
५ साउन, काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम संचालन शुरु भएको छ । यसका लागि विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग गरेको छ । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नाम दिइएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध हुने भएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्य आयोजनाले लिएको विश्व बैंकले जानकारी दिएको छ ।
‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले सोमबार शुभारम्भ गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार बर्षसम्म सञ्चालन हुने यस आयोजनाको कुल रकम १२० मिलियन अमेरिकी डलर -करिब १४ अर्ब रूपैयाँ बराबर) रहेको विश्व बैंकले उल्लेख गरेको छ ।
कार्यक्रममा मन्त्री यादवले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनु परेको उल्लेख गरे ।
यो परिस्थितिमा आयोजनाको तीनै तहबाट परिणाममूखी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ । आन्तरिक श्रम बजारमा रोजगारीका अवसरहरु बिस्तार गर्दै बेरोजगारलाई रोजगारी उपलब्ध गराउने आयोजनाका लक्ष्य रहेको उनले बताए ।
यस बाहेक श्रम बजारका आधारभूत सूचना प्राप्तीमा समेत काम गरिने भएको छ । बेरोजगार व्यक्तिको बैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकिकृत गरी श्रमिक सूचना बैंक सहितको स्वचालित पद्धति शुरु गर्न रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतीको योजना बनाइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा विश्व बैंकका राष्ट्रिय निर्देशक हदाद जर्भोसले आयोजनाले दीर्घकालिन लक्ष्य प्राप्तिका अतिरिक्त विश्व बैंकको कोभिड-१९ को प्रभावलाई न्यूनिकरण गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई रोजगारी प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे ।
यो कार्यक्रममार्फत सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलव्ध गराइने उनले जानकारी दिए । विश्व बैंकको सहयोग रणनीतिलाई प्रष्ट्याउँदै हदाद जर्भोसले बैंकले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
नेपाल सरकार (अर्थ मन्त्रालय) र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्य मार्फत रोजगारी सृजनामा खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ ।
आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।
स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम लगायतका क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ ।
प्रतिक्रिया 4