Comments Add Comment

थुनुवा कक्षमै पत्तीले काटेर आत्महत्याको प्रयास

२ साउन, वीरगञ्ज । वन्यजन्तु चोरी शिकारी आरोपमा पक्राउ परी पर्साको एक वन कार्यालयको हिरासतमा रहेका थुनुवाले आत्महत्याको प्रयास गरेका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने लक्ष्मण भन्ने ४५ बर्षका लक्ष्मी माझीले हिरासत कक्षमै पत्तीले घाँटी रेटेका हुन् । बिहीबार बिहान थुनुवालाई खाना दिन जाने क्रममा उनी बेहोस अवस्थामा थिए ।

राष्ट्रिय निकुञ्ज भित्रबाट अवैध रुपमा शिकार गरी ल्याएको चित्तलको मासु पकाएर खाँदै गरेको अवस्थामा गत असार १६ गते माझी हतियारसहित पक्राउ परेका थिए ।

थुनुवा कक्षमा रगत लागेको पत्ती (ब्लेड) भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

‘वन कार्यालयको हिरासत कक्षबाट रगत लागेको पत्ती फेला परेको छ । त्यही पत्तीले घाँटी काटेको जस्तो देखिएको छ । घटनास्थल मुचुल्का गरेर ल्याएका छौं’ डीएसपी कुँवरले भने ‘पत्ती थुनुवा कक्षसम्म कसरी पुग्यो ? किन उनले आत्महत्या गर्न खोजे भनेर अनुसन्धान भइरहेको छ ।’

माझीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ । उनी खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ । थुनुवा कक्षमा दुई जनालाई राखिएकोमा एक जना धरौटीमा छुटेका थिए । माझी एक्लै भएकोले डिप्रेसनमा परेर आत्महत्याको प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ ।

धरौटी लिएर छोड्ने तयारी भइरहेको समयमा माझीले एक्कासी आत्महत्या प्रयास गरेको सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत फरमान मियाँले जानकारी दिए । डिभिजन वन कार्यालय पर्साले मियाँलाई नै उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment