Comments Add Comment

कोरोनापछिको फिल्म क्षेत्रः संकट पार लगाउने नायकको खोजी

नेपाली चलचित्र क्षेत्रमा संकटकाल लगाउने चर्चा चलिरहँदा केही बर्ष अगाडि निर्देशक निश्चल बस्नेतले ‘लुट’ चलचित्रको निर्देशन गरे । यो चलचित्रले बक्स अफिसमा सफलताको झण्डा गाड्दै गर्दा नेपाली चलचित्रमा लगाउने भनिएको संकटकाल पनि टर्यो । यसपछि, ‘लुट’ शैलीकै चलचित्र धेरै बने । भलै, यी मध्ये केही चलचित्रले यो क्षेत्रमा विकृती पनि निम्त्याए ।

संकट टारेका कारण नेपाली चलचित्र क्षेत्रमा निश्चलको चर्चा चुलियो । यसपछि, उनले निर्देशन गर्ने चलचित्रको प्रतिक्षमा दर्शक बस्न थाले । निश्चलले यसपछि ‘टलकजंग भर्सेस टुल्के, लुट २’ जस्ता चलचित्र बनाए ।

नेपाली चलचित्रमा संकट पर्दा कुनै न कुनै व्यक्तिको उदय भएको छ, जसले सुस्ताएको माहोललाई फेरि चलायमान बनाउन मद्दत गरेका छन् । भूकम्पपछि थलिएको चलचित्र क्षेत्रका लागि पनि केही चलचित्रकर्मीले संकट टार्न महत्वपूर्ण भूमिका खेले । यसपछि, ५ बर्षको अवधीमा दिपकराज गिरी र उनको टिमले बनाएको चलचित्रले चलचित्र क्षेत्रमा लिड गरिरहेको छ ।

नेपाली चलचित्रले फेरि एकपटक संकट भोगिरहेको छ । फागुणको मध्य भागबाट बन्द भएको चलचित्र क्षेत्र अझै चलायमान हुन सकेको छैन । अहिलेको अवस्था हेर्दा, यो क्षेत्रले अझै केही महिना संकट नै भोग्नुपर्ने अवस्था छ । ८–९ महिना लामो संकट भोगेको चलचित्र क्षेत्रले, त्यसपछि यो अवस्थालाई कसरी पार लगाउँछ भन्ने चासो धेरैको छ ।

यो समयमा फेरि चलचित्र क्षेत्रले नायकको खोजी गरिरहेको छ, जसले यो संकटबाट चलचित्र क्षेत्रलाई पार लगाउन सकोस् ।

केही दिन अगाडि निर्माता सुशिल पोखरेलले सामाजिक संजालमा लेखे–‘कलाकार अमर भएर मात्र हुँदैन, कलाकारितालाई अमर बनाउने काम पनि सबैले गर्नुपर्छ । खोलामा पौडी सबैले खेल्छन्, तर समुन्द्रमा पौडी खेल्ने नै पौडिबाज हो । अब हेरौ, यो बिषय परिस्थितीमा लगभग डुब्न लागेको यो क्षेत्रलाई उठाउन वा ड्राइभ गर्न जसले कम्मर कस्छ त्यो नै सच्चा महानायक गनिनेछ ।’

कोरोनाका कारण ओभरसिज बजार ध्वस्त भएको, नेपालमै दर्शक आउने माहोल नभएको कारण देखाउँदै केही नाम चलेका ब्यानरले निर्माणको तयारी गरेका चलचित्र पनि नबनाउने घोषणा गरिसकेका छन् ।

उनीहरु, समय राम्रो भएपछि मात्र चलचित्र बनाउने बताइरहेका छन् । निर्माण भएर प्रदर्शनका लागि तयार भएका एक दर्जन चलचित्र मात्र छन् । नयाँ चलचित्रको छायांकन सुरु नहुँदा अर्को बर्षको मध्यसम्म चलचित्र रिलिजमा संकट उत्पन्न हुने संकेत देखिएको छ ।

कोरोनाका कारण व्यापार संकटमा रहेको कुरा स्पष्ट हो । तर, यो समयमा दर्शकलाई हलसम्म तान्ने क्षमता राख्ने टिम र कलाकारले अगाडि सर्ने हिम्मत राख्नुपर्छ । कलाकार, निर्माता, निर्देशकले मिलेर चलचित्र बनाएर सबै बाच्ने अवस्थाको सिर्जना गरेको अवस्थामा चलचित्र क्षेत्र चलायमान हुनेछ ।

अब हेर्न बाँकी यो छ कि, चलचित्र क्षेत्रलाई यो संकटबाट पार लगाउन को–को अगाडि सर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment