Comments Add Comment
विचार :

ओलीको अयोध्या उत्खनन : ‘अफिम’ व्यापारीको मायाजाल

रामको जन्मभूमि नेपालमा पर्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि सर्वत्र तरंग सिर्जना भयो । नेपालमा यसको समर्थन र बिरोध दुवै देखियो । ओली समर्थकहरु नेपालको अयोध्यापुरीमा उत्खनन गर्ने भन्ने ठाउँसम्म पुगिसकेका छन् । विरोधीहरु ओलीको यो अभिव्यक्ति आधारहीन रहेको र यसले भारतसँगको सम्बन्ध बिग्रिएको टिप्पणी गरिरहेका छन् ।

ओलीको अभिव्यक्तिले अप्ठ्यारो पर्ने संकेत पाएपछि परराष्ट्र मन्त्रालयले ‘यो राजनीतिक टिप्पणी होइन’ भनेर स्पष्टीकरण वक्तव्य जारी गरिसकेको छ । तैपनि भारतमा केहि ‘हिन्दु’ संगठनहरुले ओलीको अभिव्यक्तिप्रति कडा विरोध जनाइसकेका छन् ।

कसैकसैले यो प्रकरणलाई आफ्नो शासकीय अक्षमता ढाकछोप गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रयास भनेर पनि चित्रण गरेका छन् ।

तर, ओलीको यो वक्तव्य धेरै सुविचारित भन्दा पनि उनको ‘सर्वज्ञ स्वाभाव’ को उपज हो भन्ने नै देखिन्छ । किनकि, यसखालको अभिव्यक्तिले ओली शासनमा सहजता होइन, चुनौति मात्र बढ्छ भन्ने कुरा सरल तथ्य हो । ओलीको अभिव्यक्तिपछि सरकारद्वारा स्पष्टीकरण वक्तव्य नै जारी गर्नुपर्ने परिवेशले पनि यो तथ्यलाई सावित गरिरहेको छ । त्यसैले, ओलीको यो वक्तव्य त्यत्रो ‘परसम्म’ सोचेर आएको भन्ने देखिँदैन ।

प्रधानमन्त्री ओलीले जे बोले, उनको यो अभिव्यक्तिका सवल र दुर्वल, दुवै पक्ष देखिन्छन् । सही वा गलत आफ्नो ठाउँमा छ, कमसेकम हाम्रा प्रधानमन्त्री कसैको विचार वा अनुसन्धान कर्मलाई ध्यान दिँदारहेछन्, त्यस्ता धारणाहरु सुन्ने वा जानकारी राख्ने गर्दा रहेछन् भन्ने त देखियो । नेपालको इतिहासमा यसखालका प्रधानमन्त्री बिरलै होलान् । त्यसैले प्रधानमन्त्री ओलीको यो स्वाभावलाई उनीभित्रको सवल पक्ष मान्दा हुन्छ । तर, प्रधानमन्त्रीजस्तो मानिसले, बोल्न मन लाग्यो भन्दैमा जे पायो त्यही, जहाँ पायो त्यहीँ बोल्ने आदतलाई कुनै पनि हालतमा सही मान्न सकिन्न ।

यो गैरराजनीतिक वक्तव्य हो भनेर जति भने पनि प्रधानमन्त्रीको मुखबाट निस्किएको बोली राजनीतिक नै बन्दछ । यसले प्रधानमन्त्री ओलीलाई मात्र हानी गर्दैन, यसको मूल्य सम्पूर्ण देश र जनताले चुकाउनुपर्ने हुन्छ । यस अर्थमा जस्तोसुकै विषयमा पाक्कपुक्क बोलिहाल्ने ओली स्वाभाव उनको व्यक्तित्वको दुर्बल पक्ष हो ।

इतिहास कि कहानी ?

ओली अभिव्यक्तिले हाम्रा धर्मग्रन्थहरुका विषयमा वहस सिर्जना गरिदिएको छ । संसारका प्रायः सबै धर्मग्रन्थहरुमा अनौठा, अपत्यारिला कथा र पात्रहरु छन् । पूर्वीय सभ्यताका धर्महरुको मात्र कुरा गर्ने हो भने, यहाँ वैदिक, बौद्ध, जैन, बोन, ताओ, शिख, मुन्धुम, कविर आदि धर्मपन्थहरुमा धेरै कथा कहानीहरु छन् । तीमध्ये वैदिक ग्रन्थका कथाहरुमा देवी र दानव, देवता र राक्षस, सुर र असुर, राम र रावण, कौरव र पाण्डव, ऋषि र अप्सरा आदि पात्रहरु खडा गरिएका छन् र कथाहरुमा यिनीहरुवीचको द्वन्द्वको वर्णन गरिएको छ ।

रामको जन्मभूमि खोज्ने धारणा नै आफैंमा ‘माया’ हो । ऋषि मान्यताका अनुसार जे असत्य छ, त्यो सत्यजस्तै लाग्नु नै ‘माया’ हो । रामको जन्मभूमि किटान गर्ने ओलीको अभिव्यक्ति आफैंमा ‘मायाजाल’ मात्र हो ।

यी कथाहरुलाई आजसम्म दुईखालको दृष्टिकोणबाट हेरिएको छ । एकखालको दृष्टिकोण राख्नेहरुमा सम्प्रदायभिरु ‘साधु–सन्त’ हरु छन्, जो यस्ता कथा कहानीलाई ‘देवताका पालाका’ वास्तविक घटना भन्दछन् । उनीहरु यस्ता कहानीलाई वास्तविक इतिहास नै मान्दछन् ।

अर्कोथरी दृष्टिकोण राख्नेमा भौतिकवादी ‘साधु–सन्त’ छन् । यिनीहरु पनि यी कथा कहानीलाई इतिहास नै मान्दछन् । फरक यति हो, यिनीहरु धर्मग्रन्थका कथालाई ‘इतिहासको वर्गसंघर्ष’ र ‘शोषणको जाल’ भन्दछन् । भारतीय ‘महापण्डित’ राहुल सांस्कृत्यायनदेखि नेपाली विद्वान मोदनाथ प्रश्रितसम्मका लेखन, यसैका उधाहरण हुन् । (हेर्नुहोस, सांस्कृत्यायन, दर्शन दिग्दर्शन र प्रश्रितको देवासुर संग्राम)

तर, पूर्वका धार्मिक मान्यतालाई हेर्ने माथिका दुवै निश्कर्ष त्रुटिपुर्ण छन् । त्यसैले गल्ती यहीँबाट शुरु हुन्छ । कसरी ? भन्ने प्रश्न यहाँ आउन सक्छ ।

पूर्वका धर्महरु कुनै रुढीग्रस्त वा कल्पनामा आधारित ‘ईश्वरवादी’ धारणा हैनन् । साथै, पूर्वका धर्महरु जीवन र जगतलाई यान्त्रिक विम्वमा हेर्ने र कार्य–कारण सम्बन्धको गणित नै सबथोक हो भन्ने ‘भौतिकवादी’ धारणा पनि हैनन् । बरु पूर्वका धर्महरुले जीवन र जगतको यान्त्रिक विम्वको पनि खण्डन गर्दछन् र ‘संसार वोधगम्य छ’ भन्ने मान्यताको पनि खण्डन गर्दछन् । स्मरण रहोस, विज्ञानका आधुनिक विधाहरुको धारणा पनि यही हो ।

प्राचीनकालका ऋषिहरुले तपस्चर्याका माध्यमबाट जीवन र जगतका स्वभावका विषयमा जुन गहिरो तथ्य वोध गरे, त्यो गणितमा वा साधारण बोलीचालीको भाषामा अभिव्यक्त गर्न सम्भव भएन । साथै त्यतिबेलाको लोकलाई बुझाउन पनि सम्भव भएन । त्यसैले अनेकन विम्व प्रतिकको सहारा लिइयो । फलस्वरुप विभिन्न काव्य तथा महाकाव्यहरु रचना गरिए ।

श्रुति परम्पराअनुसार बर्षौंसम्म ती काव्य महाकाव्यहरु पुस्तान्तरण भई रहे । कालान्तरमा तिनीहरु लिपिवद्ध भए र आज हामीसम्म आइपुगे । आजसम्म आउँदा यिनीहरुमा थुप्रै थपघट र बढाई–चढाई भएको कुरा सत्य हो । ती कथाहरुलाई शासक वर्गले आफ्नो स्वार्थ अनुकुल व्याख्या गरेको कुरा पनि सत्य हो । तर, धर्मग्रन्थहरुमा उल्लेखित कथाहरु स्वयंमा ‘इतिहासको वर्गसंघर्ष’ वा ‘शोषणको जाल’ भने होइनन् ।

रामायण, महाभारत लगायतका लामा वा छोटा सबै कथा कहानीहरु विज्ञानको गहिरो सत्य अभिव्यक्त गर्न अपनाइएको उपाय थियो । जो इतिहास नभएर प्रतिक–विज्ञान थिए । यी कहानीहरुले तत्कालीन जनजिवनको अवस्थासम्म बुझ्न त मद्दत गर्दछन्, तर कथालाई नै इतिहास मान्न र कथाका पात्रहरुको जन्मस्थान खोज्न कुनै पनि अर्थमा अनुमति दिँदैनन् । यस्तो धारणा केवल दृष्टिकोणको भ्रम मात्र हो ।

वैदिक धर्मग्रन्थहरुमा भएका कथाहरु असंख्य र अज्ञात तपस्वीहरुका रचना हुन् । जसले चिन्तनको अलग ‘प्याराडाइम’ को प्रतिनिधित्व गर्दछन् । यी कथाहरुले अलग सन्देश दिन खोजेका छन् । तर, आजसम्म यो विषयलाई कि त शास्त्रीय (ईश्वरवादी) र नवशास्त्रीय (भौतिकवादी) ‘प्याराडाइम’ मा बुझ्ने र व्याख्या गर्ने काम भएकाले सारा विषय गडबड भएको छ ।

यहाँ यस्ता कथा कहानीहरुलाई तपस्वी दृष्टिकोणबाटै व्याख्या गरिएका केही प्रसंगहरु उल्लेख गरिएको छ ।

हिरण्य कस्यप र प्रल्हादको कथाका सम्बन्धमा कसैले राखेको जिज्ञाासामा ओशो भन्छन् :

पुराण इतिहास होइन, महाकाव्य हो । पुराणमा जुन घटना छन्, ती वास्तविक हुन्, कुरा यस्तो होइन । तर, यी घटना सधैं घटित भइरहेका छन् । पुराणमा कुनै घटनाको किटान छैन । तर, कुनै सत्यतर्फ संकेत गरिएको छ । पुराण सास्वत हो । हिरण्यकस्यप कुनै दिन थियो वा थिएन, यो मलाई मतलव छैन ।

व्यर्थका कुरामा मलाई रस छैन । प्रल्हाद कहिल्यै थियो कि थिएन, त्यो प्रल्हाद नै जानोस् । तर, मलाई यति थाहा छ कि पुराणमा जता इशारा गरिएको छ, यो दिनहुँ भइरहेको छ, प्रतिपल भइरहेको छ । तिमीभित्र भएको छ । तिमीभित्र भइरहेको छ । र, जबसम्म मनुश्य रहन्छ, जुनसुकै ठाउँमा मनुश्य रहन्छ, पुराणको सत्य दोहोर्‍याइने छ । पुराण सार निचोड हो, घटना होइन, इतिहास होइन, मनुश्यको जीवनको अन्तरनिहीत सत्य ।

त्यसैले म भन्छु पुराण तथ्य होइन, सत्य हो । तिमी यदि यो सिद्ध गर्न निस्कन्छौ कि प्रल्हादलाई आगोले जलाउन सकेन, तब तिमी गल्तीमा फस्छौ । तिम्रो दृष्टि भ्रान्तिमा पर्ने छ । तिमी यो बुझ्छौ कि पहाडबाट फ्याँकियो, तर कुनै चोट लागेन, तब तिमी गल्तीमा फस्नेछौ । कुरा यस्तो होइन । कुरो गहिरो छ । योभन्दा कता हो कता गहिरो छ ।

यो कुनै बाहिरको चोटको कुरो होइन । किनकि हामी जान्दछौं कि जिससलाई सुलीमा चढाइयो, उनी मरे । सुकरातलाई विष दिइयो, उनी मरे । मन्सुरलाई काटियो, उनि मरे । तर, साँच्चै मरे कि मरे जस्तै ठानियो ? जिसस अहिले पनि जिउँदैछन् । मार्नेहरु मरे । सुकरात अहिले पनि जिउँदै छन्, विष दिनेहरुको कुनै पत्तो छैन ।

जिससलाई मारेर पनि मार्न सकेनन् । यति नै अर्थ हो । जीवनलाई मेटाउँदा पनि जीवन मेटिँदैन । सत्यलाई लुकाउँदा पनि लुक्दैन । दबाउँदा पनि दब्दैन । निस्कन्छ, हजार–हजाररुपमा त्यो निस्कन्छ । हजार–हजार गुना बलशाली भएर निस्कन्छ । तर, सधैं यस्तो भ्रान्ति हुने गरेको छ कि बल कसको हातमा छ ?

बल त अतीतको हातमा हुन्छ । समाजको हातमा हुन्छ । सम्प्रदायको हातमा हुन्छ । राज्यको हातमा हुन्छ । कुनै धार्मिक मानिस जन्मियो भने कोमलभन्दा कोमल हुन्छ । यस्तो लाग्छ, थोरै धक्का दिँदा समाप्त हुन्छ । तर, अन्तिममा उसैले जित्छ । त्यो कोमलभन्दा कोमलको चोटबाट महासाम्राज्यहरु पनि ढल्छन् ।

नास्तिकतामै आस्तिकता पैदा हुन्छ । तिमीहरु सबै नास्तिक हौ । हिरण्यकस्यप बाहिर छैन । न त प्रल्हाद नै बाहिर छ । हिरण्यकस्यप र प्रल्हाद दुई होइनन्, प्रत्येक व्यक्तिभित्र घट्ने दुई घटना हुन् । जबसम्म तिम्रो मनमा सन्देह हुन्छ, हिरण्यकस्यप हुन्छ, तबसम्म तिमीभित्र उठ्ने श्रद्धाको अंकुरलाई तिमी पहाडबाट खसाउनेछौ, पत्थरले दबाउने छौ, पानीमा डुबाउने छौ, आगोमा जलाउने छौ, तर तिमीले जलाउन सक्ने छैनौ । त्यसलाई जलाउने कोशिशमा तिम्रै हात जल्नेछ । (ओशो भक्ति सुत्र, प्रवचन १६)

त्यस्तै, वैदिक ग्रन्थहरुमा ऋषि र अप्सराहरुका कथाहरु प्रशस्तै छन् । रामायणमा पनि ठाउँ–ठाउँमा यस्ता प्रसंगहरु आउँछन् । हामीले यो प्रसंगलाई पनि साँच्चैको घटना मानेर, कहाँनेर यो घटना भएको थियो भनेर ठाउँ खोजी हिँड्न मिल्छ ? यस सम्बन्धमा ओशो भन्दछन्–

ऋषिमुनिको कथा छ, अप्सराले सताउँछन् । किन कोही कसैलाई सताउँछ ? अप्सराहरुलाई के त्यस्तो जरुरी भयो ? ऋषिमुनिसँग के लेनादेना ? सताउनै थियो त कुनै ढंगको मानिस चुन्थे । ऋषिमुनि, सुकेका हड्डी र कंकाल, धेरै समय भइसक्यो, तपमा मरिसके । न देहमा सौन्दर्य रह्यो, न देहमा रस रह्यो, यस्तालाई सताउन अप्सराहरु स्वर्गबाट आइरहेका छन् । केही केही गडबड छ ।

यी अप्सरा कुनै स्वर्गबाट आएका होइनन् । कुनै इन्द्रले पठाएका पनि होइनन् । तर, कहानी प्रितिकर छ । यी अप्सरा तिम्रा इन्द्रीयहरुबाट आए । त्यसलाई इन्द्रले पठाए । यी तिम्रै इन्द्रीयका सार निचोड हुन् । तिम्रो आँखाले जे देख्यो र सार निकाल्यो, तिम्रो कानले जे सुन्यो र सार निकाल्यो, तिम्रो हातले जे छोयो र सार निकाल्यो, तिम्रा सारा इन्द्रीयले जे सार निकाले यी सारा इन्द्रीयका पछाडि बसेको मन नै इन्द्र हो । इन्द्रीयका मालिक अर्थात इन्द्र । जब ऋषिलाई अप्सराहरुले घेरे, त कसैले घेरेनन् । यी कुनै स्वर्गबाट आएनन् । यी ऋषिहरुकै इन्द्रीयबाट आए । (ओशो, जिन सुत्र प्रवचन ५०)

त्यस्तै, हिन्दुहरुको प्रशिद्ध कथा छ, समुद्र मन्थनको । जुन कथा रामायणमा पनि आउँछ । जहाँ देवता र दानववीच लडाइँ झगडा भएको देखाइएको छ । समुद्र मन्थन गर्दा एउटै ठाउँबाट अमृत र बिष दुवै निस्किएको वर्णन गरिएको छ । यसखालका कथालाई भौतिकवादी लेखकहरुले ‘इतिहासको बर्गसंघर्ष’ भनेका छन् । यसको वास्तकिता के हो ?

यस सम्बन्धमा ओशो भन्दछन् :

भाषा कोशमा त लेखिएको छ विष र अमृत अलग–अलग चिज हुन् । जीवनको कोषमा यो सत्य होइन । जीवनको कोषमा त लेखिएको छ, अमृतकै विकृत रुप बिष हो । र विषकै सुकृत रुप अमृत हो । हिन्दुहरुको पुरानो कथा छ समुद्र मन्थनको । त्यसमा एकै मन्थनबाट विष पनि निस्कियो । अमृत पनि निश्कियो । एउटै श्रोतबाट विष पनि आयो । त्यही श्रोतबाट अमृत पनि आयो ।

श्रोत एउटै छ । अमृतको अरु कहीँ खोजी नगर्नु । जो तीम्रो जीवनमा आज बिषजस्तो छ, त्यहीँबाट अमृत पनि निस्कन्छ । त्यसका लागि मन्थन जरुरी छ । मनुस्य उर्जा हो, शुद्ध शक्ति हो । यस शक्तिका दुई आयाम हुन सक्छन् । या त शक्ति बिध्वंशक हुन सक्दछ । मेटाउने काममा लाग्दछ । तोड्न थाल्छ । या शक्ति सिर्जनात्मक हुन सक्छ । बनाउँछ । सजाउँछ । निर्माण गर्दछ ।

शक्ति त हामीसँगै छ । हामी कसरी शक्तिको उपयोग गर्दछौ हाम्रा बोधमा, हाम्रो ध्यानमा, हाम्रो समझमा निर्भर हुन्छ । हातमा तलबार दिएको छ प्रकृतिले । हामी मार्छौं या बचाउँछौं? हामीमाथि निर्भर छ । हातमा रोशनी दिएको छ प्रकृतिले । हामी अन्धकार तोड्छौं या घर जलाउँछौं, हामीमा निर्भर छ । शक्ति श्रृजनात्मक भयो भने अमृत हुन्छ । शक्ति बिध्वंशात्मक भयो भने बिष हुन्छ ।
(ओशो, जिनसुत्र, प्रवचन ४०)

यस्ता प्रतीक कथाहरु सबै सम्प्रदायहरुमा छन् । आजसम्म आउँदा कतिपय वास्तविक घटनाहरुलाई नै बढाई–चढाई गरिएको छ । झन् काल्पनिक कथाहरुलाई थपघट वा बढाई–चढाई गरिएन होला भन्न सकिन्न ।

यस सम्बन्धमा ओशो भन्दछन् :

महावीरले महल छोडे, धन सम्पति छोडे । जैनहरुले जुन शास्त्र लेखे, उनीहरुले यति बढाई–चढाई गरेर लेखे कि त्यो सरासर झूठ हो । किनकि महावीरको साम्राज्य एकदमै सानो थियो । त्यति ठूलो थिएन । महावीरको समयमा भारतमा दुई हजार राज्य थिए । कुनै ठूलो थिएन, एउटा सानो जिल्लाभन्दा बेसी थिएन । यति हात्ती घोडा जैनहरुले लेखेका छन्, यदि हुन्थे भने मान्छे रहने ठाउँ नै हुँदैनथ्यो । तर, बढाइन्छ ।

कुरुक्षेत्रको मैदानमा युद्ध भयो । हिन्दुहरु त्यसको जुन कहानी बताउँछन्, त्यसलाई सुन्दा यस्तो लाग्छ कि त्यस युद्धका लागि पुरै पृथ्वी नै साँघुरो हुन्छजस्तो लाग्छ । कुरुक्षेत्रको सानो मैदान, त्यसमा १८ अक्षुणी सेना बन्नै सक्दैन । लड्न त परको कुरा, यदि तिनीहरु सँगै उभिएर प्रेम नै गर्न चाहन्थे भने पनि त्यो सम्भव छैन । लड्नका लागि थोरै ठाउँ चाहिन्छ । तर, बढाई–चढाई गरिन्छ ।

बुद्धका भक्तहरुले जे लेखेका छन्, त्यो सत्य होइन । किनकि बुद्धको जमिन पनि एकदमै सानो थियो । त्यो कुनै बिशाल साम्राज्य थिएन । तर, जुनखालका कहानी छन्, ती कहानीमा बढाई–चढाई भएको छ । (ओशो, भक्तिसुत्र, प्रवचन ३)

माथिका प्रसंगहरुले नै बताउँछन्, रामायणमा वर्णन गरिएका राम वा सीता वा सारा पात्रहरु कुनै वास्तविक पात्र होइनन्, केवल प्रतीक–पात्र हुन् । रामायण इतिहास होइन, कहानी हो । राम र रावण बाहिर छैनन्, हामै मनभित्र छन् ।

राम र रावण हाम्रै मनको दुई अवस्था हो । त्यसैले रामको जन्मभूमि खोज्दै हिँड्नु र त्यसको उत्खनन गर्दै हिँड्नु भनेको आफैंमा मूर्खतापूर्ण काम हो । त्यस्ता उत्खननले ‘कहानीका राम’लाई इतिहासको कुनै कालखण्डपछि ‘भगवान राम’ मान्न थालेर बनाइएका मन्दिर र मूर्तिका अवशेष त फेला पार्ला । तर, रामको जन्मभुमि फेला पर्दैन । रामायण कथाभित्रको वास्तविक रहस्य पनि फेला पर्दैन ।

त्यसैले रामको जन्मभूमि खोज्ने धारणा नै आफैंमा ‘माया’ हो । ऋषि मान्यताका अनुसार जे असत्य छ, त्यो सत्यजस्तै लाग्नु नै ‘माया’ हो । कहानीका रामलाई वास्तविक व्यक्ति मान्ने दृष्टिकोण ‘माया’ नै हो । यस्तो निश्कर्ष दिने अन्वेषक र यस्ता अन्वेषकका कुराबाट प्रभावित हुने ओली, दुवै ‘माया’ ले ग्रस्त पात्र हुन् । साथै रामको जन्मभूमि किटान गर्ने ओलीको अभिव्यक्ति आफैंमा ‘मायाजाल’ मात्र हो ।

रामायणको सन्देश

आज रामायण कथाका राम, ‘भगवान राम’ भएका छन् । ‘हिन्दु’ हरुका आदर्श पात्र भएका छन् । तर बाल्मिकि रामायणमा त्यसका रचनाकारले राम नामको पात्रलाई कुनै आदर्श पात्रका रुपमा देखाउन खोजेका छैनन । अर्थात रामलाई ‘भगवान’ मानिएको छैन ।

बरु बौद्ध कथाहरुमा रामलाई बोधिसत्वको एक अवतार मानिएको छ । जैन कथाहरुमा रामलाई ‘आठौं बलदेव’ मानिएको छ । तर बाल्मिकि रामायणमा रामलाई भगवान मानिएको छैन । (यमुनादत्त अशोक, हिन्दु समाजका पथभ्रष्टक तुलसी दाश)

वाल्मीकि रामायणमा त रामलाई शुरुवातदेखि अन्त्यसम्म नै कुण्ठाले घेरिएका एक मनोरोगी व्यक्तिका रुपमा देखाइएको छ । जो आफ्नो कुण्ठा पराकाष्ठामा पुगेपछि सरयु नदीमा डुबेर आत्महत्या गर्दछन् । सीताजस्ती पत्नीमाथि बारम्बार चरित्रको परीक्षा लिन्छन् र अपमानित गर्छन् । यति गर्दा पनि जब बिश्वास हुँदैन, तब गर्भवती भएका बेला पनि सीतालाई जंगलमा लगेर छाडिदिन्छन् । भरतजस्तो भाइलाई एउटा सानो निउँमा देश निकालाको दण्ड दिन्छन् । अन्ततः सीता र भरतजस्ता पात्रले पनि रामको अपमान सहन नसकेर आत्महत्याकै बाटो रोज्छन् । सीताले गहिरो खाडलमा हामफालेर आत्महत्या गर्छिन् भने भरतले सरयु नदीमै डुबेर आत्महत्या गर्छन् ।

यसरी वाल्मीकि रामायणमा रामलाई आदर्श पात्रका रुपमा देखाइएको छैन । उनलाई बढीभन्दा बढी एक ‘नैतिकवान’ पात्रका रुपमा देखाउने प्रयास गरिएको छ । तर, वैदिक ऋषिहरुका लागि नैतिकवान बन्नु कुनै महत्वको विषय होइन । किनकि उनीहरुले थाहा पाएका थिए कि जो व्यक्ति आफूलाई नैतिकवान देखाउने प्रयास गर्छ, उ त्यति नै अनैतिक पनि हुन्छ । नैतिकता र अनैतिकता संयुक्त छन् । नैतिकता नै अनैतिकतामा रुपान्तरण हुन्छ र अनैतिकता नै नैतिकतामा रुपान्तरण हुन्छ । त्यसैले ऋषिहरु भन्थे, मनुश्यले नैतिकवान बन्ने प्रयास नै गर्नुहुँदैन । बरु नैतिकता र अनैतिकता दुवैलाई अतिक्रमण गरेर आत्मवान वा आत्मज्ञानी हुने प्रयास गर्नुपर्छ ।

ऋषिहरु स्पष्ट थिए कि जो व्यक्ति नैतिकताका नियममा बाँधिएर जिउने प्रयास गर्दछ, उसको जीवनमा आनन्दको अवतरण असम्भव छ । बाहिर जति पराक्रम गरे पनि जीवनका पलपलमा त्यस्ता व्यक्तिलाई अनैतिकताले पछ्याइरहन्छ । अन्ततः यस्ता व्यक्तिहरु रुग्ण, ढोंगी र आडम्बरी मात्र हुन्छन् । यस्ता व्यक्तिका पछि लाग्ने अरु व्यक्तिहरुले पनि दुःख पाउँछन् ।

रामायणको कथामार्फत यसका रचनाकारले मनोविज्ञानको यस्तै नियम अभिव्यक्त गर्ने प्रयास गरेका छन् । अर्थात रामायणका राम वा सीता वा भरतजस्ता पात्र सबै नै अधुरा पात्र हुन् । राम नैतिकताको आडम्बरमा बाँच्ने ढोंगी र कुण्ठित पात्र हुन् भने सीता र भरत यसै ढोंगी व्यक्तिलाई आदर्श मान्दा दुःख पाउने पात्र हुन् ।

त्यसैले रामायणको मूल सन्देश यो हो कि जीवनमा नैतिकवान बन्ने प्रयास नै व्यर्थ छ । नैतिकवान व्यक्ति आन्तरिकरुपमा ढोंगी र आडम्बरी हुन्छ । यसखालको जीवन दृष्टिकोणबाट अन्त्यतः दुःख मात्र हात लाग्छ । त्यसैले कसैले पनि नैतिकवान बन्ने प्रयास गर्नु जरुरी छैन । साथै, कसैले पनि तथाकथित नैतिकवान व्यक्तिका पछि लाग्नु हुँदैन । यस्तोखालको जीवन दर्शन आफैंमा दुःखको कारक हो ।

यसको सट्टा हरेक व्यक्तिले आफ्नो गुणधर्म चिन्ने प्रयास गर्नुपर्छ र गुणधर्म अनुरुपको जीवन अपनाउनुपर्छ । समाजले त्यसलाई नैतिक मानोस् वा अनैतिक त्यो महत्वको विषय होइन, गुणधर्म अनुरुपको जीवन चाहिँ महत्वको विषय हो । रामायणको मूल सन्देश सायद यही हो ।

तर, पछिल्लो कालमा रामायणको यो मूल सन्देशलाई धुमिल बनाइयो । रामलाई आदर्श पात्रका रुपमा उठाइयो । लगभग ८०० बर्षअघिबाट रामलाई ‘भगवान’ मान्ने परम्पराको शुरुवात भयो । (यमुनादत्त अशोक, हिन्दु समाज के पथभ्रष्टक तुलसीदास)

साढे चार सय बर्षअघि यो कामलाई भारतीय कवि गोस्वामि तुलसीदासले निर्णायक कदममा उठाए । तुलसीदासले नै रामलाई नैतिक पात्रबाट उठाएर ‘भगवान’ बनाउने काममा ‘ऐतिहासिक’ भुमिका निभाए । (सुदर्शन चोपडा, हिन्दु समाज के पथभ्रष्टक तुलसीदास)

तुलसीदासले आफ्नो कृति ‘रामचरितमानस’ मा रामका सारा दुर्वल कथाहरुलाई हटाए । सीतालाई रामले जंगलमा छोडेको प्रसंग, राम स्वयंले आत्महत्या गरेको प्रसंग, रामले लक्ष्मणलाई सजायँ दिएको प्रसंग आदि सबै हटाउने काम गरे । उनले आफ्नो कृतिलाई ‘राम–राज्य’ को गुणगान मै सीमित गरे । रामलाई एक साक्षात भगवानका रुपमा चित्रण गरे । (चोपडा, हिन्दु समाज के पथभ्रष्टक तुलसीदास)

त्यसयताका भारतीय राज्य सत्ताहरुले बाल्मिकि रामायणको कम, तुलसीकृत ‘रामचरितमानस’ को चाहिँ व्यापक प्रचार गरे । स्वतन्त्रतापछिको भारतीय सत्ताले पनि यसैलाई महत्व दियो । आजसम्म आउँदा कहानीका राम एक ‘बलिया भगवान’ भइसकेका छन् । रामलाई ‘भगवान’ बनाउने अभियानको सबैभन्दा पछिल्लो कडीमा यसपालिबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि थपिएका छन् ।

‘अफिम’ को व्यापार

प्रधानमन्त्री ओली त कम्युनिष्ट हुन् । यिनलाई किन आज रामको जन्मभूमिले संवेदनशील बनायो होला ? यसमा दुईवटा कारण हुन सक्छन् । पहिलो, उनको ‘सर्वज्ञ स्वभाव’ नै यसको कारण हुन सक्छ । दोश्रो, उनको साम्यवादी विचारधारा र रामलाई ‘भगवान’ बनाउने विचारधारा वीचमा नजिकको साइनो सम्बन्ध पनि छ ।

यो साइनो सम्बन्ध बुझ्न उनै ओशोका निम्न भनाइलाई हेरौं :

कार्ल मार्क्सले भनेका छन्, धर्मले आस्तिक व्यक्तिलाई अफिम खुवाएको छ । यसमा निकै गहिरो सच्चाइ छ । कमसेकम जसलाई तिमी साधु सन्त भन्छौ, उनीहरुका सम्बन्धमा त यो भनाइ सत् प्रतिशत सत्य हो । अँ, दुई चार व्यक्तिलाई छोडिदेउ, एक बुद्धलाई, एक कृष्णलाई, एक महावीरलाई, एक क्राइस्टलाई, एक मोहम्मदलाई । यस्ता केही मानिसहरुलाई छोडिदेउ । तिनीहरु अपवाद हुन् । बाँकी जो भिडभाड छ, कुम्भको मेलामा तिम्रा साधु सन्तहरुको, उनीहरुका सम्बन्धमा मार्क्स विल्कुल ठीक भन्दछन् कि जनतालाई अफिम खुवाइएको छ ।

….पहिले मानिसहरुले सोच्थे, सत्य युग पहिले थियो । त्यो एक ढंगको अफिम थियो । एकखालका पण्डित पुरोहितहरुले त्यसको उपयोग हजारौं बर्षदेखि गरिरहेका छन् र मानिसहरुलाई निद्रामा राखेका छन् । फेरि बिस्तारै त्यो अफिमको प्रभाव कम भयो । मानिसहरु त्यसमा अभ्यस्त भए । त्यसबाट नशा आउन छाड्यो ।

कम्युनिजम (साम्यवाद) नयाँ अफिम हो । कम्युनिजम भन्छ कि सत्य युग भविश्यमा आउने वाला छ । पुरानो अफिमले भन्थ्यो कि ‘राम–राज्य’ पहिले थियो । नयाँ अफिम भन्छ, ‘राम–राज्य’ भविश्यमा आउने वाला छ । जो पुरानो अफिमबाट बचेका छन्, तिनीहरु नयाँ अफिमको दोकानमा पुगे । यी तिनै मानिस हुन्, जो काशी र कावा जान्थे, अब क्रेमलिन जान्छन् । यी तिनै मानिस हुन, जो गीता र कुरानमा आफ्नो सान्त्वना खोज्थे, अब दास क्यापिटल (पुँजी) र कम्युनिष्ट मेनिफेस्टो (कम्युनिष्ट पार्टीको घोषणापत्र) मा खोज्छन् ।

तर, कुरो बदलिएन । पहिले स्वर्ग पछाडि थियो । अब स्वर्ग अगाडि छ । (तर) जिन्दगी अहिल्यै, यहीँ छ । र, जिन्दगीमा केही गर्नु छ भने अहिल्यै गर्नुपर्ने हुन्छ । आजै, तत्क्षण गर्नुपर्ने हुन्छ । तर, तत्क्षण गर्न त तयारी चाहिन्छ । हामी त भन्छौं, कसैले हामीलाई एक प्रिय सपना देओस, त्यही सपना ओढेर सुत्न पाइयोस् । (ओशो, प्रेमपन्थ ऐसो कठिन, प्रवचन १)

हो, ओलीलाई रामको जन्मभूमि र ‘राम–राज्य’ प्रति प्रेम जाग्नुको कारण यही हो कि उनी पनि ‘अफिम व्यापारी’ नै हुन् । ओली मात्र होइन, सामाजिक गन्तव्यको वकालत गर्ने शास्त्रीय (भौतिकवादी) विचारधाराहरु (उदारवाद, राष्ट्रवाद, कल्याणवाद, समाजवाद) सबका सब ‘अफिम धन्दा’ हुन् ।

एकथरी ‘साधु–सन्त’ हरु ‘पुरानो अफिम’ बेचिरहेका छन् । ओली लगायतका सारा भौतिकवादी दलका ‘साधुसन्त’हरु ‘नयाँ अफिम’ बेचिरहेका छन् । ‘नयाँ अफिम’ बेच्नेले कुनै दिन ‘पुरानो अफिम’ को व्यापार गर्नु र ‘पुरानो अफिम’ बेच्नेले ‘नयाँ अफिम’ को व्यापार गर्नु कुनै अनौठो कुरो होइन । किनकि, अफिम नयाँ होस वा पुरानो, त्यसको सारतत्व एउटै हो । त्यसैले ‘कम्युनिष्ट’ ओलीहरुलाई कहिलेकाहीँ राम जन्मभुमिको विषयले संवेदनशील बनाउनु अनौठो होइन ।

यसो हुनुमा प्रधानमन्त्री ओली मात्र दोषी छैनन्, हामी जनता पनि दोषी छौं । किनकि हामी ‘तीतो औषधि’ भन्दा गुलियोमा घोलेको ‘अफिमको नशा’ नै मन पराउँछौं । कसैले मीठो कुरा गरोस्, आश्वासन देओस, त्यस्ता व्यक्ति नै हामी मन पराउँछौं । ओलीजस्ता नेता उदाउँछन् त हाम्रै कारणले । अस्ताउँछन् त हाम्रै कारणले । त्यसैले ओली जस्ता नेताहरुको उदयमा हामीजस्ता जनता पनि दोषी छौं ।

हामी जनता महान होइनौं, यो त भौतिकवादी ‘साधुसन्त’ हरुले हामीलाई फुक्र्याउन भनेको कुरो मात्र हो । हामी जनता तुच्छ पनि होइनौं । यो त ईश्वरवादी ‘साधुसन्त’ हरुले हामीलाई कँज्याउन भनेको कुरा मात्र हो । आजको घडीसम्म हामी कसै न कसैको अफिममा लठ्ठ परेका छौं । यही हाम्रो दोष हो ।
त्यसैले हामीले यतिबेला ओली र ओलीजस्तै मानिसहरुको समर्थन वा विरोधतिर होइन, आफ्नै आत्मसमीक्षामा लाग्नु जरुरी देखिन्छ ।

प्रधानमन्त्री ओलीलाई साँच्चै राष्ट्रिय गौरव वृद्धि गर्न मन छ भने अहिले पनि उनीसामु सुनौलो मौका छ । उनले एउटा रामायण ग्रन्थ र त्यसमा पनि रामको जन्मभुमिको विषयमा अल्मलिनै पर्दैन । उनले सगर्व घोषणा गर्न सक्छन् कि संसारका सारा धर्महरुको उद्गम हिमालय पर्वत हो, जुन नेपालमा पर्छ । यसोभन्दा कसैले आपत्ति जनाउन सक्दैन ।

किनकि संसारका सारा धर्महरु कुनै न कुनै तरिकाले हिमालय पर्वतमा विकसित तपश्चर्याको पद्दतिसँग जोडिन्छन् । यसरी हामी नेपालीहरुले संसारका सबै धर्मको अपनत्व ग्रहण गर्न सक्दछौं । तर, शास्त्रीय विश्वदृष्टिकोणको ‘माया’ बाट मुक्त हुँदा मात्र यो काम गर्न सकिन्छ ।

ओलीलाई एकातिर भौतिकवादी पनि हुनु परेको छ । अर्कोतिर ‘सर्वज्ञ’ र ‘धर्मप्रेमी’ पनि हुनुपरेको छ । यही विरोधाभाषले उनलाई समय–समयमा फसाइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment