पनि प्रश्न उठेको छ । अमेरिकामा सबैभन्दा बढी ३४ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । साथै अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख ३६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

ट्रम्पले हङकङलाई दिइएको विशेष सुविधा हटाउने निर्णय गर्दै भने, ‘कुनै विशेष सुविधा हुँदैन, कुनै विशेष आर्थिक सुविधा हुँदैन र संवेदनशील प्रविधिको निर्यात पनि हुँदैन ।’

ट्रम्पले गत मे महिनामा नै हङकङको विशेष दर्जा अन्त्य गर्ने शुरुवात हुने घोषणा गरेका थिए । त्यसका साथै अमेरिकी संसद्ले हङकङ स्वायतता विधेयक पारित गरिसकेको छ । यो कानुनले अमेरिकी प्रशासनलाई हङकङको स्वतन्त्रता कम गर्ने मानिस र संस्थालाई जिम्मेवार ठहर्‍याउन सक्ने ट्रम्पले बताएका छन् ।

सन् १९९७ मा हङकङ बेलायतले चीनलाई सुम्पिएको थियो । सन् १९८४ मा चीन र बेलायतको बीचमा हङकङको विषयमा सम्झौता भएको थियो । सम्झौतामा हङकङलाई विशेष दर्जा दिने विषयमा दुवै मुलुकको बीचमा सहमति जुटेको थियो ।

हङकङका लागि ल्याइएको नयाँ सुरक्षा कानुन यो सम्झौताको उल्लंघन रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment