Comments Add Comment

गोरखाका पत्रकारको ल्यापटप चर्चा

२ साउन, काठमाडौं । गोरखामा हालै पत्रकारले ल्यापटप खरिद गरेको विषय सामाजिक सञ्जाल र सार्वजनिक स्तरमा निकै चर्चामा छ ।

पत्रकार महासंघ गोरखा शाखाको ५० प्रतिशत र पत्रकारको ५० प्रतिशत लागतमा १० भन्दा बढी पत्रकारले हालै ल्यापटप खरिद गरेको विषयको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

बहसको मुख्य केन्द्रविन्दु पत्रकार महासंघको बजेटको स्रोतको विषयलाई लिएर छ । महासंघ गोरखा शाखाले गोरखा नगरपालिकाको नगरसभाले पत्रकार क्षमता अभिवृद्धिका लागि विनियोजन गरेको ५ लाख रुपैयाँबाट पत्रकारलाई ल्यापटप खरिदमा सहयोग गरेको बताएको छ ।

यही विषयलाई लिएर आलोचकहरुले गोरखाका पत्रकार अब नगरपालिकाप्रति उत्तरदायी हुने र नगरपालिकाको विरुद्धमा समाचार लेख्न डराउने भनी प्रश्न उठाएका छन् ।

तर महासंघका पदाधिकारी र ल्यापटप लिने पत्रकारले ल्यापटप गोरखा नगरपालिकाले निश्चित पत्रकार तोकेर दिएको नभई पत्रकार महासंघले आफ्ना सदस्यको क्षमता अभिवृद्धिका लागि दिएको बताएका छन् । उनीहरुले यो कार्यक्रमबाट नगरपालिकासँग पत्रकार व्यक्तिगत रुपमा उत्तरदायी नहुने पनि दावी गरेका छन् ।

कसरी किनियो ल्यापटप ?

गोरखा नगरपालिकाको नगरसभाले सञ्चार क्षेत्रका लागि छुट्याएको रकम पत्रकार महासंघलाई हरेक वर्षजसो दिँदै आएको छ । पत्रकार महासंघले उपयुक्त कार्यक्रम छनोट गर्न नसक्दा विगतमा यो बजेट फ्रिज पनि भएका थिए ।

तर यो वर्ष कोरोना महामारीका कारण धेरै पत्रकार कार्यालयमा गएर काम गर्न नसकेको र घरमा बसेर काम गर्न कम्प्युटर वा ल्यापटप नहुँदा समस्यामा परे । कतिपय पत्रकारले कार्यालयको कम्प्युटर घरमै लगेर काम गरे ।

त्यसैले यो वर्ष नगरपालिकाले दिएको बजेटलाई पत्रकारलाई सञ्चार सामग्री खरिदका लागि सघाउन उपयोग गर्ने निर्णय भएको महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा बताउँछन् ।

गत असार ३ गतेको महासंघको कार्यसमिति बैठकले उक्त रकमबाट पत्रकारलाई सञ्चार सामग्री खरिद गर्न सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यसपछि सञ्चार सामग्री के खरिद गर्ने र कसलाई दिने भन्ने विषयमा सिफारिस गर्न पत्रकार महासंघका पूर्वअध्यक्ष कैलाशबाबु श्रेष्ठको संयोजकत्वमा पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दीपक श्रेष्ठ, अनुपमा खनाल र सचिव नरहरि सापकोटा रहेको समिति गठन गरिएको थियो ।

उक्त समितिको असार ३ गतेको बैठकले पत्रकारका लागि ल्यापटप खरिद गर्ने र आधा रकम सम्बन्धित पत्रकारलाई नै व्यहोर्न लगाउन सिफारिस गरेको थियो ।

समितिको सिफारिस अनुसार ४९ हजार रुपैयाँको एचपी ल्यापटप गोरखाकै इन्फोटेक कम्प्युटरबाट खरिद गरिएको र पत्रकार महासंघले २५ हजार र पत्रकारले व्यक्तिगत रुपमा २४ हजार रुपैया तिरेर लिएको अध्यक्ष थापा बताउँछन् । महासंघको उक्त योजना अनुसार १० भन्दा बढी पत्रकारले ल्यापटप लिइसकेका छन् भने केही बाँकी छ ।

‘हामीले विभिन्न स्थानीय तहलाई सञ्चार क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न भन्दै आएका छौं, कतिपय स्थानीय तहले यो शीर्षकमा धेरै थोरै बजेट दिएका पनि छन्, त्यो रकम हामी पत्रकारको क्षमता अभिवृद्धिमा लगाउँछौं’ अध्यक्ष थापाले बताए ।

नगरपालिकाप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन ?

अध्यक्ष थापा महासंघले आफ्ना सदस्यलाई सञ्चार सामग्री खरिदलाई सहज बनाइदिँदा पत्रकारको स्वतन्त्रता खोसिने वा कसैप्रति उत्तरदायी हुनुपर्ने प्रश्नै नआउने बताए ।

‘महासंघले संस्थागत सहयोग लिएको हो र पत्रकारको क्षमता अभिवृद्धिका लागि महासंघले नै कार्यक्रम छनोट गरेको हो’ उनले भने, ‘त्यसैले ल्यापटप खरिदको विषयमा पत्रकारको व्यक्तिगत रूपमा नगरपालिकासँग सम्बन्ध छैन ।’

पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष भीमलाल श्रेष्ठ नगरपालिकाले महासंघलाई दिएको बजेट शर्तरहित भएकाले पत्रकारको स्वतन्त्रता र व्यावसायिकतामा असर नपार्ने बताउँछन् । पत्रकार महासंघले आफ्ना सदस्यको क्षमता अभिवृद्धिका लागि अनुदान लिन सक्ने र आफ्नो आवश्यकतामा खर्च गर्न सक्ने उनको भनाइ छ ।

गोरखाका च्वाइस एफएमका स्टेशन म्यानेजर किरण लोहनीले ल्यापटप खरिदको विषय नगरपालिकासँग नजोडिएको बताए । ‘पत्रकार महासंघले आफ्नो कोषको रकमबाट ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको हो, यसमा नगरपालिका जोडिएको हामीलाई थाहा छैन’ उनले भने ।

कस्तो अनुदान लिने ?

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य नगर सभाले विनियोजन गरेको बजेट पत्रकार महासंघले अनुदान लिन मिल्ने बताउँछन् । ‘त्यो बजेट मेयरले आफ्नो खल्तीबाट दिएको नभई नगरपालिकाको संसदले पत्रकारिता क्षेत्र विकासका लागि विनियोजन गरेको हो’ उनले भने ‘महासंघले यस्तो अनुदान लिन मिल्छ ।’

नगरपालिकाले निश्चित पत्रकार तोकेर दिनू नभनेकाले गोरखाका पत्रकारले ल्यापटप अनुदानमा किनेको विषयले स्वतन्त्रता हरण नगर्ने अध्यक्ष आचार्यको भनाइ छ । ‘नगरपालिकाले नै फलानो पत्रकारलाई दिनू भनेर तोकेको भए लिनु हुँदैन’थ्यो तर पत्रकार महासंघले आफैं कार्यक्रम छनोट गरेको हुनाले यो ठीक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment