Comments Add Comment

पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरौं : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था -आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रमका दौरान भिडियो मिटिङमा सहभागी भएका अर्थमन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित र पारदर्शी बनाउन कानुन मस्यौदाको प्रक्रियामा अघि बढ्न समेत आग्रह गरे ।

खतिवडाले निस्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभइ काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्त विपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्ने सुझाव दिए । ‘सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउनु हुँदैन,’ उनले भने ।

नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । ‘विश्वसनीय लेखाप्रणाली बनाउन आइक्यानको भूमिका रहन्छ,’ उनले भने, ‘नियमानकारी निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्छ ।’ खतिवडाले जनशक्ति विकासमा पनि आइक्यानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आइक्यानलाई सुझाव दिए । अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुन उनले सुझाव दिए ।

आइक्यानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले आफ्नो नेतृत्वको कार्यकालमा सुधारका धेरै काम अघि बढेको जानकारी दिए । आइक्यानका नवनिर्वाचित अध्यक्ष मदनकृष्ण शर्माले यसअघि सुरु भएका संस्थागत सुधारका कामलाई निरन्तरता दिइ अघि बढ्ने प्रतिवद्धता जनाए । लेखाविधिका मूल सिद्धान्तलाई केन्द्रमा राखेर काम अघि बढाइने उनको भनाइ छ ।

वित्तीय प्रतिवेदन पुरस्कार प्रदान

यसैबीच संस्थाले अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण कार्यक्रमको अवसर पारेर २०७५/७६ मा विभिन्न संस्थाले तयार पारेका वित्तीय विवरणको स्वतन्त्र मूल्याङ्कनको आधारमा उत्कृष्ट छनौट भएका विभिन्न संघसंस्थालाई राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरिएको छ ।

सम्मानित हुनेमा बैंकिङ्क क्षेत्र अन्तर्गत स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड, वित्तीय क्षेत्र अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड छन् । साधारण क्षेत्र मेनुफेक्चरिङ्ग अन्तर्गत चिलिमे हाईड्रो पावर लिमिटेड प्रथम स्थानमा रहेको छ ।

बोट्लर्स नेपाल लिमिटेडले दोस्रो स्थानमा रहन सफल भएको छ । साधारण क्षेत्र अन्यअन्तर्गत नेपाल क्लियरिङ हाउस प्रथम स्थानमा रहेको छ । कर्जा सुचना केन्द्र दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment