Comments Add Comment

महोत्तरीमा अविरल वर्षाका कारण तीन घर भत्किए, एकजना घाइते

५ साउन, जनकपुरधाम । महोत्तरीमा अविरल वर्षाका कारण डुबानमा परेका तीन वटा घर भत्किएका छन् ।

लगातारको वर्षाका कारण घर कमजोर हुन जाँदा गौशाला नगरपालिका-१२ कान्तिबजार निवासी सुकमाया योञ्जनको एक तले फुसको घर भत्किएको छ । प्रहरीका अनुसार योञ्जनको घर भत्किँदा घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिए क्षति भएको छ । घरले च्यापेर उनको २ वटा बाख्रा समेत मरेको र करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी मटिहानी नगरपालिका-२ सिर्सिया निवासी राधेकृष्ण रायको पक्की पर्खाल भत्किँदा उनकी ६० वर्षीया पत्नी सुशिला देवी राय घाइते भएकी छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

यसैगरी वर्षाका कारण जलेश्वर नगरपालिका-१२ थरुवाही निवासी अजेश्वर मण्डलको खपडाले छाएको घर भत्किएर पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयको पर्खाल भत्कियो

अविरल वर्षाका कारण गौशाला नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा लगाइएको पर्खाल समेत भत्किएको छ ।

प्रहरीका अनुसार वर्षाका कारण पर्खाल कमजोर हुन पुग्दा करिब १२ मिटर पर्खाल भत्किएको हो ।

लालबन्दीमा एक घर परिवार विस्थापित 

सर्लाहीको लालबन्दी नगरपालिका-४ मा जर्वापानी खोलामा आएको बाढीका कारण एक घर परिवार विस्थापित भएका छन् ।

स्थानीय रवीन्द्र चौधरीको एक तले कच्ची घरमा जर्वापानी खोलामा आएको बाढी पस्दा उनको सात जनाको परिवार विस्थापित भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

घरमा बाढी पसेपछि चौधरीको सात जनाको परिवार छिमेकीको घरमा शरण लिएर बस्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment